Skip This
जोतभोगअनुसार जग्गा दर्ताको माग गर्दै मालपोत घेराउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २६ सोमबार
  • Saturday, 27 July, 2024
पुस्तौँदेखि जोतभोग गर्दै आएको जग्गा व्यक्तिको नाममा दर्ता रोक्न माग गर्दै लहान मालपोत कार्यालय घेराउ
२o८o चैत २६ सोमबार o६:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जोतभोगअनुसार जग्गा दर्ताको माग गर्दै मालपोत घेराउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार o६:२१:oo

सिराहाको धनढीमाई नगरपालिका– ३ कुर्वा हनुमाननगरका विपन्न, दलित, सुकुमवासीले आफूहरूले पुस्तौँदेखि जोतभोग गर्दै आएको जग्गा अन्य व्यक्तिको नाममा दर्ता रोक्न माग गर्दै लहान मालपोत कार्यालय घेराउ गरेका छन् । हनुमाननगरको जोतभोग जग्गा कायमका लागि संयुक्त आन्दोलन संयुक्त संघर्ष समितिको आह्वानमा आइतबार दिउँसो धनगढीमाई– ३ का वडाध्यक्षसहित सयौँको संख्यामा विपन्न, दलित, सुकुमवासीले करिब दुई घण्टा मालपोत कार्यालयअगाडि प्रदर्शन गरे । 

वीरेन्द्रकुमार साह, वडाध्यक्ष धनगढीमाई नगरपालिका– ३ 
तीन पुस्तादेखि जग्गामा बसोवास सहित खनजोत गर्दै आएका ३६६ स्थानीयले अन्य व्यक्तिको नाममा दर्ता रोक्का गर्न माग गर्दै वडा कार्यालयको सिफारिससहित मालपोतमा निवेदन दिएका छन् ।

पौने चार सय घरधुरीले करिब तीन पुस्तादेखि जोतभोग गर्दै आएको जग्गा भूमाफियाको सेटिङमा पूर्ववडाध्यक्ष देवकुमार साहले सिराहा नगरपालिका–१७ माडरका सत्यनारायणप्रसाद साहलाई हनुमाननगर प्र.ध. मौजाको एक सय पाँच बिघा जग्गामा हकभोग रहेको सिफारिस दिएका थिए । पूर्ववडाध्यक्षले तीन वर्षअघि दिएको सिफारिसबारे थाहा पाएपछि स्थानीयले बसोवाससहित खनजोत गर्दै आएको जग्गा व्यक्तिको नाममा दर्ता रोक्का गर्न मागसहित मालपोत घेराउ गरेका हुन् । जग्गामा बसोवाससहित खनजोत गर्दै आएका तीन सय ६६ जोताहा किसानले दर्ता रोक्का गर्न माग गर्दै वडा कार्यालयको सिफारिससहित मालपोतमा निवेदन दिएको धनगढीमाई– ३ का वर्तमान वडाध्यक्ष वीरेन्द्रकुमार साहले बताए । 

पूर्ववडाध्यक्ष साहले आफ्नो कार्यकाल सकिनु करिब एक वर्षअघि ३१ चैत ०७७ मा सत्यनारायणले दाबी गरेको जग्गामा पाटीपौवा, गौचर केही नरही उनकै एकलौटी हकभोगमा रहेको भन्दै दिएको सिफारिस यसअघिका जनप्रतिनिधले रोकेको स्थानीय ७१ वर्षीय परमेश्वर कामैतले बताए । उनका अनुसार नगरपालिका कायम हुनुअघि तत्कालीन हनुमाननगर प्र.ध.का प्रधानपञ्चहरू जगदव महतो, बलदेव महतो, बलदेव साह, हरिलाल यादवले गरिब, विपन्न, सुकुम्बासीले बसोवाससहित खनजोत गर्दै आएको एक सय पाँच बिघा जग्गा दर्ताका लागि सिफारिस माग्न आएका सत्यनारायणलाई सिफारिस रोकेका थिए । ‘आर्थिक प्रभावमा रोकिएको सिफारिस पूर्ववडाध्यक्ष देवकुमारले दिएको र त्यसका आधारमा मालपोतले ३५ दिने सूचना जारी गरेपछि दर्ता रोक्न मागसहित मालपोतमा निवेदन दिएका हौँ,’ उनले भने । 

पूर्ववडाध्यक्षले दिएको सिफारिस र वडा सर्जिमिन मुचुल्काका आधारमा लहान मालपोतले गत ३० फागुनमा उक्त जग्गामा कसैको हकदाबी भए प्रमाणसहित हकदाबी गर्न ३५ दिने सूचना जारी गरेपछि स्थानीय दलित, गरिब र विपन्नहरू सडकमा उत्रिएका हुन् । कुर्वा गाउँका ६१ वर्षीय रामप्रीत साहका अनुसार ०२१ को भूमिसुधारअनुसार हदबन्दीभन्दा बढी भएको जग्गाको नापजाँचका क्रममा कसैले दाबी गर्न नआएपछि नेपाल सरकारको नाममा गएको खाली जग्गामा करिब पौने चार सय घरधुरी बसोवाससहित खनजोत गर्दै आएका थिए ।

हनुमाननगर मौजा कुर्वाको कित्ता नं. २४२, २४३, १२५ सहित जग्गामा ०३७ देखि बसोवास र खनजोत गर्दै आएको जग्गा ०५५ तिर तत्कालीन विद्रोही माओवादीले खनजोतका आधारमा स्थानीय बिपन्न, दलित, सुकुम्बासीलाई पाँच कट्ठादेखि एक बिघासम्म वितरण गरेको स्थानीय बुढापाका बताउँछन् । 

‘नेपाल सरकारको नाममा गएको जग्गामा विपन्न सुकुम्बासी, दलित समुदाय बस्दै आएका छन्,’ स्थानीय पूजन साहले भने, ‘करिब ६० वर्षसम्म जग्गा दाबी गर्न नआएको व्यक्तिलाई पूर्ववडाध्यक्षले मोटो रकम लिएर एकलौटी हकभोगमा रहेको भन्दै सिफारिस दिएर उठीबास गराउन खोजेपछि हामी अप्ठ्यारोमा छौँ ।’ पूर्ववडाध्यक्ष साहले यसअघि गाउँमा पाँचपटक गरिएको छलफलमा आफूबाट गल्ती भएको स्विकारेको र पीडितलाई साथ दिने कबोल गरेको उनले बताए ।