Skip This
रुसी सेनामा कार्यरत नेपालीका परिवारजनले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र, रुसमा रहेका नेपालीको उद्धार गरिदिन माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २४ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २४ शनिबार o५:४९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरत नेपालीका परिवारजनले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र, रुसमा रहेका नेपालीको उद्धार गरिदिन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २४ शनिबार o५:४९:oo

रुसी सेनामा कार्यरत नेपालीका परिवारजनले हालसम्म ३९ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी रहेको दाबी गरेका छन् । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको ज्ञापनपत्रमा रुसमा रहेकाहरूको जीवनरक्षा तथा उद्धार गर्न माग गरिएको छ । 

‘नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट हालसम्म हामीले ६ सय २० जनाको विवरण संकलन गरेका छौँ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, एक सय १७ जना घाइते, दुई सय ७२ जना सम्पर्कविहीन छन्,’ अभियानकी संयोजक एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा छ । 

उनका अनुसार रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् । ‘३९ जना नेपालीको मृत्यु भएको विवरण प्राप्त भएको छ । परिवारजनले उनीहरूको काजकिरिया गरिसकेको छ,’ भण्डारीले नयाँ पत्रिकासँग भनिन् । 

ज्ञापनपत्रमा भने मृत्यु भएका ३९ जनाको नाम उल्लेख गरिएको छैन । ‘परिवारको स्वीकृति लिएर हामी सबैको नाम र तस्बिर छिट्टै सार्वजनिक गर्ने तयारीमा छौँ,’ भण्डारीले भनिन् । 

रुसमा कार्यरतमध्ये हालसम्म १६ जनाको मृत्यु भएको सरकारले सार्वजनिक गरेको छ । परिवारजनले यसअघि रुसमा ३२ जना नेपालीको मृत्यु भएको बताएका थिए । 

‘हामीसँग ह्वाट्सएप ग्रुपमा जोडिएका चार सय २० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्धमैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गर्नुहुन्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘विभिन्न माध्यमबाट विवरण संकलन गरिरहँदा रुसी सेनामा आबद्ध नेपालीको मृत्युको खबर अन्यन्तै भयावह र चिन्ताजनक बन्दै गएको छ ।’

रुसी सेनामा कार्यरत रही फर्किएका नेपाली युवाले १४ हजार सात सय नेपाली रहेको दाबी गरेको पनि उल्लेख गरिएको छ । भण्डारीले परिवारका सदस्यलाई उद्घार गरिदिन आग्रह गर्दै हालसम्म कम्तीमा दुई हजार परिवार आफूसँग समन्वयमा रहेको ज्ञापनपत्रमा उल्लेख गरेकी छिन् । 

रुसमा रहेकाहरूको जीवनरक्षा तथा उद्धार गर्न तथा नेपालीलाई गैरकानुनी रूपमा रुस लैजानेहरूमाथि कानुनी कारबाही गर्न परिवारजनले माग गरेका छन् । पीडित परिवार तथा रुसी सेनाबाट फर्किएर आएका नेपाली युवाका अनुसार रुसी नागरिकता प्राप्त हुने, मासिक चार लाखभन्दा बढी कमाइ हुनेलगायतका आवासन दिएर नेपालीलाई बिचौलियाले रुस लैजाने गरेका छन् ।

बिचौलियाहरू अहिले पनि नेपालमै सक्रिय रहेको भन्दै उनीहरूलाई कारबाहीका लागि अभियानले माग गरेको छ । ‘उनीहरूले पीडितलाई उद्धार गरिदिन्छु भन्दै परिवारसँग आर्थिक मोलमोलाइ गरिरहेको पाएका छौँ । मानव बेचविखन तथा ओसारपसार ब्युरोका अनुसार दोषीउपर कारबाही गर्न विद्यमान कानुन आकर्षित नभएकाले कानुन संशोधनका लागि काम अगाडि बढाइएको छ । तसर्थ, दोषीउपर कारबाही गर्न हामी गृहमन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।

रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारको राहतका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका सबै संयन्त्रलाई परिचालन गराइदिन पनि परिवारजनले माग गरेका छन् । गृहमन्त्री लामिछानेले आफ्नो मन्त्रालयको कार्यक्षेत्रबाट पीडितहरूका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।