Skip This
फुटबलर फलेर्सको गोली हानी हत्या 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
लन्डन
Invalid date format १o:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबलर फलेर्सको गोली हानी हत्या 

Read Time : > 1 मिनेट
लन्डन
नयाँ पत्रिका
Invalid date format १o:o४:oo

गाडीबाट निस्कन नमान्दा दक्षिण अफ्रिकी फुटबलर ल्युक फलेर्समाथि अज्ञात समूहद्वारा गोली प्रहार

दक्षिण अफ्रिकी फुटबलर ल्युक फलेर्सको गोली हानी हत्या भएको छ । बुधबार राति फ्लोरिडाको जोहानेसबर्ग उपनगरमा रहेको एक पेट्रोल स्टेसनमा २६ वर्षीय फलेर्स कार पार्किङ गरिरहेका थिए । अज्ञात बन्दुकधारी उनीनजिक आए । उनीहरूले गाडीबाट बाहिर निस्कन दबाब दिए पनि उनी मानेनन् । त्यसपछि अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । फुटबलर फलेर्सको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । गोली प्रहारपछि उनीहरूले फलेर्सको कार लिएर भागेको फ्लोरिडाको प्रहरी प्रवक्ता माभेला मासोन्डोले बताएका छन् । 

‘संदिग्धहरूले उनलाई बन्दुक देखाएर गाडीबाट बाहिर निकाल्ने कोसिस गरेका थिए । बाहिर आउन नमानेपछि शरीरको माथिल्लो भागमा एकपटक मात्र गोली प्रहार भएको छ,’ प्रवक्ता माभेला भने, ‘टाउकोमै गोली लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको हो ।’ व्यावसायिक रूपमा फलेर्स काइजर क्लबमा आबद्ध छन् । यो क्लब दक्षिण अफ्रिकामा सर्वाधिक लोकप्रिय छ । क्लबले १२ पटक लिग च्याम्पियनसिप उपाधि जितेको छ । क्लबले आफ्ना प्रभावशाली खेलाडीको मृत्युमा दुःख व्यक्त गरेको छ । 

‘अज्ञात समूहले हाम्रा लोकप्रिय खेलाडीलाई गोली हानी हत्या गरेको छ, यस घटनाको घोर भत्र्सना गर्छौँ, घटनाको तत्काल छानबिनका लागि जोडदार माग गर्दछौँ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले यस विषयमा तत्कालै अनुसन्धान अगाडि बढाउनुपर्छ ।’ खेलकुदमन्त्री जिजी कोडवाले हिंसात्मक अपराधका कारण एक खेलाडीले जीवन गुमाएको बताए । ‘हिंसात्मक अपराधका कारण प्रतिभाशाली खेलाडी गुमाउँदा दुःखी छु,’ उनले भने । डिफेन्डर फलेर्स गत वर्ष काइजरमा आबद्ध भएका थिए । 

टोकियो ओलम्पिकमा सहभागी
काइजर जानुअघि फलेर्स सुपरस्पोर्ट युनाइटेडमा आबद्ध थिए । यू–२३ दक्षिण अफ्रिकी फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका फलेर्सले सन् २०२१ मा टोकियो ओलम्पिकमा समेत प्रतिस्पर्धा गरेका थिए । दक्षिण अफ्रिकाको जुनियरतर्फको राष्ट्रिय टोलीमा प्रभावशाली प्रदर्शन गरेका फलेर्सले सिनियर टोलीमा स्थान बनाउन सकेका थिएनन् । यद्यपि, यसै वर्ष उनलाई मौका दिने भनिएको थियो ।

दक्षिण अफ्रिकी फुटबल महासंघले बुधबार रातिको घटनालाई ठूलो क्षतिका रूपमा लिएको जनाएको छ । ‘दक्षिण अफ्रिकामा यस किसिमको अज्ञात समूहले गोली प्रहार गरी दैनिक सयौँ व्यक्तिको हत्या गरिरहेको छ, आज हामीले एक खेलाडी गुमाएका छौँ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फुटबल परिवारले उज्ज्वल ज्वाला गुमाएको छ, दक्षिण अफ्रिका बढ्दो बन्दुक हिंसाको चपेटामा छ ।’