१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:३१:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

वीरका ३० आइसियू बेड बन्द

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३१:oo

जनशक्ति अभाव भन्दै देशकै ठूलो वीर अस्पतालका ५९ मध्ये आधा आइसियू बेड चार महिनादेखि बन्द गरिएपछि बिरामी मारमा, केही गम्भीर बिरामी इमर्जेन्सीमै पालो कुर्दै छन् भने केहीलाई गेटबाटै फर्काइँदै छ

देशभरका खासगरी विपन्न बिरामीको भिड लाग्ने देशकै जेठो अस्पतालमा गम्भीर बिरामीको उपचार गरिने ३० आइसियू बेड चार महिनादेखि बन्द छन् । कुल ५९ आइसियू बेड रहेकोमा स्वास्थ्य जनशक्तिको अभाव हुँदा आधाभन्दा धेरै बेड बन्द भएका हुन् । 

हाल अस्पतालमा आठ मेडिकल आइसियू बेड छन् । त्यमध्ये दुईवटा थन्क्याएर राख्नुपर्ने बाध्यता छ । त्यस्तै, सर्जिकलतर्फका १८ आइसियू बेडमध्ये १० बेड प्रयोगविहीन छन् । न्युरोतर्फ नौ आइसियू बेड रहेकामा चार प्रयोगविहीन छन् । ग्यास्ट्रोहेपाटो आइसियूतर्फका सबै ११ बेड थन्किएका छन् । अस्पताल प्रशासनका अनुसार कार्डियोलोजीका दुई आइसियू र एक बेड सिसियूमा उपचार हुन सकेको छैन । वीरमा भएका ५९ वटै आइसियू बेडमा आवश्यकताअनुसार भेन्टिलेटर प्रयोग गर्न सकिने सुविधा छ । 

‘वीरमा जम्मा आइसियू बेडसंख्या ५९ हो, तर जनशक्ति अभाव हुँदा ३० वटा बन्द गर्नुपरेको छ । मुख्य त नर्सिङ जनशक्तिको अभावमा आइसियू बेड बन्द गर्नुपर्ने बाध्यता भयो,’ अस्पताल निर्देशक डा. सन्तोष पौडेलले भने, ‘बिरामी बेड नपाएर छटपटाइरहेको अवस्था देख्दा पनि बेड छैन भनेर फर्काउनुपर्दा नराम्रो अनुभूति हुन्छ । भएजति आइसियू बेड सञ्चालन गर्न सके आएका बिरामीलाई फर्काउनुपर्ने अवस्था हुँदैन ।’ निर्देशक डा. पौडेलका अनुसार स्वास्थ्य जनशक्ति अभावमा आइसियूसँगै सबै गरी तीन सय बेड खाली छाड्नुपरेको छ । त्यस्तै, दैनिक ९० जनासम्म बिरामीको अप्रेसन हुने गरेकामा पछिल्लो समय ४० वटा मात्रै अप्रेसन भएको छ । 

जीवन जोगिने भरोसा राखेर गम्भीर अवस्थामा पुगेका कतिपय बिरामीलाई आइसियू बेड नभएको भन्दै सुरक्षागार्डले गेटबाटै फर्काइदिने गरेका छन् भने कतिपय बिरामी इमर्जेन्सीमा छटपटाइरहेका छन् । निवर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चार महिनाअघि एकैपटक तीन सय स्वास्थ्य जनशक्ति हटाएपछि आइसियूसँगै सबैगरी तीन सय बेडको सेवा ठप्प छ । कुल नौ सय ५० बेडको वीरमा हाल ६ सय ५० बेड मात्रै सञ्चालनमा छन् । पूरै बेडमा सेवा दिन दुई स्य ५० नर्स र १० एनेस्थेसियोलोजिस्ट (अप्रेसनका लागि बिरामी बेहोस गराउने डाक्टर) आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

‘मन्त्रीज्यू हाम्रो समस्यामा गम्भीर र सकारात्मक देखिनुभएको छ, सायद अब समाधान होला,’ उनले भने, ‘जनशक्ति र आवश्यकताअनुसारको बजेट भयो भने हामीले वीरलाई सहज बनाउन सक्छौँ ।’ 

वीरमा हाल १७ एनेस्थेसियोलोजिस्ट र करिब चार सय नर्स छन् । तर, बिरामीको संख्या हेर्दा यो जनशक्ति निकै कम हो । निर्देशक डा. पौडेलका अनुसार वीरमा अप्रेसन गर्न आएका बिरामी नफर्काउने गरी सेवा दिने हो भने १० एनेस्थेसियोलोजिस्ट र दुई सय ५० जना नर्स थप्नुपर्ने अवस्था छ । यसबारे स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई समेत जानकारी गराइसकेको उनले बताए । अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूका अनुसार रेस्पिरेटरी आइसियूमा एसी बिग्रिएको छ । 

आइसियूमा उपचार गर्नुपर्ने ब्रेन ह्यामरेज भएकी महोत्तरीकी निर्मला देवी दुई दिनदेखि इमर्जेन्सीमै
महोत्तरीकी ४५ वर्षीया निर्मला देवी दुई दिनदेखि वीरको इमर्जेन्सी बेडमा छटपटाइरहेकी छिन् । मंगलबार बिहानदेखि इमर्जेन्सी कक्षको ‘आर ५’ बेडमा उपचाररत उनलाई ब्रेन ह्यामरेज भएको छ । जतिसक्दो छिटो आइसियूमा लगेर राख्नुपर्ने सुझाव चिकित्सकले दिइरहेका छन् । तर, आइसियू बेड खाली नै छैन । कतिवेला आइसियू पाइएला भनेर बिरामी निर्मला देवीका आफन्त (भतिजा) वीरेन्द्र यादव पालो कुरिरहेका छन् । ‘दुई दिन भइसक्यो उहाँको होस छैन, यहाँबाट अन्त लैजाऊँ भने पनि झन् जोखिम हुन्छ, निजीमा लैजान आर्थिक हैसियत कमजोर छ,’ यादवले भने, ‘अस्पतालले बिरामीको अवस्था बुझेर छिटो आइसियूमा सारिदिए हुन्थ्यो ।’

धनगढीका रोकायालाई वीरको गेटबाटै फर्काइयो
मिर्गौलासम्बन्धी समस्याले ग्रस्त धनगढीका धु्रव रोकायालाई आफन्तले बुधबार बिहान वीरको इमर्जेन्सी कक्षको गेटतर्फ लैजाँदै थिए । आइसियूमा उपचार गराउनुपर्ने अवस्थाका उनलाई गेटमै रोकेर गार्डले भने, ‘आइसियू बेड खाली छैन, बरु टिचिङतिर लैजानुस् ।’ बिरामीको अवस्थाबाट आत्तिएका आफन्तले रोकायालाई टिचिङतिरै दौडाए ।

आइसियूको पालो कुर्दै नेपालगञ्जकी आरती
नेपालगन्ज घर भएकी ३५ वर्षीया आरती देवीलाई पनि आइसियू बेडको आवश्यकता छ । उनलाई मंगलबार विष सेवन गरेपछि उपचारका लागि वीरमा ल्याइएको थियो । तर, आइसियूमा बेड खाली नहुँदा उनलाई इमर्जेन्सीमै राखिएको छ । उनको उपचारमा खटिएका नर्सहरूले बिरामीको अवस्था हेर्दा आइसियूमा लैजानुपर्ने भए पनि बेड खाली नहुँदा इमर्जेन्सीमै राखिएको बताए । ‘बिरामी सिकिस्त भए पनि आइसियूमा बेड खाली नभएकाले सार्न सकिएको छैन,’ एक नर्सले भनिन्, ‘बेड छन्, तर जनशक्ति अभावमा बन्द छन्, यता बिरामी छटपटाइरहेका छन् ।’ 

वीरका निर्देशक डा. सन्तोष पौडेल भन्छन्– भएजति आइसियू बेड सञ्चालन गर्न सके बिरामी फर्काउनुपर्दैन
वीरमा जम्मा आइसियू बेडसंख्या ५९ हो, तर जनशक्ति अभाव हुँदा ३० वटा बन्द गर्नुपरेको छ । मुख्य त नर्सिङ जनशक्तिको अभावमा आइसियू बेड बन्द गर्नुपर्ने बाध्यता भयो । बिरामी बेड नपाएर छटपटाइरहेको अवस्था देख्दा पनि बेड छैन भनेर फर्काउनुपर्दा नराम्रो अनुभूति हुन्छ ।

भएजति आइसियू बेड सञ्चालन गर्न सके आएका बिरामीलाई फर्काउनुपर्ने अवस्था हुँदैन । मन्त्रीज्यू हाम्रो समस्यामा गम्भीर र सकारात्मक देखिनुभएको छ, सायद अब समाधान होला । जनशक्ति र आवश्यकताअनुसारको बजेट भयो भने हामीले वीरलाई सहज बनाउन सक्छौँ ।

वीरका नौ सय ५० मध्ये ६ सय ५० बेड मात्रै सञ्चालनमा
जीवन जोगिने भरोसा राखेर गम्भीर अवस्थामा पुगेका कतिपय बिरामीलाई आइसियू बेड नभएको भन्दै सुरक्षागार्डले गेटबाटै फर्काइदिने गरेका छन् भने कतिपय बिरामी इमर्जेन्सीमा छटपटाइरहेका छन् । निवर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चार महिनाअघि एकैपटक तीन सय स्वास्थ्य जनशक्ति हटाएपछि आइसियूसँगै सबैगरी तीन सय बेडको सेवा ठप्प छ । कुल नौ सय ५० बेडको वीरमा हाल ६ सय ५० बेड मात्रै सञ्चालनमा छन् । पूरै बेडमा सेवा दिन दुई सय ५० नर्स र १० एनेस्थेसियोलोजिस्ट (अप्रेसनका लागि बिरामी बेहोस गराउने डाक्टर) आवश्यक पर्ने अस्पतालले जनाएको छ । वीरमा हाल १७ एनेस्थेसियोलोजिस्ट र करिब चार सय नर्स छन् । तर, बिरामीको संख्या हेर्दा यो जनशक्ति निकै कम हो ।

ad
ad