१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम ६.७ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ। 

विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति ६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्य अभिवृद्धि कर (भ्याट)मा छुट दिएकोमा त्यसले पनि मुद्रास्फीति बढाएको उल्लेख छ। 

विश्व बैंकले औसत मुद्रास्फीति गत वर्ष ८ प्रतिशतबाट यस वर्ष ६.७ प्रतिशत हाराहारी रहने प्रक्षेपण गरेको छ। यस वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने बढेको छ। चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध र मरमसलामा देखिएको मूल्यवृद्धिको असर समग्र  मुद्रास्फीतिमा देखिएको छ। 

प्रतिवेदनमा नेपालको सेवा क्षेत्रमा सुधार देखिएका कारण आर्थिक वृद्धिदर गत वर्षको सुरुवाती ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको छ।

पर्यटक आगमनमा भएको वृद्धिले होटेल तथा आवास क्षेत्रमा उल्लेख्य सुधार देखिएको तथा बिमा क्षेत्रका गतिविधि बढेको प्रतिवेदनमा उल्लेख छ। अर्थतन्त्र सुधार देखिनुमा औद्योगिक क्षेत्र, जलविद्युत् उत्पादन र कृषि क्षेत्रमा धानको उत्पादन बढ्नुलाई मुख्य कारण मानिएको छ। अहिले थोक तथा खुद्रा व्यापारमा भने संकुचन देखिएको प्रतिवेदनमा उल्लेख छ।

गत वर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहेकोमा यस वर्ष ३.३ प्रतिशत र आगामी वर्ष अर्थात् सन् २०२५ मा औसत ५ प्रतिशत हाराहारी रहने प्रक्षेपण विश्व बैंकको छ।

यसअघि विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ मार्फत वर्ष २०२३/२४ मा नेपालको आर्थिक वृद्धिदर ३. प्रतिशत र वर्ष २०२४/२५ मा ५ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो। तर, अहिले उक्त अनुमान घटाएको छ।

उपभोग बढ्दा वस्तु तथा सेवाको आन्तरिक माग बढेको र यसलाई विप्रेषण आप्रवाहले धानेको देखिएको छ। यद्यपि, विप्रेषणमा देखिएको वृद्धिको अनुपातमा माग भने बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, निजी क्षेत्रको लगानी र राजस्व संकलन घटेको देखिएको छ।

विदेशी मुद्राको सञ्चिति ऐतिहासिक उच्च विन्दुमा पुगेर भुक्तानी सन्तुलन कायम भएको र बाह्य क्षेत्र सहज हुनुका पछाडि रेमिट्यान्स बढ्नु र व्यापार घाटा कम हुनुलाई मुख्य कारण मानिएको छ।

सन् २०२३ को अर्धवार्षिक अवधिमा चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ०.७ प्रतिशतले घाटामा रहेकोमा सन् २०२४ को सोही अवधिमा भने २.७ प्रतिशतले नाफामा रहेको देखिएको छ। चालू खाता नाफामा जानुका पछाडि पनि विप्रेषण बढ्नु र व्यापार घाटा घट्नुलाई मुख्य कारणका रूपमा लिइएको छ।

चालू वर्षको अर्धवार्षिक अवधिमा रेमिट्यान्स आप्रवाह जिडिपीको तुलनामा १०.९ प्रतिशतबाट बढेर १२.३ प्रतिशत पुगेको र व्यापार घाटा जिडिपीको १३.२ प्रतिशतबाट घटेर ११.६ प्रतिशत रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

वस्तु आयात घटे पनि न्यून करका कारण विद्युतीय सवारीसाधनको आयात भने निकै बढेको छ । सेवा आयात कोभिड महामारीपूर्वको अवस्थाभन्दा बढेको छ । जब कि नेपालको निर्यात भने थोरै मात्र बढेको छ भने महामारीपूर्वको अवस्थामा अझै पुगिसकेको छैन।

विभिन्न चुनौतीका बाबजुद पनि बैंकिङ क्षेत्र स्थिर र नाफाको अवस्थामा देखिएको छ। खराब कर्जा बढेको छ। औसत पुँजी पर्याप्तता अनुपात नियामक नेपाल राष्ट्र बैंकले तोकेभन्दा बढी रहेको छ भने तरलता बढेको छ । ऋण ‘प्रोभिजनिङ’ तथा पुनर्संरचनामार्फत बैंकहरुको नाफा थप घट्न नदिन प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ।

पुँजीगत खर्च बढाउने र भन्सार राजस्वमा आधारित निर्भरतालाई घटाउँदै लगेर आर्थिक वृद्धि हासिल गर्न सकिने विश्व बैंकले औँल्याएको छ। निजी क्षेत्रको आत्मबल तथा लगानी बढाउन मौद्रिक नीति सहज र सुदृढ हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।