१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo
Read Time : > 4 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

मानवसिर्जित भोकमरीको सँघारमा गाजा

इजरायलले गाजामा खाद्यान्न प्रवेशमा प्रतिबन्ध लगाएको मात्र होइन वितरणमा समेत अवरोध पुर्‍याइरहेको छ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo

अमेरिकी जहाजले गाजामा मानवीय सहायता उतार्ने संरचना निर्माण गर्न आन्द्रमहासागर पार गरिरहेको वेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र हमासबीच रमजानको महिनामा युद्धविरामको प्रस्तावमा मतदान हुँदै थियो । अमेरिकी कूटनीतिज्ञहरूले त्यस प्रस्तावलाई तिनको भिटो प्रयोग गरेर रोकिदिए । युद्धविराम रोक्ने प्रयासको कूटनीतिक आलोचना भयो । तर, गाजामा समुद्री मार्गबाट सहायता पठाउने अमेरिकी कदमले इजरायल युद्धप्रति राष्ट्रपति जो बाइडेन प्रशासनको बढ्दो निराशालाई त दर्साउँछ नै साथमा तत्काल सहायता नदिइए गाजाका २२ लाख बासिन्दा भोकै मर्नेछन् भन्ने व्यापक चिन्तालाई प्रतिबिम्बित गर्दछ ।

अहिले गाजाको २२ लाख जनसंख्यामध्ये झन्डै आधाले ‘गम्भीर खाद्य असुरक्षा’को सामना गरिरहेका छन् । ७० प्रतिशतले अर्को दुई महिनाभित्र ‘चरम खाद्य अभाव’ अनुभव गर्ने सक्ने एक प्रतिवेदनलाई इंगित गरेको छ । प्रतिवेदन गैरराजनीतिक मूल्यांकन गर्ने एक अन्तर्राष्ट्रिय नेटवर्क ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आइपिसी)’ प्रणालीद्वारा संकलन गरिएको थियो । यसअघि भोकमरीको विवरणलाई अस्वीकार गर्ने इजरायलले आइपिसी रिपोर्टलाई भने खण्डन गरेको छैन ।

इजरायलले गाजामा खाद्यान्न प्रवेशमा प्रतिबन्ध लगाएकाले मात्र नभएर खाद्यान्न वितरणमा समेत अवरोध पु¥याइरहेको छ । संयुक्त राष्ट्रसंघले इजरायलले नियमित रूपमा सहायता बोकेका ढुवानी वाहनलाई रोक्ने गरेको बताउँछ । यसै महिनाको सुरुमा इजरायलले खाद्यान्न वितरण केन्द्रमा बम विस्फोट गरेको थियो । इजरायली सेनाले गाजाका अधिकांश खेत पनि कब्जा गरेर बसेको छ । त्यस भेगमा खेती गर्ने जनसंख्या विस्थापित छन् ।

भोकमरीबाट मृत्यु हुनेको अहिलेसम्म कुनै विश्वसनीय संख्या त छैन, तर आइपिसीले संकलन गरेको तथ्यांकअनुसार फेब्रुअरीमा उत्तरी गाजामा दुई वर्षमुनिका बालबालिकामध्ये २९ प्रतिशत तीव्र कुपोषणबाट ग्रस्त थिए । त्यहाँका ६६ प्रतिशत परिवारले गत महिना कम्तीमा १० दिन खानै पाएनन् 

गाजाबाट प्राप्त विवरण अनियमित छन् र सधैँ विश्वसनीय पनि छैनन् । ३६५ वर्ग किलोमिटरको यस तटीयपट्टिलाई विभिन्न हिस्सामा विभाजन गरिएको छ । केही इजरायली रक्षा बल (आइडिएफ)को पूर्ण नियन्त्रित छ भने अन्य हमासको कब्जामा । त्यहाँ केही त्यस्ता क्षेत्र छन् जहाँ केही स्थानीय आपराधिक परिवारले सहायता खाद्यान्न पनि चोरेर वा खोसेर अत्यधिक नाफामा बेचिरहेका छन् ।

भोकमरीबाट मृत्यु हुनेको अहिलेसम्म कुनै विश्वसनीय संख्या छैन, तर आइपिसीले संकलन गरेको तथ्यांकअनुसार फेब्रुअरीमा उत्तरी गाजामा दुई वर्षमुनिका बालबालिकाहरूमध्ये २९ प्रतिशत तीव्र कुपोषणबाट ग्रस्त थिए । त्यहाँका ६६ प्रतिशत परिवार गत महिना कम्तीमा १० दिन खानै पाएनन् । हमासले इजरायलमा आक्रमण गरेयताका झन्डै ६ महिना इजरायलले निरन्तर गाजामा बमबारी गरिरहेको छ ।

इजरायल रक्षा बल(आइडिएफ)ले खाद्य कटौती गरेको गाजा सहरमा स्थिति सबैभन्दा खराब छ । केही सीमित खाद्यान्न आपूर्ति ढुवानीका सवारीसाधनलाई मात्रै सहरभित्र प्रवेश गर्न अनुमति दिइएको छ । इजिप्ट सिमानासँग जोडिएको रफाहवरपर १५ लाख प्यालेस्टाइनी आश्रय लिइरहेका छन् । इजिप्टतर्फबाट त्यहाँ नियमित सहायता सामग्री आपूर्ति भइरहेको छ । तर, यी आपूर्ति मागको तुलनामा अपर्याप्त छन् । इजरायलले त्यहाँ हमासको अन्तिम प्रमुख किल्ला रहेको भन्दै सैन्य अभियान चाल्ने धम्की दिँदै आएको छ । इजरायली सैन्य कारबाही सुरु भयो भने खाद्यान्न बोकेका ती सामान जोखिममा पर्नेछन् ।

आफ्नो युद्ध सर्वसाधारणलाई नभई ‘हमासलाई ध्वस्त पार्नु’ रहेको इजरायलले दाबी गरेको छ । गाजालाई जानाजानी भोकै मारेको भन्ने विवरणलाई इजरायलले अस्वीकार गरेको छ । आपूर्ति अवरोध ‘इजरायली बन्धकलाई रिहा गर्नका लागि हमासलाई दबाबको एक औजार’ भएको इजरायली सुरक्षा अधिकारीहरूले स्वीकार गरेका छन् । इजरायलले उत्तरी गाजामा जाने पानीको पाइपलाइन पनि काटिएको छ जसकारण त्यहाँका मानिस दक्षिणतिर जान बाध्य छन् ।

‘यी कार्य जानाजान नगरिएका भए पनि आपराधिक लापरबाही हो, जुन सिमानामा भइरहेको छ,’ इजरायली मानव अधिकार संगठन गिसाकी तानिया हरिले भनिन् । मानव अधिकार संगठनलगायतले गाजामा आपूर्तिमा प्रतिबन्ध हटाउन सरकारका नाममा आदेश दिन आग्रह गरेका छन् । केही आइडिएफ अधिकारीहरू माथिबाट आदेश दिइए आफूहरू सबै जनसंख्याको आवश्यकता पूरा गराउन लाग्ने बताउँछन् । तर, प्रधानमन्त्री बिन्यामिन नेतान्याहुको सरकार यस्तो कुनै आदेश दिने पक्षमा छैन । सरकारमा सामेल उग्र दक्षिणपन्थी मन्त्रीहरूले अमेरिकाले दिने भनेको पिठोको ढुवानीसमेत रोक्न आह्वान गरेका छन् ।

युद्ध सुरु भएदेखि गाजामा सामग्री आपूर्तिमा इजरायलको स्थितिमा उतारचढाव आएको छ । पहिला इजरायलले इजिप्टसँगको रफाह सिमानाको माध्यमबाट थोरै संख्यामा लरीहरूलाई प्रवेश दिएको थियो । त्यतिवेला इजिप्टले गाजासँग जोडिएको उसको नाका खुला राखेको थियो । पछि उसले समुद्रबाट ढुवानीलाई अनुमति दिन थाल्यो । नेतान्याहुको सरकारको कदम ती इजरायलीहरूलाई खुसी बनाउन केन्द्रित छ, जो अक्टोबर ७ को नरसंहारबाट आघातमा परेका छन् र हमाससँग बन्धकलाई रिहा गर्न माग गरिरहेका छन् । केही इजरायलीले व्यक्तिगत र सामूहिक रूपमा तिनको देशबाट गाजा प्रवेश गर्न लागेको सहायता वाहनलाई सिमानामा घेरा हालेर रोक्ने प्रयास गरिरहेका छन् । फलस्वरूप सरकार मानवीय सहायतासम्बन्धी कुनै गम्भीर छलफल वा नीति सार्वजनिक गर्न दबाबमा छैन । 

‘गाजामा आपूर्तिसम्बन्धी सबै निर्णय विनासोचविचार गरिएका छन् । हामीसँग व्यापक रणनीति अघि सार्ने जिम्मेवारी छ भन्ने देशका जनरल वा सरकारले बुझेका छैनन,’ एक निराश आइडिएफ अधिकारी गुनासो गर्छन् । इजरायलले उत्तरी गाजामा नयाँ सडक पनि बनाएको छ र निजी प्यालेस्टिनी ठेकेदारमार्फत ढुवानी पुनः सुरु गर्न अनुमति दिएको छ । ती मार्ग हुँदै युद्धअघि गाजाको खाद्यान्न आयात सुरु भए पनि हालको आपूर्ति पर्याप्त छैन । धेरैले गाजाको मुख्य सहायता ‘संस्था राष्ट्रसंघीय रिलिफ एन्ड वक्र्स एजेन्सी’ले कार्य पुनः सुरु गर्न आह्वान गरिरहेका छन् । तर, इजरायली सरकारले यस एजेन्सीमा हमासको घुसपैठ रहेको आरोप लगाउँदै आएको छ । 

अनिकाल रोक्ने द्रुत उपाय सहायता खुलाउनका लागि अस्थायी युद्धविराम हुनेछ । तर, नेतान्याहुले गाजामा अझै पनि बन्दी बनाइएका १३४ बन्धकहरूको रिहाइ गराउने गरी युद्धविरामको प्रयासलाई अस्वीकार गर्दै आएका छन् । उता हमासले इजरायली फिर्ता नगरी हुने युद्धविराममा सहमति नजाउने बताएको छ । यस घातक युद्धमा फसेका दुवै पक्ष गाजाका जनतालाई भोकै बस्न दिन तयार देखिन्छन् ।

पछिल्लो आक्रमणमा सात सहायताकर्मीको मृत्यु
अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचन(डब्ल्युसिके)’ले इजरायली सेनाबाट आफ्ना सात सहायताकर्मी मारिएको बताएको छ । डब्लुसिकेले साइप्रसबाट सामुद्रिक मार्ग हुँदै युद्धग्रस्त गाजामा खाद्य सहायता पुर्‍याइरहेको छ । सोमबारको इजराइली आक्रमणपछि संस्थाले उसको गाजा अभियानलाई अहिलेका लागि रोकेको छ । डब्लुसिकेका अनुसार मारिएका सातजना अष्ट्रेलिया , पोल्यान्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानडाका दोहोरो नागरिक तथा प्यालेस्टिनी थिए । र, उनीहरू घटनाको समय साइप्रसबाट समुद्री मार्ग हुँदै गाजा उतारिएको खाद्यान्न सामग्री वितरणको तयारी गर्दै थिए । 

‘गाजामा आइडिएफको आक्रमणमा हाम्रो टोलीका सातजना सदस्य मारिएका छन्,’ ‘वर्ल्ड सेन्ट्रल किचन(डब्लुसीके)’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘ इजरायली सेनासँग समन्वय गरेर गाजा पुगेका ट्रकबाट १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायताका लागि सामान झारी देइर अल–बलाह गोदामबाट बाहिर निस्कँदै गर्दा आक्रमण गरिएको थियो,’ सहायता समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

इजराइली सेना आइडिएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले घटनामा परेकाहरूप्रति ‘गहिरो समवेदना’ प्रकट गर्न डब्लुसिकेका संस्थापक सेलिब्रिटी सेपा जोस एन्ड्रेससँग कुराकानी गरेको बताए । इजराइली सेनाको तथ्य पत्ता लगाउने र मूल्यांकन संयन्त्रले अनुसन्धान गर्ने जानकारी दिँदै हगारीले भने । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले स्थितिलाई मानव निर्मित संकट भन्दै उत्तरी गाजा भोकमरीको सँघारमा रहेको बारम्बार चेतावनी दिएका छन् । 

चौतर्फी आलोचना 
सोमबार गाजामा मानवीय सहायता प्रदान गर्ने क्रममा पाँच मानवीय सहायताकर्मीको मृत्यु भएको घटनाको विश्वभरबाट आलोचना भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजामा सहायता वितरण गर्ने क्रममा मारिएका एक अस्ट्रेलियाली नागरिकको मृत्युमा पूर्ण जवाफदेहिताको माग गरेका छन् । अल्बानिजले अस्ट्रेलियाली नागरिक जोमी फ््रयांककमको गाजामा हवाई आक्रमणबाट मृत्यु भएको पुष्टि गर्दै यस्तो माग गरेका हुन् । 

उता अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनले ह्वाइटहाउस यस आक्रमणबाट निकै चिन्तित भएको बताए । ‘अत्यावश्यक सहायता प्रदान गर्ने मानवीय सहायताकर्मीहरूलाई सुरक्षाको प्रत्याभूत हुनुपर्छ ,’ वाट्सनले समाजिक सञ्जाल एक्समा लेखेका छन् । अरू मुलुकले पनि यस आक्रमणको विरोध गर्दै घटनाको अनुसन्धानको माग गरेका छन् । 

‘अनजानवश’ मारिएको नेतान्याहुद्वारा स्वीकार
इजराइलका प्रधानमन्त्री नेतान्याहुले मंगलबार आफ्ना सशस्त्र बलबाट गाजामा भएको हवाई हमलामा ‘अनजानवश’ सात सहायताकर्मी मारिएको स्वीकार गरेका छन् । हर्नियाको शल्यक्रियापछि जेरुसेलमस्थित अस्पतालबाट बाहिरिँदै गर्दा नेतान्याहूले पत्रकारसँगको कुराकानीमा भने, ‘युद्धमा यस्तो घटना हुन्छ, तर हामी यसको अनुसन्धान अन्तिमसम्म गर्नेछौँ । यस्तो नदोहोरियोस् भनेर हामी सम्पूर्ण सावधानी अपनाउनेछौँ ।’

–द इकोनोमिस्टबाट

ad
ad