१ अप्रिल १९२४ मा एडोल्फ हिटलर भयग्रस्त भएका थिए होलान् । साढे चार महिनाअघि उनले राजधानी म्युनिखमा असफल कुको नेतृत्व गरेका थिए । इटलीका फासीवादी नेता बेनिटो मुसोलिनीबाट प्रेरित भएर हिटलरले आफ्ना समर्थकलाई बर्लिनमा मार्च गरेर लोकतान्त्रिक वाइमर गणतन्त्रलाई तहसनहस गर्ने योजना बनाएका थिए ।
विद्रोह प्रयास ८ नोभेम्बर १९२३ को राति ८ बजेपछि सुरु भएको थियो, जब हिटलर र उनका अनुयायीले एक राजनीतिक ¥याली तयार गरेर भिडलाई बन्धक बनाएका थिए । त्यसपछिको मादक पदार्थले मातिएका हिटलरको ‘स्टर्म ट्रुपर्स’ (जत्था) ले विपक्षीको राजनीतिक कार्यालयमा तोडफोड गरी सहरका यहुदीमाथि आक्रमण गरेर सत्ताकब्जा गर्ने नाजी प्रयास असफल भयो, हिटलरको नेतृत्वको दुई हजारको सशस्त्र समूहले प्रहरी र जर्मन सेनाको सामना गरेको थियो । छोटो भिडन्तपछि चार बाभेरियन प्रहरी मारिए । गोली चल्न थालेपछि भुइँमा लडेका हिटलर काँधमा चोट लागेर घटनास्थलबाट भागेका थिए । उनको छेउमा उभिइरहेका व्यक्तिलाई गोली हानेर मारिएको थियो ।
लुकेको अढाई दिनपछि जर्मनीका मोस्ट वान्टेड हिटलर उनका कट्टर समर्थकको ग्रामीण बाभेरियन घरमा फेला परे । हिटलरलाई देशद्रोहको आरोप लगाइयो र मुद्दा २६ फेब्रुअरी १९२४ मा सुरु भयो । उनलाई विद्रोहको ‘आत्मा’ भन्दै कठोर सजायको माग गरियो ।
‘मूर्ख दिवस’ १ अप्रिलकै दिन न्यायाधीशले हिटलरलाई दोषी पाएपछि बाभेरियन कानुनअन्तर्गत न्यूनतम सजाय तोकियो । अर्थात् राम्रो व्यवहार गरे प्रारम्भिक रिहाइको सम्भावनासाथ पाँच वर्षको कारावास तोकियो । फैसलापछि हिटलरलाई अदालतबाट बाहिर निस्कन र फोटो खिच्न अनुमति दिइएको थियो । अभियोजक उदार सजायविरुद्ध पुनरावेदन गर्न असमर्थ थिए र हिटलर वर्षको अन्त्यभन्दा पहिल्यै मुक्त भए । कैदमै उनले ‘मेइन केम्पÞm’ लेखेका थिए ।
सन् १९२४ मा हिटलरले झैँ ट्रम्पले भ्रष्ट ‘डिप स्टेट’लाई दोष लगाउँदै अदालतमा आफूलाई पीडितका रूपमा प्रस्तुत गरिरहेका छन्
वाइमर गणतन्त्रलाई समर्थन गर्ने जर्मन आक्रोशित थिए । आफ्नो लोकतान्त्रिक शासन प्रणालीलाई उल्ट्याउन खोज्ने व्यक्तिलाई सामान्य सजाय दिइएको थियो । हिटलरलाई दिइएको हल्का सजायले जर्मनीको सबैभन्दा महत्वपूर्ण क्याथोलिक पत्रिकाले भनेझैँ राज्यको अख्तियारी ‘मरेर गाडिइसकेको’ थियो । प्रभावशाली उदारवादीले अदालतलाई अपराध दोहोर्याउन अनुमति दिएको आरोप लगाएका थिए ।
हिटलरप्रति सहानुभूति राख्नेहरूले उदारवादी विरोधीलाई गिल्ला गर्दै धेरै ‘भावनात्मक’ नबन्न र ‘विगतलाई विगत हुन दिनुपर्छ’ भन्दै हिटलरलाई दिइएको सजायलाई ‘गम्भीर’ भनेका थिए । समर्थकको उत्सवले एक महिना लामो प्रचार अभियानको समापनलाई दर्साउँथ्यो, जसले नाजी नेता हिटलरलाई एक महान् देशभक्तलाई गलाउने पक्षपातपूर्ण न्याय प्रणालीको सिकारका रूपमा चित्रण गरेको थियो ।
केही मिडियाले उत्साहपूर्वक हिटलरको पक्ष लिए । उदाहरणका लागि म्युनिखको एक मध्यम–दक्षिणपन्थी पत्रकारले खुला रूपमा अभियुक्तप्रति आफ्नो पूर्वाग्रह व्यक्त गरेका थिए । पत्रिकाले वाइमर गणतन्त्रका संस्थापकलाई ‘नोभेम्बर अपराधी’ भनेर उल्लेख गरेको थियो, जसमा नाजीको हिंसाको औचित्य प्रमाणित गर्ने हिटलरको भाषा प्रतिध्वनित हुन्थ्यो ।
हिटलरले सुनुवाइका क्रममा दर्शक–श्रोतालाई भड्काएका थिए । खचाखच भरिएको अदालतको कक्षमा समर्थक, जिज्ञासु महिला एवं किशोर पुरुष पनि उपस्थित थिए । इतिहासकार हिटलरको सन् १९२४ को अदालती सुनुवाइ एक धोखा थियो भन्नेमा सहमत छन् ।
हिटलरको राजनीतिक जीवन समाप्त गर्नुको सट्टा यो सुनुवाइले उनको लोकप्रियतालाई बलियो बनाउन र उनलाई एक दशकभन्दा कम समयमै वाइमर गणतन्त्रलाई ध्वस्त पार्ने नेता बनाउन मद्दत गर्यो । अदालती सुनुवाइको अन्यायका पछाडि अलोकतान्त्रिक दक्षिणी क्षेत्र र सुनुवाइ हेर्ने न्यायाधीश जर्ज नेइथर्ड जिम्मेवार थिए । एक पुरातनपन्थी न्यायाधीशका रूपमा नेइथर्डले हिटलरलाई गणतन्त्रको आलोचना गर्न मञ्चको रूपमा अदालतको कक्ष प्रयोग गर्न स्वेच्छाले अनुमति दिएका थिए ।
तर, आज हिटलरको सन् १९२४ को अदालती सुनुवाइको सान्दर्भिकतामा खासै सहमति देखिँदैन । जसरी अमेरिकी पुरातनपन्थीले ट्रम्पवाद र फासीवादको तुलनालाई अस्वीकार गर्छन् । त्यसैगरी केही इतिहासकारले वाइमर गणतन्त्र पतनको अवस्थाको अध्ययन आकर्षक देखिए पनि अमेरिकाको वर्तमान राजनीतिक उथलपुथललाई त्यसबाट विश्लेषण गर्न नसकिने बताउँछन् । यी इतिहासकारले सन् १९२३ मा हिटलरको कु प्रयास र ६ जनवरी २०२१ का घटनाबीच कुनै समानता देख्दैनन् । ६ जनवरीका दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सेभ अमेरिका’ र्याली युएस क्यापिटोलमा विद्रोहका रूपमा परिणत भयो । परिणामस्वरूप पाँचजनाको मृत्यु भयो र एक सय ४० जना घाइते भए । सुरक्षाका कारण कंग्रेसका सदस्य बाहिरिन बाध्य भए ।
पुरातनपन्थीले मात्रै यी समानान्तरमा विश्वास नगर्ने होइन, धेरै अमेरिकी उदारवादी पनि सन् १९२४ को घटनालाई ट्रम्पको ६ जनवरीसँग तुलना गर्न अनिच्छुक छन् । यदि उदारवादीले तुलना गर्छन् भने रिपब्लिकन पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार ट्रम्पविरुद्धका विभिन्न मुद्दाले हिटलरको मुद्दामा एक शताब्दीअघिको जस्तै प्रभाव पारेको भन्ने बुझ्नेछन् । त्यसवेलाझैँ ट्रम्पले समर्थकलाई उत्तेजित गर्दै छन् ।
सन् १९२४ मा हिटलरले झैँ ट्रम्पले भ्रष्ट ‘डिप स्टेट’लाई दोष लगाउँदै अदालतमा आफूलाई पीडितका रूपमा प्रस्तुत गरिरहेका छन् । डेमोक्य्राटले आफ्ना विरोधीमा मात्रै ध्यान केन्द्रित गर्नुको सट्टा उनीहरूले आफ्नो अभियान क्रममा ट्रम्पको सुनुवाइलाई सन् १९२४ को हिटलरको सुनुवाइसँगको तुलनालाई प्राथमिकतासाथ मान्यता दिनुपर्छ ।
(जोन्स युनिभर्सिटी कलेज डब्लिनका इतिहासका उप–प्राध्यापक हुन्) – प्रोजेक्ट सिन्डिकेटबाट