१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फेरि आन्दोलनमा उत्रिँदै बन्चरेडाँडावासी : फोहोर बोकेका गाडी रोक्ने तयारी

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o१:oo

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका बासिन्दाले फेरि आन्दोलन गर्ने भएका छन् । स्थानीयवासीसँग केन्द्र सरकार, काठमाडौं महानगरपालिका र अरू स्थानीय तहले गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू आगामी शनिबार (२४ चैत)देखि आन्दोलनमा उत्रिन लागेका हुन् । शनिबारदेखि नै उनीहरूले फोहोर बोकेका कुनै पनि गाडी बन्चरेडाँडा जान नदिने घोषणा गरेका छन् । 

यसपटक पूर्वसहमति कार्यान्वयनको चरणमा नपुगुन्जेल चरणबद्ध आन्दोलन गर्ने र फोहोरमैला बोकेका गाडीलाई प्रवेश निषेध गर्ने बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले बताए ।

‘नेपाल सरकार र काठमाडौं महानगरपालिकासमेतका फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण दर्जनौँ स्थानीयवासीको मृत्यु भएको, सयौँको संख्यामा क्यान्सरजस्ता प्राणघातक रोग फैलिएको र यही कारण दर्जनौँको मृत्यु भएकोलगायत मानवताविरोधी अपराध गरेकाले अबउप्रान्त सधैँका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्को विकल्प छैन,’ संयोजक ढुंगानले भने । शनिबारदेखि फोहोर बोकेका गाडी तारकेश्वर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामै रोकिने संघर्ष समितिले जनाएको छ । 

मेयर बालेनले आफ्नै वाचा भुलेको आरोप
दुई वर्षअघि काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनेबित्तिकै बालेन्द्र साह (बालेन)ले बन्चरेडाँडा पुगेर फोहोरमैला व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा, माला नलगाउने घोषणा नै गरेका थिए । फोहोरमैला व्यवस्थापन समस्या दीर्घकालीन समाधान नभई चुप लाएर नबस्ने र यसका लागि केही महिना समय दिन अनुरोध गरेका थिए । सोहीअनुसार स्थानीय ढुक्क भएका भए । तर, अहिले आफ्नै वाचा भुलेर स्थानीयसँग वार्ता, छलफलसमेत गर्न नचाहेको स्थानीयको आरोप छ ।

‘हामीलाई त्यतिवेला आश्वासन दिइयो । तर, अहिले भेट्न, छलफल गर्नसमेत पाएका छैनौँ । बन्चरेडाँडावासीसँग नभेट्ने भन्नुभएको छ रे,’ ढुंगानाले भने । १३ जेठ ०७९ मा निर्वाचित हुनेबित्तिकै र २० जेठमा उपमेयर सुनीता डंगोलसहित बन्चरेडाँडा पुगेका थिए । ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा धुनिबेँसी नगरपालिका वडा नम्बर १, ३ र ४ लाई प्रभावित क्षेत्र भनेर तोकिएको छ । 

श्रीराम ढुंगाना, संयोजक, ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति 
फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण दर्जनौँ स्थानीयवासीको मृत्यु भएको, सयौँको संख्यामा क्यान्सरजस्ता प्राणघातक रोग फैलिएको र यही कारण दर्जनौँको मृत्यु भएकोलगायत मानवताविरोधी अपराध गरेकाले अबउप्रान्त सधैँका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्को विकल्प छैन । यसपटक पूर्वसहमति कार्यान्वयनको चरणमा नपुगुन्जेल चरणबद्ध आन्दोलन गर्ने र फोहोरमैला बोकेका गाडीलाई प्रवेश निषेध गर्छौँ ।

महानगरसँग यस्ता माग

  • ल्यान्डफिल साइटमा खडा गरेको सशस्त्र प्रहरी पोस्ट खारेज गर्नुपर्ने
  • कोल्पुखोलाको पानीलाई पूर्ववत् स्वच्छ कायम गर्नुपर्ने
  • फोहोरमैला ढुवानी गर्ने सवारीसाधन महासंघ र नगरपालिकाले प्रमाणीकरण गरी अप्रिय परिस्थितिको जवाफदेही बन्नुपर्ने 
  • सिसडोल बन्चरेडाँडा साइटमा काम गर्न राखेका स्थानीय सबै कामदारलाई  स्थायी नियुक्ति दिई १० लाखसम्मको जीवन बिमा गर्नुपर्ने 
  • प्रभावित क्षेत्रका दुई सयजना महिला तथा पुरुषलाई सरकारी सेवामा समावेश गर्नुपर्ने
  • तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको सडकमा पर्ने जग्गाको लगत कट्टा गरी मुआब्जा भुक्तानी गरी चार लेन सडक निर्माण गर्नुपर्ने
  • फोहोरमैला ढुवानीका लागि आठ माइल देवकोटा टोल ढाँडे–बन्चरेडाँडा सडक दु्रत प्रक्रियाद्वारा निर्माण गुर्नपर्ने
  • फोहोरमैला ढुवानीका साधन दुर्घटनाबाट मृत्यु भएका, बस्तीमा भएको वातावरण विनाशको क्षति अनुमानित ४५ अर्बभन्दा धेरै भएकाले उच्चस्तरीय संसदीय संयुक्त छानबिन समितिको प्रतिवेदनबमोजिन भुक्तानी दिनुपर्ने
  • ल्यान्डफिल साइटमा फोहोरमैलासम्बन्धी उद्योग दु्रत प्रक्रियाद्वारा स्थापना गर्नुपर्ने । साथै, फोहोरमैला विकास प्राधिकरण गठन छिटो गर्नुपर्ने  
  • ल्यान्डफिल साइटमा फोहोरमैलासम्बन्धी उद्योग स्थापना गर्नुपर्ने 
  • फोहोरमैला विकास प्राधिकरणको छिटो गठन गरी बन्चरेडाँडाको समस्या समाधान गर्नुपर्ने 

केन्द्र सरकारसँगका माग 

  • मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र 
  • फोहोरमैला प्रदूषणरहित विकास क्षेत्र
  • फोहोरमैला प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन गुर्नपर्ने
  • फोहोरमैला विकास प्राधिकरण गठन र फोहोरमैलासम्बन्धी उद्योग स्थापना गर्नुपर्ने
  • ल्यान्डफिल साइट क्षेत्रमा त्रासदी बढाउन खडा गरेको सशस्त्र प्रहरी पोस्ट तत्काल खारेज गर्नुपर्ने
  • प्रभावित क्षेत्रका दुई सयजनालाई सरकारी सेवा अवसर दिनुपर्ने
  • नेपवेस्ट प्रालिसँग सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने
  • फोहोरमैला व्यवस्थापन ऐन, ०६८ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, ०७९ खारेज गर्नुपर्नेलगायत
ad
ad