१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ब्रोकर कमिसन १० प्रतिशत घटाउने तयारी

सेयर कारोबारमा रहेको अधिकतम कमिसन ०.४०% को माथिल्लो सीमालाई घटाएर ०.३६% कायम गर्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१५:oo

धितोपत्र किनबेच गर्ने ब्रोकरको कमिसन १० प्रतिशत घटाउने तयारी थालेको छ । ब्रोकर कमिसन घटाउने सम्बन्धनमा अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीबीच आइतबार छलफल भएको बोर्डका एक अधिकारीले जानकारी दिए ।यसअघि तत्कालीन बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन गत जेठमा सञ्चालक समितिको बैठकमार्फत बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेका थिए । सोही समितिले सञ्चालक समितिलाई ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने प्रस्ताव गरेको थियो । अध्ययन समितिको प्रस्तावअनुसार नै सञ्चालक समितिले कमिसन घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो ।

बोर्डले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको एक वर्ष बितिसक्दा पनि पूर्वअर्थमन्त्री प्रकाशरण महतले त्यसलाई अघि बढाएका थिएनन् । तर, अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनले सम्हालेसँगै उनले बोर्डका पदाधिकारीबीच ब्रोकर कमिसनको विषयमा चासो राखेका थिए । अर्थमन्त्रीले ब्रोकर कमिसन अहिलेको अवस्थामा धेरै भएकाले यसलाई निष्कर्षमा पुर्‍याउन जोड दिएको मन्त्रालयका एक अधिकारीले बताए । उनले भने, ‘लगानीकर्तालाई लगानीमा प्रेरित गर्नका लागि पनि कमिसन घटाउनुपर्छ भन्नेमा उहाँको जोड छ । अब नयाँ अध्यक्षको नियुक्ति भएपछि यो तुरुन्त अघि बढाउने कुरा छ ।’

बोर्डका एक अधिकारीका अनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर ०.३६ प्रतिशत कायम गर्ने तयारी छ । त्यस्तै, तल्लो सीमामा रहेको ०.२७ प्रतिशतलाई घटाएर ०.२४३ प्रतिशत कायम गर्ने गरी प्रस्ताव गरिएको छ । यसअघि बोर्डले १० पुस ०७७ मा ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो । 

हाल ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तिर्नुपर्छ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोडमाथि ०.२७ प्रतिशतसम्म कमिसन लाग्दै आएको छ । 


मन्त्रालयबाट सञ्चालक समितिको प्रस्ताव स्वीकृत भएमा ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क लाग्नेछ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.२७ प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्ने बोर्डको भनाइ छ ।

 बोर्डले लिने कमिसन पनि घटाउने 
बोर्डले आफूले पाउँदै आएको कमिसन शुल्क पनि १० प्रतिशत घटाउने प्रस्ताव छ । बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्कबापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएको छ । अब भने ब्रोकरले ०.५४ प्रतिशत यस्तो शुल्क बुझाउनुपर्ने एक ब्रोकरले बताए । 

लगानीकर्ताले गर्ने कारोबारबापत धितोपत्र बोर्डले प्राप्त गर्दै आएको कमिसन पनि विन्दुले घटाउने प्रस्ताव गरिएको छ । लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ । यदि उक्त प्रस्ताव लागू भएर कार्यान्वयनमा आएमा बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्नेछ । 

अर्थमन्त्री पुनले तीनवटै निकायसँग गत २६ फागुनमा पुँजी बजार सुधारका कार्ययोजना मागेका थिए । नेपाल बोर्डले पुँजी बजारसँग सरोकार राख्ने निकायसँग सुझाव मागेर अर्थ मन्त्रालयमा पेस गरेको थियो । उक्त सुझावमा ब्रोकर कमिसन घटाउनुपर्ने विषयलाई बोर्डले प्राथमिकताका साथ पेस गरेको थियो । लगानीकर्ताले पनि ब्रोकर संख्या थपिएपछि कमिसन घटाउनुपर्ने माग राख्दै आएका छन् ।

तर, अहिलेको बजारलाई हेरेर ब्रोकर कमिसन घटाउन नहुने ब्रोकर कम्पनीहरूको माग छ । नेप्से सूचक दुई वर्षदेखि माथिल्लो विन्दुमा पुग्न नसकेको र औसतमा दुई अर्बभन्दा बढीको कारोबार हुन नसकेको अवस्थामा ब्रोकर कमिसन घटाउन नहुने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।

ad
ad