१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

माधव नेपालको सर्तले गठबन्धनभित्र भागबन्डा जटिल

मुख्यमन्त्री, संघीय मन्त्री, राष्ट्रिय सभा उपाध्यक्षसहित संवैधानिक अंगमा सम्मानजनक भागबन्डाको माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१७:oo

एकीकृत समाजवादीको सर्तले सत्तागठबन्धनभित्र शक्ति बाँडफाँट जटिल भएको छ । अध्यक्ष माधव नेपालले सत्ता सहकार्यका लागि एक मुख्यमन्त्री, एक संघीय मन्त्री र राष्ट्रिय सभा उपाध्यक्षसहित संवैधानिक अंगमा सम्मानजनक भागबन्डा हुनुपर्ने सर्त राखेका छन् । नेपालको अडानकै कारण मन्त्रिपरिषद् पूर्णता, प्रदेश सरकारको नेतृत्व, उपनिर्वाचनलगायतका समग्र विषयमा छलफलका लागि डाकिएको शीर्ष बैठक विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार भएको सत्तारूढ पाँच दलको शीर्ष बैठकमा नेपालले मुख्यमन्त्रीसहित शक्ति बाँडफाँटमा लिखित रूपमै टुंगिए मात्र सत्ता सहकार्यमा रहन सक्ने सर्त सारेका हुन् । छलफल र भागबन्डामा बेवास्ता भएको भन्दै नेपालले सम्मानजनक बाँडफाँट नभए सोमबार बागमती प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने अडानसमेत राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पहिल्यै सहमति गरेर आफ्नो दललाई बेवास्ता गर्ने गरेको नेपालको गुनासो थियो । ‘हाम्रो पार्टी कसैका लागि सत्ताको भर्‍याङ मात्र बन्दैन, पहिले सहमति गर्ने अनि मान्नुप¥यो भनेर प्रस्ताव ल्याउने कुरा मान्य छैन,’ नेपालको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘प्रदेशको नेतृत्व बाँडफाँट नभईकनै सरकारको स्थायित्व र विस्तार गर्न लागिएको छ, त्यो मान्य छैन, कोशी र बागमतीमध्ये एउटा नेतृत्व, सम्मानजनक संवैधानिक नियुक्तिलगायतका विषयमा लिखित रूपमै टुंगो लागेन भने हामी बागमती प्रदेशमा विश्वासको मत दिन बाध्य छैनौँ ।’ 

बागमती प्रदेशमा एकीकृत समाजवादीसहित पाँच दलले हाम्रो नेपाली पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन् । एक सय १० सिट रहेको बागमती प्रदेशमा हाम्रो नेपाली पार्टीको सहभागितासँगै बहुमत सुनिश्चित भएपछि मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै छन् ।

बैठकमा नेता नेपालको अडान— हाम्रो पार्टी कसैका लागि सत्ताको भर्‍याङ मात्र बन्दैन, पहिले सहमति गर्ने अनि मान्नुपर्‍यो भनेर प्रस्ताव ल्याउने कुरा मान्य छैन । प्रदेशको नेतृत्व बाँडफाँट नभईकनै सरकारको स्थायित्व र विस्तार गर्न लागिएको छ, त्यो मान्य छैन, कोशी र बागमतीमध्ये एउटा नेतृत्व, सम्मानजनक संवैधानिक नियुक्तिलगायतका विषयमा लिखित रूपमै टुंगो लागेन भने हामी बागमती प्रदेशमा विश्वासको मत दिन बाध्य छैनौँ ।

१२ चैतको पछिल्लो भेटमा एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्षबीच सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको थियो । तर, एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले बागमती र लुम्बिनी प्रदेशको नेतृत्व लिने र मधेशमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी अलग्गै तयारी भएको भन्दै एकीकृत समाजवादी सशंकित बनेको छ ।

नेपालको अडानसँगै एकीकृत समाजवादीको पनि नेतृत्वमा दाबीपछि छलफल नयाँ चरणमा प्रवेश गरेको छ ।  बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाल, रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । त्यस्तै, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पनि बैठकमा उपस्थित थिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले सबै विषय छलफल गरेरै टुंगो लाग्ने भन्दै सत्तासमीकरणलाई बलियो बनाएर जानुपर्ने धारणा राखेका थिए । ‘सबै विषय छलफलबाटै टुंग्याएर जान सकिन्छ, विषयवस्तुहरूमाथि छलफल गर्दै जाऔँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई यो समीकरणमा विश्वासको वातावरण सिर्जना गरी बलियो बनाउनेबाहेक अरू कुरा सोच्न सकिन्न ।’ प्रधानमन्त्रीले सोमबार बिहान बैठक बसेर अन्तिम टुंगो लगाउन प्रस्ताव गरेका छन् । बैठकमा एमाले अध्यक्ष ओली भने धेरै विषयमा मौन बसेको स्रोतले बतायो । 

माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्तारूढ शीर्ष नेताहरूबीच प्रदेशको नेतृत्वसहित शक्ति बाँडफाँटका विषयमा छलफल जारी नै रहेकाले टुंगो लागिनसकेको बताए । ‘उहाँहरूले छलफल गरिरहनुभएको छ, प्रदेशको नेतृत्वसहित सबै विषय अहिले छलफलकै क्रममा रहेकाले टुंगिसकेको अवस्था होइन,’ गुरुङले भने, ‘छलफल चलिरहेकै बुझिएकाले टुंगो लागेपछि सबै विषय बाहिर आउँछ । 

एमाले उपमहासचिव विष्णु रिमालले शीर्ष तहमा छलफल भए पनि अन्य विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘छलफल भएको हो, तर अध्यक्षसँग कुराकानी हुन नपाएकाले थप नयाँ कुरा केही पनि जानकारी छैन,’ रिमालले नयाँ पत्रिकासँग भने । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले केन्द्रमा मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा नीति तथा कार्यक्रमबाहेक अन्य विषयमा ठोस सहमति नहुँदा सरकार विस्तार र उपनिर्वाचनलगायतका विषय अल्झिएको बताए ।

एकीकृत समाजवादीले १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम २ मा एमाले उम्मेदवारलाई सघाउन बझाङ ‘ख’मा सत्तारूढ दलहरूले आफ्ना उम्मेदवारलाई सघाउनुपर्ने सर्तसमेत राख्दै आएको छ । तर, एकीकृत समाजवादीसहित समीकरणमै रहेका दलहरूमध्ये एमाले, रास्वपाले अलग–अलग उम्मेदवार टुंगो लगाएर प्रचार सुरु गरेका छन् भने माओवादी केन्द्रले बझाङमा मात्र उम्मेदवारी टुंगो लगाएको छ । 

इलाम र बझाङमा उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक 
कांग्रेसले आगामी १५ वैशाखमा इलाम २ र बझाङमा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशन गरिएको पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । कांग्रेसबाट डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम केन्द्रमा आइपुगेको छ ।

पछिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार खड्का तत्कालीन एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतको अन्तरले पराजित भएका थिए । अन्य दलको उम्मेदवार हेरेर जित्ने रणनीतिअनुसार उम्मेदवार चयनमा ढिलाइ गरिएको कांग्रेस प्रवक्ता मीन विश्वकर्माले बताए । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई इलामको वस्तुस्थिति बुझेर उम्मेदवार सिफारिस गर्ने जिम्मा दिएको छ । 

ad
ad