०४२ सालमा विवाह गरेपछि गुल्मीको मदाने गाउँपालिका– ६ का टीकाबहादुर कुँवरको पढाइ रोकियो। छोराछोरी भए, कक्षा ८ पछि पढ्ने मौका मिलेन। बाध्यताले रहर मार्नुपर्यो। तर, करिब चार दशकपछि ६२ वर्षीय कुँवर पृथ्वी माविको कक्षा ९ मा भर्ना भए। अहिले उनी नातिसँगै म्यालपोखरी माविको परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेका छन्।
कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन्। जेठा छोरा नेपाल प्रहरीमा हवल्दार छन्। दुई छोरीको बिहे भयो। कान्छो छोराले कक्षा १२ को परीक्षा दिए। चार दशकपछि टीकाबहादुर नातीसँगै कक्षा ८ मा भर्ना भए। घरमा पनि नातिसँगै गृहकार्य गर्थे।
शिक्षाविना धेरै कुरा असम्भव भएकाले पढ्न थालेको कुँवर बताउँछन्। ‘हिजो पढाइभन्दा ठूलो कुरा जीविकोपार्जन रह्यो। मसँगै पढेकाहरूले जागिर खाएर पेन्सन गरिसके,’ उनले भने, ‘उमेर ढल्केपछि पनि रहर पूरा गर्न विद्यालय भर्ना भएँ।’ आर्थिक दुरावस्थाको चेपुवामा परेका कुँवरसँग त्यसवेला बस्ने घर र खाने गाँस थिएन। आफ्नोभन्दा परिवारकै चिन्ताले पढाइ छाड्नुपरेको उनले सुनाए। किताब-कापीदेखि विद्यालयको शुल्क तिर्न विपन्न परिवारलाई ठूलो चुनौती हुन्थ्यो। आफ्ना रहर मारेर सबै सन्तानलाई पढेसम्म पढाउन सकेकोमा गर्वको महसुस गरे।
‘मेरो पालामा वस र गाँसको अभाव थियो। आफ्ना रहरभन्दा सन्तानको लागि संघर्ष गरेँ,’ उनले भने, ‘अहिले सबै अवस्था राम्रो हुँदै गएपछि पढ्न थालेँ।’ नियमित स्कुल भर्ना भएर एसइई दिन थालेका कुँवरको हिम्मत उदाहरणीय छ। बिहान बेलुका घरको काम गरेर उनी दिउँसो नियमित स्कुल जान्छन्।
सुरुमा उनलाई कक्षाकोठामा निकै खल्लो महसुस हुन्थ्यो। उमेरसँग मिल्ने साथी र विषयहरु भएनन्। आफ्नो समयमा अभाव र संघर्ष बढी भए पनि अहिलेको पुस्तामा अभाव र संघर्ष नभएको कुँवरको बुझाइ छ।
बुढेसकालमा टीकाबहादुर स्कुल जान थालेपछि पढ्न नपाएका धेरैलाई पछुतो महसुस भएको मदाने गाउँपालिका– ६ का वडा सदस्य वसन्त कुँवर बताउँछन्। कक्षामा टीकाबहादुरको उपस्थितिले विद्यालयमा अध्ययनरत बालबालिका र पढाइ छोडेकाहरूले समेत ऊर्जा प्राप्त गरेको उनको भनाइ छ।