१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
अर्थ डिजिटल संस्करण

गुम्बाको नाममा तारे होटेल : लुम्बिनीका होटेल व्यवसायी धर्नामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:o४:oo

‘गरी खान देऊ’ भन्दै लुम्बिनीका होटेल व्यवसायी लुम्बिनी विकास कोषअगाडि धर्नामा उत्रिएका छन्। लुम्बिनी परिसरभित्र खुलेका गुम्बा तथा बिहारहरूले अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए।

विभिन्न देश तथा संस्थालाई गुम्बा बनाउन एक–एकवटा प्लट दिने गरी ४२ वटा प्लट लुम्बिनी विकास कोषले बिहार निर्देशिका बनाएर बाँडेको थियो। तर, चीन, थाइल्यान्ड, कम्बोडिया, कोरियालगायत विभिन्न देशले बनाएका गुम्बाहरूले होटेल सञ्चालन गरिरहेका संघका अध्यक्ष ज्ञवालीले बताए।

बनाइसकेका गुम्बाहरूमा होटेल सञ्चालन भइरहेको र मलेसियाले पाँचतारे होटेलभन्दा बढी कोठाहरू रहेको संरचना निर्माण गरिरहेको संघका महासचिव पुरुषोत्तम अर्यालले बताए। गुम्बाहरूको अनुगमन गर्नका लागि संघले कोषलाई बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको अर्यालको भनाइ छ।

होटेल व्यवसायीहरूले बिहीबारदेखि कोषको प्रांगणमा शान्तिपूर्ण धर्नासहितका कार्यक्रम सुरु गरेका छन्। अनिश्चितकालीन धर्ना कार्यक्रम उक्त समस्या समाधान नभएसम्म जारी रहने व्यवसायीहरूको चेतावनी छ। बिहीबारबाट सुरु भएको धर्ना तीन दिन दैनिक दुई घण्टा गरिने र त्यसपछि समय बढाउँदै लगेर सात दिनपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ।

कोरोनाले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन पछिल्लो समय चलायमान बन्दै गएको छ। सोहीअनुसार विदेशीसहित स्वदेशी पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दो छ। तर, बाह्य मुलुकबाट आएका अधिकांश पर्यटकहरू गुम्बाहरूमा बस्ने हुँदा होटेलहरूले त्यो लाभ लिन पाएका छैनन्।

लुम्बिनी विकास कोष बिहार क्षेत्र, विनियमावली, २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि पाँचजना भिक्षु–भिक्षुणी र उनीहरूको सहयोगीको रूपमा थप पाँचजना गरी १० जना बस्न सक्ने व्यवस्था छ। ‘तर, गुम्बाहरूले सयौँको संख्यामा पर्यटक बसाल्ने गरेका छन्,’ संघका अध्यक्ष ज्ञवालीले भने, ‘गुम्बाहरूले व्यापारिक गतिविधि बढाएपछि होटेल व्यवसायीहरू विस्थापित भइरहेका छन्।’

गुम्बा बनाउन अनुमति दिएको कोषले होटेल तथा लज जसरी तयार पारिएको संरचना निर्माणको क्रममा अनुगमन नगर्दा अहिले समस्या भोग्नुपरेको होटेल व्यवसायीहरू बताउँछन्। लुम्बिनी क्षेत्रमा स्टार होटेलसहित ८२ वटा साना–ठूला होटेल सञ्चालनमा छन्। पर्यटकीय गतिविधिसहितका अन्य कार्यक्रम पनि सञ्चालनमा छन् । जसमा १५ अर्ब बढी लगानी रहेको छ।

तर, व्यवसाय क्रियाशील हुन नसक्दा लुम्बिनीका १० वटा होटेल पूर्ण रूपमा बन्द भएका छन्। लुम्बिनीमा भइरहेको अवैध क्रियाकलापको संसदीय समिति बनाई छानबिन हुनुपर्ने व्यवसायीहरूको माग छ।

आन्दोलनको घोषणा गर्नुपूर्व व्यवसायीहरूले कोषका पदाधिकारी तथा कर्मचारीहरूको सदबुद्धिका लागि भन्दै मायादेवी मन्दिरपरिसरमा परित्राण पाठसहित ध्यान गरी दीप प्रज्वलन गरेका थिए।

ad
ad