१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारत-चीनबीच सीमाविवाद व्यवस्थापनसम्बन्धी वार्ता सकारात्मक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२o:oo

भारत र चीनबीचको उत्तर–पश्चिमी क्षेत्रमा देखिएको सीमाविवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कूटनीतिक अधिकारीहरूबीच बेइजिङमा वार्ता भएको छ। 

भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरूबीच बुधबार बेइजिङमा २९औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ।

वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गरेका थिए भने चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेकाे विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्ण रूपमा मत्थर बनाउनेतर्फ गम्भीर विचार–विमर्श गरेका र दुई देशको सीमारेखा ‘लाइन-अफ-एक्चुअल कन्ट्रोल’ (एलएसी)का सन्दर्भमा बाँकी रहेका मुद्दाहरू सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ।

बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कूटनीतिक र सैनिक संवाद सुरु गर्न दुवै पक्ष सहमत भएकाे  भारतीय विदेश मन्त्रालयले जनाएको छ।

‘तत्कालका निम्ति दुवै पक्षले कूटनीतिक र सैनिक तहबाट निरन्तर सम्पर्क र संवाद गर्न सहमति जनाएका छन् । विद्यमान दुईपक्षीय सम्झौताबमोजिम सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमति भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। 

दुवै देशबीचको २८औँ वार्ता यसअघि गत नोभेम्बरमा सम्पन्न भएको थियो। उक्त वार्तामा दुवै पक्षले एलएसीको परिस्थितिबारे समीक्षा गर्नुका साथै एलएसीसमेत पूर्वी लद्दाखको सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था बहाल गर्नेबारेमा खुला, रचनात्मक र गम्भीर विचार–विमर्श भएको छ।

यसैबीच, भारतले अरुणाचल प्रदेशका सम्बन्धमा चीनले गरेको दाबीलाई आधारहीन तर्क भन्दै अस्वीकार गरेको छ। मार्च १९ मा सार्वजनिक भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा अरुणाचल प्रदेशका जनताले भारतीय विकास कार्यक्रम तथा पूर्वाधार परियोजनाबाट अत्यधिक लाभ लिइरहेको उल्लेख छ। 
 

ad
ad