१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

केजरिवालको पक्राउपछि भारतीय राजनीतिमा अनुत्तरित प्रश्न

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४२:oo

आम आदमी पार्टीले केजरिवाल मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने दाबी गरे पनि दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एल–जी)ले हस्तक्षेप गरेर केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउन वा सरकारको लगाम लिन्छन् ? यो हेर्न बाँकी छ ।

आम आदमी पार्टी (आप) ले पहिलेदेखि नै उसका नेता अरविन्द केजरिवाल पक्राउ पर्न सक्ने दाबी गर्दै आएको थियो । त्यो दिन अन्ततः मार्च २१ मा आयो, जतिवेला प्रवर्तन निर्देशनालय (इडी)ले केजरिवाललाई दिल्ली रक्सी घोटालामा संलग्न भएको आरोपमा पक्राउ गर्‍यो । झारखण्डका हेमन्त सोरेनपछि केजरिवाल पदमा रहँदै गिरफ्तार हुने भारतका दोस्रा मुख्यमन्त्री बने ।

संयोगवश दुवै नेताका लागि केन्द्रीय जाँच निकायको नवौँ बोलावटसमेत बेवास्ता गर्नु खतरनाक सावित भयो । केजरिवालको गिरफ्तारीपछि आम आदमी पार्टी अबेर राति सुनुवाइका लागि सर्वोच्च अदालतमा पुग्यो । तर, अदालतले उनको शीघ्र रिहाइको माग अस्वीकार गरिदियो । पार्टीले पछि आफ्नो निवेदन फिर्ता लियो र अब मुद्दा पुनः अदालतमा पुगेको छ । ‘प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पिएमएलए), २००२’ को कडा नियमअन्तर्गत अदालतबाट राहत पाउन सजिलो छैन ।

पछिल्लो घटनाक्रम आम आदमीका लागि ठूलो झट्काका रूपमा आएको छ । भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीका पूर्वउप–मुख्यमन्त्री मनीष सिसोदिया भ्रष्टाचारको मुद्दामा जेलमा छन् । भ्रष्टाचारविरुद्धको आन्दोलनबाट बनेको पार्टी आज भ्रष्टाचारका मुद्दामा आफ्नो शीर्ष नेतृत्व पक्राउ पर्नु विडम्बना हो । मुद्दाका विभिन्न कोण छन्– कानूनी, राजनीतिक र नैतिक ।

आम आदमीले भारतीय जनता पार्टी (भाजपा)लाई पार्टी समाप्त गर्न केन्द्रीय एजेन्सीहरू प्रयोग गरेको आरोप लगाएको छ । भाजपाले भने कानुनले सही दिशा लिइरहेको र आम आदमी पार्टीले मदिरा नीतिमा गरेको अवैध कामका लागि सजाय भोग्नुपरेको दाबी गरेको छ । आम आदमी पार्टीले केजरिवाललाई आगामी लोकसभा चुनावमा प्रचार गर्नबाट रोक्नका लागि यो कदम चालेको आरोप लगाउँदै गिरफ्तारीको समयमाथि प्रश्न उठाएको छ ।

उता भाजपाले भने केजरिवालले मतदाताहरूको सहानुभूति बटुल्न खोजेको आरोप लगाएको छ । यी आरोप–प्रत्यारोपबीच केजरिवालको गिरफ्तारीले केही प्रश्न अनुत्तरित छाडेका छन् । यहाँ तीमध्ये प्रमुख प्रश्नको जवाफ दिने प्रयास गरिएको छ । 

केजरिवाल पक्राउपछि मुख्यमन्त्री पद जान्छ कि रहन्छ ? 
आम आदमी पार्टीले केजरिवाल मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने दाबी गरे पनि के यो कानुनी रूपमा मान्य छ ? उनी कुनै विभागविनाको मुख्यमन्त्री हुन् । अहिलेसम्म दोषी ठहर नगरिएकाले केजरिवाललाई विधायकको रूपमा अयोग्य घोषित गर्न सकिँदैन । र, यसको अर्थ उनी मुख्यमन्त्री बन्न पनि योग्य छन् । सैद्धान्तिक रूपमा यो सही देखिन्छ । तर, मुख्यमन्त्री बनेर बस्नु नैतिक तवरले कत्तिको ठीक होला ? के दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एल–जी)ले हस्तक्षेप गरेर केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउन वा सरकारको लगाम लिन सक्छन् ? यो हेर्न बाँकी छ । गभर्नरसँग आपको राम्रो सम्बन्ध पनि छैन ।

गिरफ्तारीले आपका लागि सहानुभूति मत ल्याउन सक्छ 
यो लाखौँ डलरको प्रश्न हो । पक्राउले स्पष्ट रूपमा आम आदमीका मुख्य मतदाताबीचको समर्थनलाई सुदृढ बनाउँछ । यद्यपि, दिल्ली र पन्जाबबाहिर यो ‘फ्याक्टर’ मतदाताहरूमा धेरै प्रतिध्वनित नहुन सक्छ । आम आदमीको राष्ट्रिय महत्वाकांक्षा भएकाले गिरफ्तारीले पार्टीको विस्तार योजनामा बाधा पुर्‍याउन सक्छ, किनकि इडीको कदमले आपको ‘भिन्न पार्टीको’ छविलाई गम्भीर रूपमा ध्वस्त पार्छ ।

एउटा राज्यको रूपमा दिल्लीले विभाजित मतदान देख्छ । अर्थात् ठूलो संख्याका मतदाताले राज्यस्तरको चुनावमा आपलाई समर्थन गर्छन्, तर राष्ट्रिय चुनावमा भाजपालाई भोट दिन्छन् । यसको मतलब राजधानीमा परिवर्तित वा तटस्थ मतदाताको संख्या राम्रो छ । केजरिवालको गिरफ्तारीले यो क्षेत्रलाई कस्तो असर गर्छ ? केजरिवाललाई भाजपाले केन्द्रीय एजेन्सीमार्फत निसाना बनाएको जस्तो मतदाताहरूको एक वर्गले महसुस गरे पनि के यसले अर्को वर्षको सुरुमा हुन लागेको राज्य चुनावमा (र, आउँदो आम चुनावमा पनि) उनको फाइदाका लागि काम गर्ला ? दिल्लीको चुनाव हुन अझै दुई महिना बाँकी (मे २५) छ । के भाजपाले आपलाई अनजानमा दिल्ली राज्यलाई व्यञ्जनको रूपमा प्रस्तुत गरेको  हो ? सन् २०२५ मा पार्टीले सरकारमा पुगेको एक दशक पूरा गर्दै छ । के यसले २०२५ को विधानसभा चुनावमा केजरिवाल सरकारविरुद्धको सत्ताविरोधी शक्तिलाई तटस्थ गर्न सक्छ ?

पक्राउले विपक्षीलाई एकजुट बनाउला ?
मुख्य सहयोगीहरू चुनावअघि बाहिरिएसँगै र महाराष्ट्र र विहारजस्ता प्रमुख राज्यका लागि सिट बाँडफाँड सम्झौता अझै टुंगो नलागेकाले विपक्षीहरू अन्योलमा परेका थिए । तर, आज कंग्रेस (जसका नेताहरूले कथित मदिरा घोटालाको पर्दाफास गरेका थिए) अहिले यस मुद्दामा आपलाई दृढताका साथ समर्थन गरिरहेको छ । केजरिवालको समर्थनमा भारतका सबै शीर्ष नेता निस्किएका छन् । यो गिरफ्तारीले विपक्षी गठबन्धनका लागि एकीकरणकर्ताको रूपमा काम गरेको छ र विपक्षीलाई एउटा साझा मुद्दा दिएको छ, भाजपा प्रतिस्पर्धा रोक्न दृढ छ ।

भाजपाका लागि प्रत्युत्पादक हुन सक्छ 
जनमत सर्वेक्षणका अनुसार आम चुनाव प्रस्ट रूपमा भाजपाको पक्षमा छ । प्रायः कुनै एक पार्टी सत्तामा हुँदा त्यतिवेला उसमा अत्यधिक आत्मविश्वास हुन्छ र चेतावनी संकेतलाई बेवास्ता गर्छ । त्यस्ता कार्यले विपक्षलाई उत्तेजित गर्ने र एक प्रकारको हतियार प्रदान गर्न सक्छ । यसले भारतलाई सशक्त प्रतिपक्ष होस् भन्ने चाहने मतदातामा प्रभाव पार्न सक्छ ।

लोकसभा अभियानमा आम आदमीको तर्फबाट कसले नेतृत्व गर्ला ?
आम आदमी पार्टी केजरिवालमा धेरै निर्भर छ, किनकि उनी पार्टीका प्रख्यात प्रचारक हुन् । केजरिवाललाई जिद्दी र निरंकुश भएको आरोप लगाउँदै वर्षौंदेखि पार्टीका धेरै संस्थापक सदस्यहरूले उनीसँगको मतभेदका कारण छाडेका छन् । सिसोदिया पनि जेलमा रहेकाले पार्टीमा अपिल गर्ने धेरै नेता छैनन् । एक हदसम्म यसको भार पन्जाबका मुख्यमन्त्री भगवन्त मानमाथि पर्न सक्छ । दिल्लीमा अतिसी र सौरभ भारद्वाजले पकड राख्न सक्छन् ।

के केजरिवालको पक्राउ आपका लागि अन्त्यको बाटो हो ?
भ्रष्टाचारविरुद्धको जनआन्दोलनबाट आम आदमी पार्टीको जन्म भएको हो । एक दशकमै यसले राष्ट्रिय पार्टीको हैसियत प्राप्त गरेको छ । कंग्रेस र भाजपाबाहेक एकभन्दा बढी राज्यमा सरकार चलाउने यो एक मात्र पार्टी हो । यसले गुजरात, गोवा र हरियाणामा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ, । आपमा प्रमुख प्रतिपक्षी दलको रूपमा कंग्रेसबाट आवरण लिन सक्ने सम्भाव्यता भएको धेरैले देखेका छन् । केजरिवालको गिरफ्तारीले लोकसभा चुनावको नतिजामा कस्तो प्रभाव पार्छ भन्ने अनुमान गर्नका लागि आगामी केही दिनमा कानुनी र राजनीतिक रूपमा कसरी चिजहरू बाहिर आउँछन् भन्ने हामीले हेर्नुपर्नेछ ।

एनडिटिभीका लागि अमिताभ तिवारीको रिपोर्ट

ad
ad