Skip This
यस्तो उपचार हुँदै छ क्यान्सर देखिएकी बेलायती राजकुमारी केटको 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
पति राजकुमार विलियमका साथ राजकुमारी केट मिडलटन । तस्बिर : एजेन्सी
२o८१ जेठ १६ बुधबार १o:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

यस्तो उपचार हुँदै छ क्यान्सर देखिएकी बेलायती राजकुमारी केटको 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १o:३४:oo

हप्तौँ लामो अड्कलबाजीपछि अन्ततः ‘प्रिन्सेस अफ वेल्स’ भनेर चिनिने केट मिडलटनले आफूलाई क्यान्सर लागेको सार्वजनिक गरिन्, अकस्मात् भएको यस घोषणाले धेरैलाई स्तब्ध बनायो 

मार्च २२ मा ‘प्रिन्सेस अफ वेल्स’ केट मिडलटनले उनको स्वास्थ्यसम्बन्धी भिडियो अपडेट सार्वजनिक गरिन् । बेलायतका राजा चार्ल्सको उत्तराधिकारी हुने लाइनमा रहेका राजकुमार विलियमकी पत्नी केटको उक्त भिडियो जनवरीदेखि केटको सार्वजनिक अनुपस्थितिलाई लिएर विभिन्न अड्कल भइरहँदा सार्वजनिक भएको थियो । अकस्मात् भएको घोषणाले धेरैलाई स्तब्ध पार्‍यो । ‘जनवरीमा मेरो पेटको एक शल्यक्रिया भएको थियो । त्यस समय ममा क्यान्सर नरहेको विश्वास गरिएको थियो । शल्यक्रिया सफल रह्यो, तथापि शल्यक्रियापछि गरिएका परीक्षणमा ममा क्यान्सर रहेको पत्ता लाग्यो । मेरो चिकित्सक टोलीले निरोधात्मक किमोथेरापीको कोर्स लिनुपर्ने सल्लाह दियो । अहिले पनि उपचारको प्रारम्भिक चरणमा छु,’ केटले भिडियो सन्देशमा भनेकी छिन् । 

रोगको पहिचानले ‘ठूलो झट्का’ दिएको पनि उनले बताएकी छिन् । ‘हामीलाई परिस्थितिको गाम्भीर्य बुझ्न समय लाग्यो, तर जे भए पनि मलाई रोग लागेको कुरा बालबच्चालाई बताउनु एकदम महत्वपूर्ण थियो । हामीले समय लिएर जर्ज, चारलोट र लुइसलाई तिनले बुझ्ने भाषामा रोगबारे बतायौँ र मलाई ठीक हुन्छ भन्नेमा आश्वस्त गरायौँ,’ केटले भिडियोमा भनेकी छिन् । उनले उल्लेख गरेका तीन बालबच्चा उनी र राजकुमार विलियमका सन्तान हुन् । तीमध्ये राजकुमार जर्ज १० वर्षका भए, राजकुमारी चारलोट आठ र राजकुमार लुइस पाँच वर्षका छन् । केटले भिडियोमा उनलाई कुन प्रकारको क्यान्सर लागेको हो भनेर खुलाएकी छैनन् । र, यस कठिन घडीमा आफूहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छिन् । 

केटमा देखिएको क्यान्सर ब्रिटिस राजपरिवारमा देखिएको एकपछि अर्को स्वास्थ्य समस्याको पछिल्लो घटना हो । महारानी एलिजावेथ द्वितीयाको निधन भएको १८ महिनाभन्दा कम समयमा गत फेब्रुअरीमा राजा चार्ल्सलाई क्यान्सर देखिएको थियो । रोग देखिएपछि उनी सार्वजनिक गतिविधिबाट पछि हटेका छन् । चार्ल्सको सन्दर्भमा पनि बकिंघम राजदरबारले क्यान्सर कुन चरणको हो भन्ने खुलाएको छैन । जनवरी २१ मा राजा चार्ल्सका भाइ राजकुमार एन्ड्रयुकी पूर्वपत्नी (जो अझै शाही जिम्मेवारीमा छिन्) साराहलाई प्राणघातक मेलानोमा (छाला क्यान्सरको एक रूप) भएको पत्ता लागेको थियो । 

केटमा देखिएको क्यान्सर ब्रिटिस राजपरिवारमा देखिएको एकपछि अर्को स्वास्थ्य समस्याको पछिल्लो घटना हो । महारानी एलिजावेथ द्वितीयाको निधन भएको १८ महिनाभन्दा कम समयमा राजा चार्ल्सलाई क्यान्सर देखिएको थियो ।

केटको शल्यक्रिया र अड्कलबाजी
जनवरी १६ तारिखमा ४२ वर्षीया केटको शल्यक्रिया भएको र शल्यक्रिया पेटको भागमा भएको राजदरबारले जानकारी दियो । तथापि, सो समाचार शल्यक्रियाको भोलिपल्ट सार्वजनिक गरिएको थियो । त्यस समय राजदरबार अधिकारीले उनको स्थिति क्यान्सरजन्य नभएको बताए पनि उनको शल्यक्रिया कुन प्रकारको हो भन्ने पनि खुलाइएन । तथापि सो सूचनामा केट मार्च ३१ भन्दा अघि शाही जिम्मेवारीमा फर्कन नसक्ने जानकारी गराइएको थियो । केट जनवरी २९ मा उनी भर्ना भएको निजी अस्पताल लन्डन क्लिनिकबाट डिस्चार्ज भइन् । 

त्यही अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गराएका राजा चार्ल्स पनि सोही दिन डिस्चार्ज भएका थिए । डिस्चार्ज भएपछि लामो समय शाही परिवारका सदस्यको आमपरम्पराविपरीत केट सार्वजनिक स्थानमा देखिइनन् । त्यसपछि उनको स्वास्थ्य स्थितिबारे विभिन्न अड्कलबाजी सुरु भयो । उपचारपछि केट सार्वजनिक स्थानमा पहिलोपटक मार्च ४ मा विन्डसोरमा देखिइन् । त्यहाँ उनी आफ्नी आमा क्यारोल मिडलटनले चलाइरहेको कारको पहिलो सिटमा बसेको देखिएकी थिइन् ।

‘मदर डे’को तस्बिर विवाद
केट विन्डसोरमा देखिएपछि पनि उनी कहाँ छिन् भन्ने अड्कलबाजी रोकिएन । सामाजिक सञ्जालमा विभिन्न खालका टीकाटिप्पणीले तीव्रता पाउन थालेपछि केट र विलियमले मार्च १० मा देशको ‘मदर डे’को अवसर पारेर केट र उनका तीन सन्तानको सामूहिक फोटो सार्वजनिक गरे । तर, यस फोटोले पनि केटसँग जोडिएको हल्ला कम गर्नुको साटो बढायो । विशेषतः समाचार एजेन्सीहरूले सो फोटोमा फेरबदल (फोटोसपमार्फत) गरिएकोजस्तो देखिएको भन्दै तिनका साइटबाट हटाएपछि अड्कालबाजीले मलजल पायो । एक दिनपछि केट आफँैले फोटोमा केही सम्पादन गरिएको स्विकारिन् र त्यसका लागि माफी मागिन् । त्यसपछि उनी श्रीमान् विलियमसँगै कारमा विन्डसोर दरबारबाट बाहिरिँदै गरेको फोटो पत्रकारले देखे । 

के हो केटले लिएको निरोधात्मक किमोथेरापी ?
उसो त गैरक्यान्सरजन्य स्वास्थ्य समस्याका लागि शल्यक्रिया गर्दा क्यान्सरको पहिचान बिरलै हुने गर्छ, तथापि पश्चिमी देशमा शल्यक्रिया गर्नेमध्ये करिब चार प्रतिशत बिरामीमा क्यान्सर रहेको पत्ता लाग्छ । ‘यी चार प्रतिशत त्यस्ता बिरामी हुन्छन्, जो पित्तथैलीको पत्थरी र ओभरियन सिस्टजस्ता सामान्य ठानिएका समस्याको निदानका लागि अस्पताल भर्ना भएका हुन्छन् । तर, शल्यक्रियाका क्रममा तिनको मूल उपचार भइरहेको अंगको छेउछाउका अंगमा क्यान्सर विकास हुँदै गरेको भेटिन्छ,’ क्यालिफोर्नियाको दक्षिणी भागमा अवस्थित सिटी अफ होपका शल्यचिकित्सक युमन फोङले भने । 

केटको रोग तथा उपचार सम्बन्धमा राजदरबारले जारी गरेको वक्तव्यमा रोगको प्रकृति र उपचारबारे थप विवरण दिइएको छैन । उपचार फ्रेब्रुअरीको अन्तिमबाट सुरु भएको भन्ने जानकारी मात्र दिइएको छ । तर, क्यान्सरको उपचारको सन्दर्भमा शल्यक्रिया गरेर क्यान्सरको रूपमा बढेको भाग हटाइन्छ । त्यसपछि निरोधात्मक प्रद्धतिको रूपमा किमोथेरापी सुरु गरिन्छ । हुन त क्यान्सर शरीरको मूल उद्गमस्थलबाट अन्य अंगमा विस्तार नभइसकेको अवस्थामा शल्यक्रिया वा रेडियोथेरापीले सबै क्यान्सर हटाउन सकिन्छ । तर, क्यान्सर अरू अंगमा फैलिसकेको अवस्थामा पत्ता लागेमा चिकित्सकले क्यान्सरप्रतिरोधी औषधी (किमोथेरापी), हार्मोन अथवा इम्युनोथेरापीजस्ता उपचार सुरु गराउँछन् । 

किमोथेरापीले शल्यक्रियापछि पनि बचेका क्यान्सरका कोषलाई मारेर क्यान्सर पुनः फर्किन दिँदैन । किमोथेरापीमा प्रयोग हुने धेरै औषधीले कोषको केन्द्रमा हुने जेनेटिक सामग्री डिएनएलाई प्रभावित बनाएर क्यान्सरका कोषिकालाई विभाजन हुनबाट रोक्छ । औषधीको प्रभाकारिता बढाउनका लागि बिरामीको कोषको विभिन्न हिस्सामा आक्रमण गर्ने अलग–अलग औषधीको मिश्रण दिइने गरिन्छ । तथापि किमोथेरापीमा प्रयोग हुने औषधीले क्यान्सरको कोष मात्र पहिचान गर्न सक्दैन, शरीरको सबै कोषमा आक्रमण गर्छ । यसले मुख्यतः विभाजित कोषमाथि आक्रमण गर्छ र क्यान्सरको विभाजन दर उच्च हुने भएकाले किमोथेरापीको प्रत्येक कोर्समा तिनै कोष बढी नष्ट हुन्छन् । सामान्य कोष किमोथेरापीका दुई कोर्सबीचमा (जुन प्रायः तीनदेखि चार साताको अन्तरमा दिइन्छ) हुर्कन्छन् । 

किमोथेरापी उपचार लिने बिरामीहरूमा थकान, वाकवाकी र कहिलेकाहीँ कपाल झर्ने समस्या देखिने गर्छ । औषधीले अन्य अंगमा पनि असर गर्ने भएकाले बिरामीका हातखुट्टा चिलाउने र झमझम हुने गर्छ । त्यस्तै उपचारका क्रममा रक्त कोषिकाको उत्पादन केही समयका लागि अवरुद्ध हुन्छ, जसले गर्दा रगतमा हुने सेतो रक्त कोषिका निकै कम हुन्छ । यसले गर्दा बिरामी बाह्य संक्रमणको उच्च जोखिममा हुन्छन् । तर, पछिल्लो समय किमोथेरापीका यी साइडइफेक्ट कम गर्ने औषधी पनि आएका छन् । बिरामीमा देखिने यी साइडइफेक्ट केही सातादेखि एक दुई महिनासम्ममा घट्न थाल्छ । त्यसपछि बिरामी सामान्य दैनिकीमा फर्किन सक्छन् । 

– अलजजिराबाट 
 

ad
ad
ad
ad