१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
ग्रेग बर्टन
२o८१ जेठ २ बुधबार o९:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मस्कोको आतंककारी हमला र सम्भावित वैश्विक जोखिम 

Read Time : > 2 मिनेट
ग्रेग बर्टन
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o३:oo

मस्कोमा शुक्रबार राति भएको आतंककारी हमला निकै भयावह थियो, तर दुर्भाग्य ! यस्ता क्रूरतायुक्त हमला सुरुवाती मात्र हुन सक्छन्

शुक्रबार राति मस्कोमा रक कन्सर्ट हेरिरहेका रुसी भिडमाथि भएको नृशंस हमला एक इस्लामवादी आतंककारी हमला थियो । सो हमलामा कम्तीमा एक सय ३३ मारिएका थिए र भागदौडका क्रममा अन्य हताहती भएको अनुमान छ । इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ । हमलाको तौरतरिका इस्लामिक स्टेटका यसअघिका हमलासँग मिल्दोजुल्दो छ । यो हमला सन् २०१५ मा इस्लामिक स्टेटको शाखाका रूपमा अफगानिस्तानमा खुलेको इस्लामिक स्टेट खोरासन (आइएसआइएस–के) ले गरेको भनिएको छ । 

के हो आइएसआइएस–के ? : आइएसआइएस–के इस्लामिक स्टेटको शाखा हो, जसले सम्पूर्ण ऊर्जासाथ रुससहित युरोपमा आतंककारी हमला गर्ने प्रयास गर्दै आएको छ । आइएसआइएस–केले गत वर्ष नौ मुलुकमा २१ र त्यसको एक वर्षअघि आठ आतंककारी हमलाको योजना बनाएको थियो । सन् २०२१ अघि जब अमेरिकाले अफगानिस्तान पूर्ण रूपमा छोडेको थिएन, तब आइएसआइएस–केले अफगान स्पेसल फोर्स र अमेरिकी सेनाबाट अत्यधिक दबाब झेलिरहेको थियो । यो दबाब तालिबानकालमा पनि जारी नै छ, तथापि आइएसआइएस–के पछिल्ला वर्षयता बलियो बन्दै छ । हाल यसका हजारौँ सेनाले अफगानिस्तानका लगभग सबै ३४ प्रान्तमा कारबाही चलाइरहेका छन् । आइएसआइएस–केले मस्कोमा हमला गरेको हो भने रुस मात्रै नभई सम्पूर्ण युरोपमा थप आक्रमण हुन सक्छ भनेर तयार हुनुपर्छ । युरोपेली अधिकारीले आइएसआइएस–केका थुप्रै क्रियाशील सदस्यलाई गिरफ्तार गरेका थिए । इस्लामिक स्टेटबाट आफ्नो सामथ्र्य बढाएर अन्तर्राष्ट्रिय आतंककारी अभियान ब्युँताउने चेतावनी आइरहेका वेला शुक्रबारको हमलाले जोखिम बढाएको छ ।

यस महिनाको सुरुवातमा अमेरिकालगायत पाँच मुलुकले मस्कोमा आइएसआइएस–केको हमलाको योजना छ भन्ने गुप्तचरी सूचना साझा गरेका थिए । तर, रुसलाई बदनाम गर्ने नियत भन्दै राष्ट्रपति भ्लादमिर पुटिन र क्रेमलिनले गुप्तचरी सूचनालाई अस्वीकार गरेका थिए । सफल ‘चुनावी अभियान’पछि ६ वर्षका लागि सत्तासीन भएका तानाशाह नेता पुटिनका लागि यो हमला ठूलै झड्का हो । सम्भवतः यही कारणले होला शनिबारको टेलिभिजन सम्बोधनमा उनले हमलाका लागि युक्रेनतर्फ औँला ठड्याएका थिए । क्रेमलिनले युक्रेन वा पश्चिमलाई हमलाको दोष दिन्छ वा इस्लामिक स्टेटलाई दोषी मान्छ भने पनि रुसले हमलाको प्रतिक्रियामा विशेषतः उत्तरी ककेसस एवं अन्य क्षेत्रका मुसलमान अल्पसंख्यकमाथि हिंसात्मक कारबाही शृंखला नै चलाउनेछ ।       

किन रुसलाई तारो बनायो आइएसआइएसले ? : सामान्यतः इस्लामिक स्टेट र विशेषतः आइएसआइएस–केले लामो समयदेखि रुसमा हमला गर्ने आफ्नो उद्देश्य रहेको जनाउँदै आएको थियो । यसका पछाडि आइएसआइएस–केले अफगानिस्तानमा सन् १९८० को दशकमा रुसले गरेको सैन्य आक्रमण र रुसकै विशेषतः उत्तरी ककेससका मुसलमानमाथिको आक्रमणलाई औँल्याएका छन् । समूहले रुसले सिरियाका अत्याचारी शासक बसर अल–असदलाई पोसेका कारण हमलाको योजना बनाएको बताएको छ । मस्को सजिलो तारो भएकाले पनि उसले हमला गरेको हुन सक्छ ।     

इस्लामिक स्टेटले रुसमा सन् २०१६ देखि २०१९ सम्म कैयौँ हमला गरेको छ र सन् २०२१ देखि २०२३ सम्ममा थप हमलाको योजना बनाएको छ । युरोप र रुसमा गिरफ्तार भएका आइएसआइएस–केका लडाकु रुसी नागरिक वा रुससँग जोडिएका मध्यएसियाका नागरिक छन् । रुसमा भएको सबैभन्दा पछिल्लो ‘आतंककारी गिरफ्तारी’मा रुसी अधिकारीले मस्कोको एक यहुदी धार्मिक सभामा आक्रमण हुनबाट जोगाएको दाबी गरेका थिए । र, अघिल्लो महिना इस्लामिक स्टेटसँग सम्बन्ध भएका रुसी नागरिकलाई पोल्यान्डमा गिरफ्तार गरिएको थियो । टर्कीमा निर्माणाधीन आणविक भट्टीमा कार्यरत अर्का रुसी नागरिक पनि पक्राउ परेका थिए ।   

पछिल्ला केही वर्षयता आइएसआइएस–केका अधिकांश सफल आक्रमण अफगानिस्तानस्थित अल्पसंख्यक सिया मुसलमान हजारा समुदायमाथि भएको छ । उदाहरणका लागि अगस्ट २०२१ मा काबुल विमानस्थलमा उद्धारको कोलाहलपूर्ण प्रक्रिया चलिरहेका वेला आइएसआइएस–केले विशाल आत्मघाती हमला गरेको थियो, जहाँ एक सय ७० नागरिक र १३ अमेरिकी सेनाका अधिकारी मारिएका थिए । आइएसआइएस–केले काबुलस्थित रुसी दूतावासमा सेप्टेम्बर २०२२ मा आक्रमण गरेको थियो, जहाँ कम्तीमा ६ जना मारिएका थिए । यही जनवरीमा आइएसआइएस–केले इरानको केर्मन सहरमा जेनरल कसेम सोलेमानीको हत्याको चौथो वर्षगाँठमा आत्मघाती हमला गर्दा कम्तीमा सयजना मारिएका थिए । 

बृहत् आतंकको जोखिम : आतंककारी हमला इरान वा रुसजस्ता अत्याचारी राज्यमा हुँदा पनि सर्वसाधारण मारिन्छन्, जसको सरकारी नीतिमा कुनै हात हुँदैन । जब अधिनायकवादी सत्तामा आतंककारी हमला हुन्छन्, तब राज्यले क्रूर एवं अत्याचारी प्रतिक्रिया जनाउँछ, जसले हिंसाको दुश्चक्र निम्त्याउँछ । एक खुला समाजको आतंकवादविरोधी कारबाहीका तुलनामा अधिनायकवादी राज्यको आतंकवादविरोधी कारबाही कम जवाफदेही हुने गर्छ ।     

मस्कोमा शुक्रबार राति भएको आतंककारी हमला निकै भयावह थियो, तर दुर्भाग्य ! यस्ता क्रूर हमला सुरुवाती मात्र हुन सक्छन् । पुटिन वा क्रेमलिनले हमलाविरुद्ध जस्तोसुकै प्रतिक्रिया दिए पनि सो हमलाले इस्लामिक स्टेट वा अलकाइदाको आतंककारी जोखिम बढ्ने देखाउँछ । पश्चिमी एसिया, मध्यपूर्व र अफ्रिकामा कारबाही चलाएका यी समूह पश्चिमका लागि नवीकृत जोखिम बनेका छन् । 

अफगानिस्तानको तालिबान शासनमा आइएसआइएस–के र अलकाइदाको निरन्तरको वृद्धिले हामीलाई थप चनाखो बनाउनुपर्छ । शुक्रबारको हमलाले हामीलाई अफगानिस्तानको अवस्था सुधार गर्ने मामिलामा हात बाँधेर नबस्न चेतावनी दिएको छ । निःसन्देह समाधान सहज छैन, तर उपेक्षा गरेर केही पनि नगर्दा अवस्था भयावह मात्रै हुनेछ । 

(बर्टन वैश्विक इस्लामिक राजनीतिका विज्ञ हुन्) 
द कन्भर्सेसनबाट

ad
ad