
चितुवाको आक्रमणमा परेर वनका एक कर्मचारी घाइते भएका छन्। मंगलबार बिहान चितुवाको आक्रमणमा परेर डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी अर्जुन थापा घाइते भएका हुन्।
चार दिनअघि मात्रै कृष्णपुर नगरपालिका– १ मोतीपुरमा सिकारीको जालमा परेको चितुवाको वनको टोलीको उद्धार गरेको थियो। उद्धार गरेको चितुवा डिभिजन वन कार्यालय महेन्द्रनगर कार्यालयमै राखिएको थियो।
सिकारीको जालमा परेर घाइते भएको चितुवाको उद्धार गरेर डिभिजन वन कार्यालयमा राखिएको चितुवा वनमा छाड्न खोज्ने क्रममा घाइते भएका हुन्। घाइते डिभिजन वन कार्यालयका जमदार थापा चितुवाले नंग्रा प्रहारबाट घाइते भएका छन्। उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ।
‘आज बिहान निकुञ्जको टोलीले चितुवालाई उद्धारका लागि डाट हानेको थियो,’ उनले भने, ‘मैले बेहोस चितुवा सोचेर उद्धार गर्न खोज्दा आक्रमण गरिदियो।’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले वनमा छाड्ने क्रममा चितुवाको आक्रमणमा परेर घाइते भएका कर्मचारीको उपचार भइरहेको बताए। ‘हामीले चितुवालाई लालझाडी मोहना संरक्षित वनका छाेडेका छौँ,’ उनले भने, ‘घाइते कर्मचारीको पनि उपचार भइरहेको छ।’