१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १२ सोमबार ०६:०८:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : निभेको मैनबत्ती

Read Time : < 1 मिनेट
२०८० चैत १२ सोमबार ०६:०८:००

एक पिता आफ्नी चार वर्षकी छोरी मुनालाई असाध्यै माया गर्थे । कार्यालयबाट फर्किंदा उनी मुनाका लागि अनेक प्रकारका खेलौना र मीठामीठा खानेकुरा ल्याउने गर्थे । मुना पनि आफ्नो तोतेबोलीमा बाबा–बाबा गर्दै पिताकै वरिपरि घुमिरहन्थिन् । एक दिन अचानक मुनालाई कडा ज्वरो आयो । उनलाई हतारहतार चिकित्सककहाँ लगियो । तर, चिकित्सकहाँ पुग्नुअगावै मुनाको मृत्यु भयो । यस घटनाले सिंगो परिवार शोकमा डुब्यो ।

पिताको अवस्था त मृत व्यक्तिसमान नै भयो । मुनाको मृत्युपछि उनी कसैसँग बोल्दैनथे । खान पनि मन गर्दैनथे । जतिखेर पनि छोरीलाई सम्झेर रोइरहन्थे । उनले कार्यालय जान पनि छाडिदिए । उनले घरबाट बाहिर निस्कनै बन्द गरे । आफन्त र छरछिमेकीले उनलाई सम्झाउन निकै जोडबल लगाएर । तर, उनी जतिखेर पनि मुना, मुना भनेर रोइ मात्र रहन्थे । एक रात मुनालाई सम्झेर आँसु बगाउँदा–बगाउँदै उनी भुसुक्क निदाए ।

निद्रामा उनले एउटा सपना देखे । सपनामा उनले स्वर्गमा सयौँ बालिका परी बनेर घुमिरहेका देखे । सबैले सफा सेतो पहिरन लगाएका थिए । सबैका हातमा बलेको मैनबत्ती थियो । उनले मुनालाई पनि त्यही भिडमा देखे । उनले छोरीलाई सम्बोधन गर्दै भने– प्यारी छोरी मुना, सबै परीको हातको मैनबत्ती बलिरहेको छ । तर, तिम्रो त निभेको छ नि ! तिमी यसलाई किन पुनः सल्काउँदिनौ ? पितातिर हेर्दै मुनाले भनिन्– बाबा, म पटक–पटक यसलाई सल्काउँदा–सल्काउँदै दिक्क भइसकेँ । 

म जब–जब मैनबत्ती सल्काउँछु, तब–तब तपाईं यति धेरै रुनुहुन्छ कि तपाईंको आँसुले यो मैनबत्ती निभिहाल्छ । अब तपाईं नै भन्नुहोस् त म के गरुँ बाबा ? यो संवाद चल्दाचल्दै उनको निद्रा खुल्यो । सपनाको दृश्य सम्झिँदा उनलाई आफ्नो गल्तीको महसुस भयो । उनले आफू दुःखी हुन्जेल छोरी पनि खुसी हुन सक्दिनन् भन्ने बुझे । अनि, उनी पुनः सामान्य जीवन जिउन थाले ।