१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ जेठ २ बुधबार o८:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

‘सरकारले बैंक खाता रोक्का गरेपछि चुनाव प्रचारका लागि पैसाको अभाव’

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१३:oo

 सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेपछि आगामी महिना सुरु हुने आमचुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेससँग पैसा नभएको यसका नेताले बताएका छन् । कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रुअरीमा पार्टीका धेरै बैंक खाता रोक्का गरिएको थियो ।

‘हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ,’ स्वतन्त्रतापछि दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका नेहरू–गान्धी परिवारका सदस्य तथा कंग्रेस नेता राहुल गान्धीले भने । त्रिपन्न वर्षीय गान्धीले भने, ‘हामीसँग प्रचारका लागि पैसा छैन । हामी हाम्रा उम्मेदवारलाई सहयोग गर्न सक्ने स्थितिमा समेत छैनौँ । सरकारको नीतिका कारण चुनाव लड्ने हाम्रो क्षमतामा क्षति पुगेको छ ।’ प्रधानमन्त्री नरेन्द्र मोदीले उनको दललाई चुनौती दिन सक्ने दलविरुद्ध कर विभाग प्रयोग गरेको गान्धीले आरोप लगाए । 

‘गत हप्ता हामीलाई कर अधिकारीबाट सन् १९९५ देखि सन् १९९६ सम्मको ‘फाइलिङ’को अर्को सूचना प्राप्त भएको छ,’ गान्धीले नयाँ दिल्लीमा पत्रकार भेटघाटमा भने । ‘हामीसँग प्रचार सामग्री छाप्ने पैसासमेत छैन,’ उनले थपे । कंग्रेसकी पूर्वअध्यक्ष तथा राहुलकी आमा ७७ वर्षीया सोनिया गान्धीले पार्टीलाई पंगु बनाउने प्रणालीगत प्रयासको हिस्साका रूपमा कर जरिवाना प्रयोग गरिएको बताइन् ।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि आर्थिक अभावका कारण चुनावअघि कंग्रेस ‘असहाय’ भएको बताए । निर्वाचन आयोगलाई दिइएको पछिल्लो आधिकारिक वित्तीय विवरणअनुसार भाजपाको कोष कंग्रेसको भन्दा करिब १० गुणा बढी छ । सन् २०१७ मा मोदी सरकारले ‘इलेक्टोरल बन्ड’ लागू गरेपछि यो खाडल नाटकीय रूपमा फराकिलो भएको थियो । गत महिना सर्वोच्च अदालतले यो योजनालाई असंवैधानिक ठहर गर्दै दाता र प्राप्तकर्ताको विवरण सार्वजनिक गर्न भनेको थियो ।

ad
ad