Skip This
खेलमा प्रतिबन्धित औषधिबारे खेलाडीलाई पढाउँदै मन्त्रालय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ८ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o चैत ८ बिहीबार १७:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खेलमा प्रतिबन्धित औषधिबारे खेलाडीलाई पढाउँदै मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ८ बिहीबार १७:२२:oo

युवा तथा खेलकुद मन्त्रालयले गुल्मीका खेलाडीहरूलाई खेलकुदमा प्रतिबन्धित औषधि सेवन निरुत्साहित गर्न अभिमुखीकरण गरेको छ। जानेर वा नजानेर खेलाडीहरूले प्रतिबन्धित औषधि सेवन गर्दा व्यक्ति र देशलाई हुने क्षति न्यूनीकरण गर्न अभिमुखीकरण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको आयोजना तथा जिल्ला खेलकुद विकास समिति गुल्मीको समन्वयमा फुटबल, भलिबल, क्रिकेट, बक्सिङ र तेक्वान्दोलगायत खेलका खेलाडी, प्रशिक्षक, खेल शिक्षक र क्लबका पदाधिकारी गरेर ४० जनालाई अभिमुखीकरण गरिएको मन्त्रालयका उपसचिव शान्तिबहादुर बस्नेतले बताए।

कार्यक्रम मन्त्रालयले सातै प्रदेशमा गरेको छ। यो कार्यक्रम लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीमा गरिएको हो। कार्यक्रममा डा. असिम भण्डारीले खेलकुदमा प्रतिबन्धित औषधिका बारेमा प्रशिक्षण दिएका थिए। यसैगरी, मन्त्रालयका सचिव रविलाल पन्थले भौतिक पूर्वाधारसँगै सचेतना ठूलो कुरा भएकाले मन्त्रालयले यो कार्यक्रम सातै प्रदेशमा गरेको बताए। उनले खेल र खेलाडी समग्र देशको पहिचान भएकाले खेलाडीको सानो अज्ञानताले व्यक्ति, खेल क्षेत्र र राष्ट्रकै प्रतिष्ठामा पुग्ने क्षति न्यूनीकरण नै आफूहरूको उद्देश्य रहेको बताए। 

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले खेल स्वस्थ्य र अनुशासित रहन अति आवश्यक भएको उल्लेख गर्दै समय सान्दर्भिक कार्यक्रमका लागि मन्त्रालयलाई धन्यवाद दिए। खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले अहिले विद्यालयमा परीक्षा चलेका कारण कार्यक्रम व्यापक गराउन नसके पनि अति आवश्यक कार्यक्रम भएको बताए।

तेक्वान्दो खेलका प्रशिक्षक दीपक जिसीले यो विषय विद्यालय तहमै विद्यार्थी र खेलाडीलाई पढाउन जरुरी रहेको औँल्याए। उनले विद्यालयस्तरबाटै खेल र खेलाडी जन्मिने भएकाले तल्लो तहबाटै खेलकुदमा प्रतिबन्धित औषधिका बारेमा जानकारी दिन आवश्यक रहेको बताए।