१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बोर्डले बुझायो पुँजी बजार सुधारसहितको कार्ययोजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३७:oo

नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारसहितको कार्ययोजना अर्थ मन्त्रालयमा पेस गरेको छ । आइतबार धितोपत्र बोर्डको सञ्चालक समितिबाट निर्णय भएको कार्ययोजना अर्थ मन्त्रालयमा बुझाइएको हो । अर्थमन्त्री पुनले गत २७ फागुनमा पुँजी बजारमा देखिएको समस्या समाधान र त्यस क्षेत्रको विकास विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरूको सम्बन्धमा सम्बन्धित तीनवटै निकाय बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएसी एन्ड क्लियरिङलाई निर्देशन दिएको थियो ।

बोर्डले सरोकारवालासँग छलफल गरेर प्राप्त सुझावलाई दस्ताबेज गरी बुझाएको हो । बोर्ड स्रोतका अनुसार पाँचवटा बुँदालाई मुख्य प्राथमिकताका साथ उठाइएको छ । ब्रोकर कमिसन घटाउनुपर्ने, एसएमई प्लेटफर्म लागू गर्नुपर्ने, नयाँ स्टक एक्सचेन्जलाई प्रक्रियागत अघि बढाउनुपर्ने, सेयर धितो सीमा कर्जा हटाउनुपर्ने, संस्थागत लगानीकर्तालाई लगानीको वातावरण बनाउनुपर्ने रहेका छन् । बजारलाई प्रभावित पार्ने खालका सूचना फैलाउनेलाई कारबाही गर्ने, लगानीकर्तालाई सूचनाको पहुँच पुर्‍याउनका लागि छुट्टै सूचना प्लेटफर्मको व्यवस्था गर्ने, आवश्यक कानुनी र कमिकमजोरीलाई सच्याउने गरी बोर्डले बुझाएको छ । 

धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउनका लागि अध्ययन समिति बनाएको थियो । तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा अध्ययन भएको थियो । उक्त अध्ययन समितिले ब्रोकर कमिसन घटाउन सकिने आधार दिएको थियो । ब्रोकरहरूले पनि ब्रोकर कमिसन घटाउन बोर्डमा आवाज उठाउँदै आएका छन् । 

बुक बिल्डिङमार्फत आइपिओ ल्याएको सर्वोत्तम नेप्सेमा सूचीकृत 
 पहिलोपटक बुक बिल्डिङ विधिमार्फत सार्वजनिक सेयर निष्कासन (आइपिओ) गरेको सर्वोत्तम सिमेन्टले अन्य कम्पनीसरह नै पहिलो कारोबारका लागि ओपनिङ रेन्ज पाएको छ । कम्पनीको सेयर सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेले अन्य कम्पनीसरह नै यसको ओपनिङ रेन्ज तोकेको हो । 

मंगलबार हुने पहिलो कारोबारका लागि न्यूनतम १८५.३६ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ । मंगलबार प्रि–ओपनिङ सेसनमा सोही रेन्जमा कम्पनीको पहिलो सेयर कारोबार हुन सक्नेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थबराबरको मूल्यदेखि त्यसको तीन गुणासम्म रेन्ज राखेर ओपनिङ रेन्ज तोक्ने अभ्यास छ । हाल कम्पनीको नेटवर्थ १८५.३६ रुपैयाँ छ, सोही आधारमा कम्पनीको पहिलो सेयर कारोबारका लागि ओपनिङ रेन्ज तोकिएको नेप्सेले बताएको छ ।  

बुक बिल्डिङ विधिमार्फत आएको सेयरलाई पहिलो ओपनिङ कारोबार कति दिने भन्ने विषयमा पहिला अन्योल थियो । त्यसपछि नेप्सेको सञ्चालक समितिले अन्य कम्पनीहरूले पाउँदै आएको नियमअनुसार नै पहिलो कारोबारी मूल्य पाउने निर्णय गरेको थियो । त्यसपछि सोहीअनुसार यसको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज तोकिएको हो । सर्वोत्तम सिमेन्टको ओपनिङ कारोबारी मूल्यको विषयमा सञ्चालक समितिमै मतभेद देखिएको थियो । अन्य कम्पनी र बुक बिल्डिङ विधिबाट आएका कम्पनीको पहिलो कारोबारी मूल्य फरक–फरक बनाउनुपर्ने पनि धारणा आएको थियो । आगामी दिनमा यसका लागि कार्यविधि बनाएर जानुपर्ने सञ्चालक समितिको निष्कर्ष छ ।

ad
ad