Skip This
जनशक्ति अभावमा वीरका तीन सय शय्या खाली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o चैत ६ मंगलबार o७:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनशक्ति अभावमा वीरका तीन सय शय्या खाली

सहज सेवाका लागि २५० नर्स र १० एनेस्थेसियोलोजिस्ट आवश्यक

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार o७:५२:oo

करिब तीन महिनाअघि वीर अस्पतालका तीन सय कर्मचारी, स्वास्थ्यकर्मी हटाइएसँगै चरम जनशक्ति अभाव झेलिरहेको छ । जनशक्ति अभावकै कारण अस्पतालले कुल नौ सय ५० मध्ये ६ सय ५० शय्या मात्रै सञ्चालन गरिरहेको छ । बिरामी आए पनि जनशक्ति अभावमा तीन सय शय्या खाली छाड्नुपरेको अस्पतालले जनाएको छ ।

देशकै जेठो वीर अस्पतालमा स्वास्थ्य परीक्षण र अप्रेसन गर्नुपर्ने बिरामीको सधैँ भिडभाड हुन्छ । नियमित स्वास्थ्य परीक्षण जसोतसो धानिरहे पनि जनशक्ति नहुँदा अप्रेसन सेवा भने प्रभावित बनेको छ । दैनिक ९० वटासम्म अप्रेसन गर्ने बिरामी हुने गरे पनि जम्मा ४० जनाको मात्रै गर्ने गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । उनले भने, ‘वीरलाई फुलफेजमा सञ्चालन गर्न जनशक्तिको मुख्य खाँचो छ ।

एकैपटक तीन सयभन्दा बढी जनशक्ति हटाउँदा त्यति नै संख्यामा शय्या बन्द गर्नुपर्ने अवस्था छ । यदि स्वास्थ्य मन्त्रालयले जनशक्ति र बजेटको व्यवस्था गरिदियो भने सबै सेवा सहज हुन्छ ।’ वीर अस्पतालमा हाल १७ जना एनेस्थेसियोलोजिस्ट र करिब चार सय नर्स छन् । तर, बिरामीको संख्या हेर्दा यो जनशक्ति निकै कम हो । अस्पताललाई अझै दुई सय ५० जना नर्सको खाँचो रहेको उनको भनाइ छ । डा. पौडेलका अनुसार वीरमा अहिले सबैभन्दा बढी अभाव नर्स र एनेस्थेसियोलोजिस्टको छ । वीरमा अप्रेसन गर्न आएका बिरामी नफर्काउने गरी सेवा दिने हो भने १० जना एनेस्थेसियोलोजिस्ट (बेहोस गराउने डाक्टर) र दुई सय ५० जना नर्स थप्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

डा. सन्तोष पौडेल, निर्देशक, वीर अस्पताल
वीरलाई फुलफेजमा सञ्चालन गर्न जनशक्तिको मुख्य खाँचो छ । एकैपटक तीन सयभन्दा बढी जनशक्ति हटाउँदा त्यति नै संख्यामा शड्ढया खाली भएका छन् । स्वास्थ्य मन्त्रालयले जनशक्ति र बजेटको व्यवस्था नगरिदिएसम्म सबै सेवा सहज हुने अवस्था छैन ।

डा. पौडेलका अनुसार सर्जरीका बिरामीले महिनौँसम्म पालो कुर्नुपर्ने अवस्था छ । यसको अन्त्यका लागि तत्काल जनशक्ति र बजेट उपलब्ध गराउनुपर्छ । त्यसो त नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पताललाई सर्जरी सेवा बढाउन निर्देशन दिएका छन् । तर, आवश्यक जनशक्ति परिपूर्ति र बजेट वृद्धिबारे भने उनले कुनै प्रतिबद्धता जनाएका छैनन् । यी दुई अवस्थाको सुधार नगरी अस्पतालको सेवा बढाउन कठिन हुने अस्पतालको भनाइ छ ।

 युरोलोजी र न्युरो अप्रेसनका बिरामी धेरै
वीर अस्पतालको युरोलोजी र न्युरो डिपार्टमेन्टअन्तर्गत हुने अप्रेसनका बिरामीको चाप तुलनात्मक रूपमा धेरै छ । युरोलोजी र न्युरोलोजीसम्बन्धी सामान्य तथा गम्भीर गरी दैनिक कम्तीमा ५० जना बिरामीका अप्रेसनका लागि अस्पताल आउँछन् । जनशक्ति अभावकै कारण अस्पतालले गम्भीरता हेरेर अप्रेसन गर्ने गरेको छ ।

प्राथमिकतामा नपरेका बिरामीले पालो कुरेर बस्नुपर्ने बाध्यता छ । ‘युरोलोजी र न्युरोमा बिरामीको संख्या धेरै हुन्छ, अप्रेसन गर्नुपर्ने बिरामी पनि धेरै हुन्छन्, तर जनशक्ति अभावमा पूर्ण सेवा प्रवाह गर्न सकिरहेका छैनौँ,’ डा. पौडेलले भने, ‘गम्भीर र तत्काल अप्रेसन गरिहाल्नुपर्ने बिरामी छन् भने प्राथमिकता दिन्छौँ ।’ यद्यपि, युरोलोजी र न्युरोसम्बन्धी बिरामीले रुटिनअनुसार सर्जरीको पालो नपाउने गरेको गुनासो गर्दै आएका छन् । 

डा. पौडेलका अनुसार नाक, कान र घाँटीसम्बन्धी सर्जरी भने अलि चाँडै हुने गरेको छ । युरोलोजीले सातामा तीन दिन र न्युरोलोजीले सातामा चार दिन अप्रेसन गर्दै आइरहेको छ । यस्तै, अन्य रोगसँग सम्बन्धित युनिटहरूले पनि पालोअनुसार सर्जरी गर्ने गरेका छन् ।

युरोलोजी र न्युरोपछि सबैभन्दा धेरै पालो कुर्नुपर्ने विभाग अर्थोपेडिक हो । जनशक्ति अभावका कारण अर्थोपेडिक सर्जरीका बिरामीले अझ धेरै समय पालो कुर्नुपर्ने बाध्यता रहेको डा. पौडेलले बताए । यसबारे स्वास्थ्य मन्त्रालयले चासो दिनुपर्ने उनी बताउँछन् । यदि नर्स र एनेस्थेयिोलोजिस्टको व्यवस्था गर्न सके मात्रै पनि उपचार सेवा निकै सहज पार्न सकिने निर्देशक पौडेलको भनाइ छ । तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका पालामा वीरका तीन सयभन्दा बडी स्वास्थ्यकर्मीको करार थपिएको थिएन । वीरमा अहिले स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी १८ सयजना छन् । यसमध्ये करिब सात सय ५० स्वास्थ्यकर्मी छन् भने अन्य सफाइ, सुरक्षागार्ड, प्रशासन, हेल्परलगायत छन् । 

भिभिआइपी र भिआइपी कक्ष दुई महिनादेखि खाली 
वीर अस्पतालमा भिभिआइपी र भिआइपीको उपचारका लागि बनाइएका शय्या दुई महिनादेखि खाली छन् । अस्पतालका निर्देशक डा. पौडेलका अनुसार दुई महिनायता कोही पनि उपचार गराउन आएका छैनन् । यस्तै अन्य अस्पतालमा उपचार गराउनका लागि भिभिआइपी तथा भिआइपीले वीरसँग अनुमति पनि लिएका छैनन् ।

‘दुई महिनायता वीरमा कोही पनि भिभिआइपी तथा भिआइपी उपचारका लागि आउनुभएको छैन,’ उनले भने, ‘अन्य अस्पतालमा उपचार गराउँछु भनेर पनि अनुरोध आएको छैन, सरकारी अस्पतालमा व्यवस्थित उपचार सेवा हुँदाहुँदै अन्त जानुचाहिँ जायज मानिँदैन ।’ 

वीर अस्पतालले पाँचवटा शड्ढया भिआइपी तथा भिभिआइपीका लागि छुट्याएको छ । भिभिआइपी र भिआइपी उपचार कक्षमा आउने व्यक्तिको सुरक्षा गार्ड र आफन्त बस्ने छुट्टै कोठाको व्यवस्था छ भने बैठक कक्ष पनि छ । सो कक्षमा नर्सिङ वार्ड पनि छ । यस्तै, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले वीर अस्पतालमा भिजिटिङ प्रोफेसर रूपमा काम गरिरहेका छन् ।

यसबाहेक अन्य अनुभवी र वरिष्ठ चिकित्सकहरू भिआइपी तथा भिभिआइपी बिरामीको उपचारका लागि तोकिएका छन् । स्वास्थ्य मन्त्रालयले गत साउनमैै यससम्बन्धी गाइडलाइन तयार पारेर भिआइपी तथा भिभिआइपी उपचार सेवा सहज पारेको थियो । यदि कुनै भिआइपी वा भिभिआइपी अन्यन्त्रै उपचारका लागि जानुपरेमा पनि वीर अस्पतालसँग अनुमति लिनुपर्ने व्यवस्था पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।