१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
समाचार डिजिटल संस्करण

एमाले कञ्चनपुरको सम्मेलन : चुनावको माग गर्दै पार्टी कार्यालयमा धर्ना

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:३२:oo

नेकपा एमाले कञ्चनपुरको नवाैँ जिल्ला सम्मेलनमा बबन्डर मच्चिएको छ। अधिवेशन सुरु भएको पाँचौँ दिनसम्म पनि चुनाव हुन नसकेको भन्दै केही कार्यकर्ता धर्नामा बसेका छन्।

पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नारदमुनि राना अध्यक्ष रहेको कमिटीले आफूअनुकूलका नेता–कार्यकर्तालाई पदाधिकारी बनाएर जिल्ला कमिटी घोषणा गर्न लागेको भन्दै उनीहरू धर्नामा बसेका हुन्।

पुनर्वास एमाले नेतृ शान्तिकुमारी तामाङले चार दिनसम्म रोकेर अन्तिममा केही नेताको स्वार्थमा चुनाव स्थगित गराउन लागेको भन्दै बाध्य भएर धर्नामा बसेको बताइन्। ‘हाम्रो माग चुनाव हो, टीका लगाएर कसैलाई हामीले नेता मान्दैनौँ,’ उनले भनिन्, ‘सहमति गर्ने भए हामी प्रतिनिधिलाई यत्तिका दिनसम्म किन कुराएर राखेको ?’

माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने नेतृ तामाङको चेतावनी छ। पार्टीका लागि रातदिन खटिने नेता–कार्यकर्ताको भावना लत्याउँदै आफूनिकट अनुकूल नेताहरूलाई मात्रै समेट्न खोजिएको भन्दै उनले लोकतान्त्रिक विधिबाट चुनाव गराउनुपर्ने बताइन्।

यसअघि सोमबार बिहानै सचिवका उम्मेदवार कर्णबहादुर चन्दले पार्टी कार्यालय र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा यता अध्यक्षमण्डलले पदाधिकारीसहित जिल्ला सदस्य घोषणाको तयारी गरिरहेको छ।

एमाले कञ्चनपुर नवाैँ जिल्ला अधिवेशनका लागि चार सय ६४ जना प्रतिनिधि छनाेट भएका थिए।

ad
ad