१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अर्थतन्त्र शिथिल छ, तर संकटमा छैन : अर्थमन्त्री पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:o२:oo

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि संकटको अवस्थामा भने नपुगेको बताएका छन्। नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्र संकटबाहिर रहेको दाबी गरेका हुन्। 

नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ। यद्यपि, सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी  रहेको उनले स्विकारे। मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उनको भनाइ छ।
       
‘एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति हामीसँग छ । विप्रेषण आप्रवाह राम्रो छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब बिस्तारै लगानी पनि बढ्छ,’ अर्थमन्त्री पुनले भने।

उनका अनुसार बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा केही समयअघि नेपालको अर्थतन्त्रलाई श्रीलंकाको जस्तै धराशायी हुन लागेको भनेर आलोचना भइरहेकामा अहिले बाह्य क्षेत्र निकै मजबुद बनेको छ।। 

सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पुर्‍याउने अर्थमन्त्री पुनको भनाइ छ । सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उनले विश्वास दिलाए। 

विगतमा अर्थतन्त्रमा देखिएका संकुचनका कारण लिइएका कडा नीतिलाई बिस्तारै खुकुलो बनाउँदै लगिने धारणा अर्थमन्त्री पुनले राखे। यसबारे विषयगत मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको उहाँले जानकारी दिए। 

सेवा प्रवाहमा सहजताका लागि सबै पक्ष र निकाय जवाफदेही हुनुपर्नेमा मन्त्री पुनले जोड दिए। नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले निर्देशन दिए। 

कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उनको भनाइ छ।
       
 

ad
ad