१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखराका पर्यटन व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई आठ माग      

पर्यटन विकास र प्रवर्द्धनमा साथ र सहयोग सधैँ रहन्छ : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o४:oo

पोखराका पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आठवटा माग समेटिएको पत्र बुझाएका छन् । पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को अगुवाइमा आइतबार प्रधानमन्त्रीलाई व्यवसायीले मागपत्र हस्तान्तरण गरे। पर्यटन व्यवसायीको तर्फबाट परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्रधानमन्त्रीलाई मागपत्र बुझाएका थिए ।

पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गर्नका लागि आएका प्रधानमन्त्रीलाई व्यवसायीले छिमेकी देशको राजकीय भ्रमणका दौरानमा विगतमा राखेका मागका सन्दर्भमा देखाएको प्राथमिकता र सदासयतालाई उच्च सम्मानसहित हार्दिकतासमेत प्रकट गरे । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको, पर्यटन व्यवसायले गएका केही वर्षदेखि एकपछि अर्को संकटको सामना गर्नुपर्दा समग्र अर्थतन्त्रमा शिथिलता पैदा हुँदा समग्र निजी क्षेत्र, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना संकटमा पर्न थालेको, व्यवसाय ओरालो लागेसँगै बैंक तथा वित्तीय संस्थामा पनि संकट देखिन थालेको, जति व्यवसाय घट्यो, बैंक सशंकित हुन थालेका र व्यवसायीलाई दिएको ताकेताले मनोवैज्ञानिक असर देखिएको जसकाे कारण लगानी संकटमा रहेको, रोजगारी दिनानुदिन घट्दो अवस्थामा रहेकोले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा चाहिएको व्यवसायीको माग छ ।        

६ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन बाेर्डमा प्रतिनिधित्व नरहेको, देशकै पर्यटकीय राजधानीको घोषणासँगै मुलुकको कार्यकारी प्रमुखका हैसियतबाट प्रधानमन्त्रीले लिने नीति, दिने निर्देशन र गर्ने कामबाट पोखराले पर्यटकीय राजधानीको रूपमा जीवन र व्यवसायीले नवीनतम ऊर्जा पाउन सक्दछन् भन्ने विश्वाससँगै व्यवसायीहरूले आउँदा दिनमा आर्थिक गतिविधि चलायमान बनाउन, मौजुदा अवस्थामा व्यवसायीले सामना गर्नुपरेको चुनौतीको सम्बोधन हुने आशा प्रधानमन्त्रीसमक्ष राखेका थिए । 

पर्यटन विकास र प्रवर्द्धनमा साथ र सहयोग सधैँ रहन्छ :  प्रधानमन्त्री

व्यवसायीको मागपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले पोखरासँगै यस क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनमा आफ्नाे साथ र सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीहरूको समस्याको सम्बन्धमा आफू जानकार रहेकाले यसको समाधानका लागि समेत आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न आफूले पहल गरिरहेको जानकारी दिँदै भारत र चीनबाट पोखरामा सीधै उडान सुरु गर्न आफूले कुरा गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

व्यवसायीलाई निराश नभई अघि बढ्न प्रधानमन्त्रीले हौसलासमेत दिएका थिए । निर्माणाधीन पोखरा-मुग्लिङ सडकखण्डको निर्माणकार्यको सम्बन्धमा आफू जानकार रहेको र निर्माण कार्य छिटो सम्पन्न गर्न र कामको रफ्तार बढाउन आफूले निर्देशन दिएको उल्लेख गरे । 

ad
ad