१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तस्बिर साैजन्य : इलाका प्रहरी कार्यालय चिसापानी
समाचार डिजिटल संस्करण

आगलागीबाट क्षति भएपछि कर्णाली पुलमा आवतजावत बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २१:४८:oo

गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा क्षति पुगेपछि कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । 

वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७ नम्बरको ट्रकमा आगालागी भएको हो । कर्णाली पुलमाथि गुडिरहेका वेला एक्कासि ट्रकमा आगलागी हुँदा पुलका लट्ठामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पुलको दुवैतिरका गरी करिब १४ वटा लट्ठामा सामान्य क्षति पुगेको चिसापानी प्रहरीले जनाएको छ । लट्ठाको बाहिरी भागको प्लास्टिक जलेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

आगलागीबाट ट्रक र त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको उनले बताए । आगलागी भएपछि पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको छ । 

आगलागीले क्षतिग्रस्त ट्रक र सामान हटाउने काम भइरहेको छ । लम्कीबाट गएको दमकलको सहयोगबाट आगलागी नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले पुलका लट्ठाको बाहिरी भागको प्लास्टिक जलेको र आगलागी भएको ट्रक पनि पुलमै रहेकाले पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको बताए । 

प्रहरीका अनुसार त्यहाँबाट ओहोरदोहोर गर्ने यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोबाट ‘डाइभर्ट’ गरिएको छ । 

सडक डिभिजनको प्राविधिक टोलीले निरीक्षण गरेपछि पुलमा यातायात सुचारु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

‘लट्ठामा सामान्य क्षति पुगेको देखिएको छ, कति क्षति भयो, मालबाहक साधन चलाउन मिल्ने-नमिल्ने प्राविधिकले परीक्षण गरेपछि थाहा होला,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने । 

आगलागीबाट ट्रक भने पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । 

ad
ad