१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गुल्मीको मुसिकोट नगरपालिका– ३ र ७ जोड्ने झेँदी पुल ।
२o८१ बैशाख २१ शुक्रबार o९:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुईपटक भत्किएको झेँदी पुल डिजाइन परिवर्तन गरेर बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१९:oo

दुईपटक ढलान गरेपछि भत्किएको झेँदी पुल तेस्रोपटक निर्माण भइरहेको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेँदी पुलको डिजाइन नै परिवर्तन गरी स्टिलको ट्रस ब्रिज निर्माण भइरहेको हो । स्विस सरकारको चार करोड १४ लाख ४४ हजार सात सय २२ रुपैयाँको आर्थिक सहयोगमा जलप कन्स्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको छ । पुल निर्माणको सम्झौता १९ वैशाख ०७९ मा भएको योजना कार्यान्वयन गरिरहेको मोटरयोग्य सडक–पुल कार्यक्रम ललितपुरका टेक्निकल अफिसर धीराजा पौडेलले जानकारी दिए । पुल आगामी असार मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढाएकाले समयमै काम सम्पन्न हुने पौडेलले बताए । सम्झौता भएपछि पनि डिजाइन संशोधन गर्नुपर्ने अवस्था आएकाले काम केही समय रोकिन पुगेको उनको भनाइ छ । उनले भने, ‘हामी निकै गम्भीर छौँ । दुई–दुईपटक भत्किएकाले सर्वपक्षीय चासो उत्तिकै छ ।’ ठूलै विपत्तिबाहेक नबन्नुपर्ने कुनै कारण नभएको र अहिले फाउन्डेसन निर्माणसहित स्टिल पार्टहरूमा प्वाल पार्ने, जोड्ने र आकारहरू निर्माणका काम भइरहेको उनले बताए । 

आफूहरूले गत वर्ष नै काम सक्ने भए पनि डिजाइन संशोधन हुँदा समस्या भएको पौडेलले बताए । ‘दैनिक ३०–४० जनाले काम गरिरहेका छन् । काम समयमै बुझाउने गरेर सबै सामग्री फिल्डमा पनि झरे,’ उनले भने, ‘अहिले ट्रसको काम गरिरहेका छौँ ।’ 

स्थानीयको आशा फर्कियो
लगातार दुईपटक भत्किएपछि स्थानीयलाई पुल निर्माण हुने आस थिएन । करोडौँको संरचना दुईपटक भत्कियो । निर्माण व्यवसायी त डुबे नै । स्थानीय पनि निराश थिए । उनीहरू दुई–दुईपटक पक्की पुल ढलान भएर पनि तर्न पाएनन् । मुसिकोट नगरपालिका–३ का अर्जुन केसीले अब पुल तर्न पाउनेमा आफूहरू पूर्ण आशावादी रहेको बताए । पुल निर्माण भएपछि वारपारका लागि स्थानीय कैयौँले घर जोखिममा पारेर सडक निर्माण गरे । तर, दुईपटक पुल भत्किएपछि आशा र सपना पनि अधुरो रहेको केसीले बताए । ‘दुईपटक भत्किएपछि आशा थिएन । अहिले डिजाइन नै परिवर्तन गरेर निर्माण गरेपछि केही नहोला भन्ने सोचेका छाैँ,’ उनले भने, ‘काम पनि निकै रफ्तारमा भएको छ ।’

पुल निर्माण हुनेमा ढुक्क छौँ : मेयर
मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले झेँदी पुल निर्माण हुनेमा ढुक्क रहेको बताए । स्थानीयको आवश्यकताका आधारमा योजना परेकाले दुईपटक भत्किएर पनि तेस्रोपटक पुल निर्माणको काम अगाडि बढेको उनको भनाइ छ । मेयर खरेलले पुल निर्माण सम्झौतापछि पनि डिजाइन संशोधन र सामग्रीहरू बाहिरबाट झिकाउनुपर्ने भएकाले समयमै काम हुनेमा आफूहरू विश्वस्त रहेको बताए । 

ad
ad