१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
कञ्चनपुरको निर्माणाधीन पक्की पुल
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १ मंगलबार १२:१५:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन वर्षमा बन्नुपर्ने चार लेनको महाकाली पुल सात वर्ष बित्दा पनि अधुरै

Read Time : > 4 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:१५:oo

कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलको काम पाँच महिनादेखि रोकिएको छ । पुल निर्माण कम्पनी पिके श्रेष्ठ–कुमार श्रेष्ठ सिएफइसी जेभीले काम गरेअनुरूप भुक्तानी नपाएको भन्दै पुलको काम रोकेको जनाएको छ । पुल निर्माणका लागि तीन अर्ब ६६ करोड पाँच लाख ४६ हजारमा सम्झौता भएको थियो । 

सम्झौताअनुसार मुख्य पुल ७.८ मिलोमिटरको पहुँचमार्ग, चारवटा पोखरी र नदीमा तटबन्द निर्माण गर्नुपर्छ । यी सबै निर्माण कार्य ९० प्रतिशतभन्दा बढी निर्माण भइसकेको र तीन अर्ब भुक्तानी लिइसकेको निर्माण व्यवसायी कम्पनीका इन्जिनियर किशोर पाण्डेले बताए । तर, गत वर्षसम्मको बक्यौतामध्ये १८ करोड भुक्तानी हुँदा पनि अझै २७ करोड बाँकी रहेकाले २२ असोजदेखि काम रोकिएको उनको भनाइ छ । 

आर्थिक वर्ष ०७४/७५ मा ठेक्का गरेर तीन वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने सरकारसँग सम्झौता भएको थियो । १५ भदौ ०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए । २० भदौ ०७७ मा सकिनुपर्ने काम चारपटक म्याद थप गर्दासमेत अझै कहिले सकिन्छ टुंगो छैन । आगामी १५ चैत ०८० मा पुल निर्माणको अन्तिम म्याद सकिन्छ । तर, फागुनको अन्तिम सातासम्म पनि पुलको काम सुरु हुन सकेको छैन ।

मूल पुल आठ सय मिटर निर्माण भने सम्पन्न भएको छ । भारतसँग जोडिएका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमध्ये महाकाली नदीमा निर्माण भइरहेको उक्त पक्की पुल पहिलो हो । महाकाली नदीमा चार लेनका पक्की पुल छैनन् । पुल निर्माण पूरा नहुँदा दोधारा–चाँदनी सुक्खा बन्दरगाहदेखि भारतको राजधानी दिल्लीलगायतका स्थानमा सहजै पहुँचमार्गको काम रोकिएको छ । 

महाकाली पुल योजना कार्यालयले बजेट अभाव, अतिरिक्त थपिएको काम स्वीकृत नहुँदा र नदी नियन्त्रणको संशोधित योजना स्वीकृत नहुँदा निर्माण कम्पनीले काम रोकेको जनाएको छ । महाकाली पुल आयोजना कार्यालय कञ्चनपुरका सहायक सूचना अधिकारी सब–इन्जिनियर दुर्गादत्त अवस्थीले निर्माण कम्पनीले गरेको कामअनुरूप बजेट भुक्तानी गर्न नसक्दा, अतिरिक्त योजना र तटबन्धनको संशोधित योजना मन्त्रालयबाट स्वीकृत नहुँदा काम रोकिएको बताए । उनका अनुसार पोखरी, तटबन्ध पहुँचमार्ग निर्माण अझै बाँकी रहेका छन् । 

पुलको दुवैतर्फ २६ सय मिटर लामो पोखरी बनाउन दुई सय ५० किलोका ठूला परिमाणका ढुंगा राख्नुपर्ने सुरुवाती डिजाइन छ । तर, स्थानीय पालिकाले चुरेबाट ढुंगा दिन नमान्दा विकल्पका रूपमा सिमेन्ट तथा साना परिमाणका ढुंगा राख्नका लागि डिजाइन परिवर्तन गरिएको छ । त्यस्तै, पुलको पूर्व–पश्चिम र गड्डाचौकीमा सडक कालोपत्रे गर्न बाँकी रहेको उनले बताए । उनका अनुसार दोधारा–चाँदनी सुक्खा बन्दरगाहको जिरो प्वाइन्टदेखि पुल हुँदै गड्डाचौकी पूर्व–पश्चिम महेन्द्र राजमार्गसम्म झन्डै ७.८ किलोमिटर पहुँचमार्गको कालोपत्रे गर्नुपर्ने काम पनि अधुरै छ । ‘गड्डाचौकी पुलको पश्चिम–पूर्वतर्फ कालोपत्रे गर्न बाँकी छ, ‘उनले भने, ‘पुलसँगै सडकको काम पनि रोकिएको छ ।’

सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख ललिजन खनालले बजेट अभावकै कारण भुक्तानी गर्न नसकेको स्वीकार गरे । साथै, पुलको डिजाइन संशोधन हुन लागेका कारण प्रक्रियागत रूपमा ढिलाइ भएको उनको भनाइ छ । ‘यद्यपि, डिजाइन परिवर्तनसँग भुक्तानीको प्रत्यक्ष सम्बन्ध छैन । अहिले बजेट अभावकै कारण भुक्तानी गर्न नसकिएको हो । यो मात्रै होइन, अन्य ठेक्का तथा आयोजनाको पनि भुक्तानी गर्न सकिएको छैन,’ उनले भने, ‘अर्थ मन्त्रालयबाट बजेट निकासा नभएसम्म भुक्तानी गर्न सक्ने अवस्था छैन । अर्थ मन्त्रालयमा बजेट निकासाका लागि पत्राचार गरिसकेका छौँ । तर, अहिलेसम्म बजेट निकासा भएको छैन । बजेट निकासा भएको एक हप्तामा सम्बन्धित कम्पनीको बक्यौता भुक्तानी हुन्छ ।’

विभागका महानिर्देशक सुशीलबाबु ढकालले यो समस्या छिट्टै समाधान हुने बताए । ‘सार्वजनिक बिदाकै दिन भए पनि शनिबार नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग यसबारे छलफल गरेका छौँ । उहाँले यो समस्या समाधान गर्ने विषयलाई एकदमै प्राथमिकतामा राख्नुभएको छ,’ उनले भने, ‘यो समस्या छिट्टै समाधान हुन्छ भन्नेमा आशावादी छौँ । अर्थ मन्त्रालयबाट बजेट निकासा हुनासाथ निर्माण कम्पनीको बक्यौता भुक्तानी हुन्छ ।’

 पाँच महिनादेखि निर्माण कार्य ठप्प, छिटो सक्न स्थानीयको माग
पोखरी र तटबन्धनमा ठूला ढुंगा राख्नुपर्ने अघिल्लो योजना रहेको र सोअनुरूप ठूला परिमाणका ढुंगा नपाएपछि नदी नियन्त्रण र पोखरीको कामका लागि योजना संशोधन गर्न लागिएको छ । योजना संशोधनसँगै बजेटसमेत वृद्धि हुने भएकाले मन्त्रालयले स्वीकृत नदिँदा उक्त कामसमेत रोकिएको छ । अब तारजाली र कंक्रिटबाट तटबन्ध र पोखरी निर्माण गरिनेछ । 

गौरवकै योजना महाकाली पुलको काम रोकिएको महिना बितिसक्दा पनि पुनः सुचारु हुन नसकेपछि स्थानीयसमेत चिन्तित छन् । महाकाली पुलले पश्चिम नेपालबाट समृद्धिको सम्भावना बोके पनि सुरुवाती चरणदेखि द्रुत गतिमा अघि बढेको पुलको काम अहिले रोकिएपछि स्थानीय चिन्तित भएका हुन् । दोधारा–चाँदनीका स्थानीय युवा भरतदत्त भट्टले लामो समयदेखि निर्माण भएको पुल एकाएक ६ महिनादेखि कामकाज ठप्प हुन दुखित बनाएको बताए ।

‘ठेकेदार कम्पनीले बजेट नपाएपछि काम रोकेको बाहिर भन्दै आएको छ, सम्बन्धित सरकारी कार्यालयबाट बजेट मात्रै कारण नभएको धारणा आउँछ, ‘उनले भने, ‘हामी जनतालाई ठेकेदार र कार्यालयले गुमराहमा राखेको देखिन्छ, जे भए पनि रोकिएको काम शीघ्र सञ्चालन हुनुपर्छ ।’ उता भारतीय पक्षबाट दोधारा–चाँदनीमा बन्ने भनिएको सुक्खा बन्दरगाहको पहुँचमार्ग निर्माण अघि बढिरहेका वेला नेपालतर्फ निर्माण भइरहेको पुलको काम पनि रोकिनु उचित नभएको उनको बुझाइ छ ।

‘दोधारा–चाँदनीमा बन्ने भनिएको सुक्खा बन्दरगाको पहुँचमार्ग नेपालले मलरिया नालासम्म बनाएको छ, तर पुलको काम पूरा गरेको छैन, ‘उनले भने, ‘यसबाट समेत हामीलाई पुल निर्माणमा थप आशंका उत्पन्न गराएको छ ।’ भीमदत्त नगरपालिकाका युवक अमिर तिरुवाले नियमित काम सुरु भएको पुल निर्माण कार्य रोकिएपछि स्थानीयमा आशंका उत्पन्न गराएको बताए । ‘यो त हाम्रो देशकै गौरवको योजना हो, ‘उनले भने, ‘ठेकेदारले बजेट बहानाबाजी गरेर काम रोकेको छ ।’ भारततर्फ सुक्खा बन्दरगाह निर्माणको काम अघि बढे पनि नेपालतर्फ पुल निर्माणको काम नै रोकिनु दुःखद भएको उनले बताए । 

पुल निर्माणसँगै वर्षौँदेखि भारतीय भूमि भएर आफ्नै भूमिमा जान बाध्य भएका दोधारा–चाँदनी नगरका जनतामा खुसी छाएको थियो । अहिले पुल निर्माण कार्य रोकिएपछि उनीहरू थप चिन्तित भएका छन् । दोधारा–चाँदनीका स्थानीय खड्क रावलले विगतमा महाकाली नदीमा पुल नहुँदा भारतीय भूमि वनबासा भएर जिल्ला सदरमुकामसहित नेपाली भूमिमा आउन–जान बाध्यता रहेको बताए । ‘विगतमा महाकालीमा पुल नहुँदा हामी दोधारा–चाँदनीका जनता कञ्चनपुर (नेपाल)सँग सम्बन्धविच्छेदजस्तै थियो,’ उनले भने, ‘०६२/६३ सालतिर झोलुंगे पुल बन्यो, त्यसबाट समेत पैदल, साइकल, मोटरसाइकल आउजाउमा सहज गरायो, अहिले बनेको पक्की पुलले उच्चतम सुविधा ल्याइदिएको छ ।’ 

जिल्ला सदरमुकामसहितका अन्य स्थानबाट दोधारा–चाँदनी आउन अहिले चारपांग्रेसहितका ठूला सवारीसाधनबाट थप सुविधा भएको बताउँदै उनले बाँकी रहेको काम समयमै गर्नुपर्नेमा जोड दिए । दोधारा–चाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले पुल निर्माणको काम अघि बढाउन पालिकाबाट मन्त्रालयमा पत्राचार गरिएको बताए । ‘यो पुलको काम रोकिएपछि हामीले ठेकेदार कम्पनीलाई किन काम रोकेको भनी सोधपुछ गरेका छौँ । उहाँहरूले गरेको कामको भुक्तानी नपाएको र गाडीहरूमा इन्धन हाल्नसमेत पैसा नहुँदा थप काम गर्न नसकिने जवाफ दिन्छन्, ‘उनले भने, ‘मैले व्यक्तिगत रूपमा प्रदेश सदस्य बेलबहादुर राना, प्रतिनिधिसभा सदस्य रमेश लेखकसँग पनि रोकिएको काम सुचारुका लागि पहल गरिदिन पटक–पटक भन्दै आएको छु, तर काम अझै अघि बढ्न सकेको छैन ।’

दोधारा–चाँदनी नगरका मेयर किशोरकुमार लिम्बू भन्छन्– पुल निर्माणको काम अघि बढाउन पालिकाबाट मन्त्रालयमा पत्राचार गरेका छौँ । ठेकेदार कम्पनीलाई किन काम रोकेको भनी सोधपुछ गरेका छौँ । उहाँहरूले गरेको कामको भुक्तानी नपाएको र गाडीहरूमा इन्धन हाल्नसमेत पैसा नहुँदा थप काम गर्न नसकिने जवाफ दिनुभएको छ । मैले व्यक्तिगत रूपमा प्रदेश सदस्य बेलबहादुर राना, प्रतिनिधिसभा सदस्य रमेश लेखकसँग पनि रोकिएको काम सुचारुका लागि पहल गरिदिन पटक–पटक भन्दै आएको छु, तर काम अझै अघि बढ्न सकेको छैन । 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल भन्छन्–  सार्वजनिक बिदाकै दिन भए पनि शनिबार नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग यसबारे छलफल गरेका छौँ । उहाँले यो समस्या समाधान गर्ने विषयलाई एकदमै प्राथमिकतामा राख्नुभएको छ । यो समस्या छिट्टै समाधान हुन्छ भन्नेमा आशावादी छौँ । अर्थ मन्त्रालयबाट बजेट निकासा हुनासाथ निर्माण कम्पनीको बक्यौता भुक्तानी हुन्छ ।

ad
ad