१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०८० फाल्गुण २४ बिहीबार १६:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण सम्पन्न नहुँदै सडकमा खाल्डाखुल्डी

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०८० फाल्गुण २४ बिहीबार १६:३६:००

पूर्व–पश्चिम राजमार्गस्थित कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको डुमरादेखि महाराजगन्ज नगरपालिकास्थित हुलाकी राजमार्गको गैडहवा जोड्ने सडक मापदण्डअनुसार निर्माण नहुँदा नागरिक सास्ती खेप्न बाध्य छन्।

सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुले ठेक्का लगाएको सो सडक निर्माण पूरा नहुँदै खाल्डाखुल्डी पर्न थालेको छ। डिभिएसटी (डबल बिटमिनस सर्फेस ड्रेसिङ) प्रविधिमा निर्माणाधीन सो सडकखण्डको औरहवा–महाराजगन्ज–गैडहवा खण्डमा ठाउँठाउँमा खाल्डाखुल्डी पर्न थालेको छ। करिब ११.७ किलोमिटरको सडकमध्ये करिब तीन किलोमिटर सडक निर्माणाधीन अवस्थामै बिग्रिएको छ।

उक्त सडक औरहवादेखि महाराजगन्जसम्म करिब आठ सय मिटर र महाराजगन्जदेखि गैडहवा हुलाकी सडकसम्म करिब दुई किलोमिटर सडक निर्माणकै क्रममा खाडल पर्न थालेको छ। सडक निर्माण भएको भनिए पनि खाल्डाखुल्डीले गर्दा सास्ती भोग्नुपरेको महाराजगन्ज नगरपालिका– २ का सनिउल्ला धोबीले  बताए।

‘यो सडकको काम राम्रो भएको छैन। बनेको ६ महिनामै खाल्डाखुल्डी छ। कति दिन टिक्छ ?’ उनले भने। बुद्धभूमि नगरपालिका– ९ डुमराका दुर्गाप्रसाद अधिकारीको पनि यस्तै गुनासो छ। उनले भने, ‘बनेको ६ महिनामै सडक खाल्डाखुल्डी परिसक्यो। निर्माणको क्रममा अनुगमन गर्ने निकायले ध्यान नदिएकै कारण नागरिकले यात्रा गर्दा दुःख खेप्नुपरेको हो।’

डुमरादेखि हुलाकी राजमार्गको गैडहवा जोड्ने सो सडक निर्माणको ठेक्का सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुबाट लुम्बिनी एसेटिक रिजल जेभी रुपन्देहीले लिएको छ। ०७८ वैशाख १६ गते सम्झौता भएको सो योजना २०८० कात्तिक ११ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो। तर, चैत लाग्ने वेला भइसक्दासम्म सडक निर्माणको काम पूरा हुन सकेको छैन। 

करिब तीन किलोमिटर सडक मापदण्डअनुसार निर्माण नभए पनि कार्यालयले १२ करोड २१ लाख ६४ हजार ६ सय रुपैयाँ ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकेको छ। कुल १४ करोड ७० लाख ८२ हजार नाै सय पाँच रुपैयाँमा ठेक्का लागेको थियो।

ठेक्का अवधिमा काम नसकिने डरले ठेकेदार कम्पनीले चिसो मौसममै काम गर्दा पिचमा फिनिसिङ नआएको कार्यालयको दाबी छ। कार्यालयले ठेकेदारको बाँकी भुक्तानीसमेत रोकेको जनाएको छ। डिभिएसटी प्रविधिमा निर्माण गरिएको सडक भएकाले तत्कालै फिनिसिङ नआएको कार्यालयबाट खटिएका साइट इन्जिनियर तिलकबहादुर गाहा बताउँछन्।

‘सम्झौताअनुसार काम अन्तिम समयमा गर्दा सेकेन्ड कोडको फिनिसिङ आएको छैन। त्यसैले हामीले भुक्तानी पनि गरेका छैनौँ। गर्मी लागेसँगै मर्मतको काम गराउँछौँ,’ उनले भने।

ठेक्का सम्पन्न भइनसकेको र सो सेक्सनमा फिनिसिङ नआएकाले काम रोकिएको सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका निमित्त प्रमुख इन्जिनियर हरिप्रसाद पौडेलले बताए। ‘फिनिसिङ नआएकाले हामीले काम रोकेका छौँ। चलनचल्तीको बाटोमा त्यसैमाथि जबर्जस्ती गाडी चलाएर खाल्डाखुल्डी बढेको हो।’

त्यसलाई मर्मत गराएर फिनिसिङ गराउने पौडेलको भनाइ छ। काम सम्पन्न नहुँदै कार्यालयले ८३ प्रतिशत रकम ठेकेदार कम्पनीलाई भुक्तानी दिनुले कार्यालयले अनुगमनलाई प्राथमिकता नदिएको स्थानीयको आशंका छ।