
रास्वपा अध्यक्ष रवि लामिछाने १३ महिनापछि पुनः गृह मन्त्रालयको नेतृत्वमा पुगेका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्तागठबन्धनमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रूपमा रविको ‘कमब्याक’ भएको हो।
यसअघि १० पुस ०७९ मा बनेको माओवादी–एमाले–रास्वपा गठबन्धनमा पनि उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए। तर, १३ माघ ०७९ मा नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट उनले सांसद पद गुमाएका थिए। त्यससँगै उनको मन्त्री तथा पार्टी सभापतिको पदसमेत गुमेको थियो।
पछि १० वैशाखमा भएको उपनिर्वाचनमार्फत उनी पुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै प्रतिनिधिसभामा पुगे। त्यसलगत्तै उनले कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनमा पनि गृहमन्त्री पाए सरकारमा जाने प्रयास गरेका थिए। तर, गृह मन्त्रालय नपाएपछि उनी सरकारमा गएनन्। त्यसो त आफ्नो पद गएसँगै उनले पार्टीलाई सरकारबाट फिर्ता बोलाएका थिए भने पछि सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए।
यसपटक अचानक प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाउँदा उनी पुनः गठबन्धनमा जोडिए भने १३ महिनापछि गृहमा ‘कमब्याक’ गरे।