धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा एकजना महिलासहित सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रउ गौतमले भने, ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका– ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।