१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २२ मंगलबार १९:४९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विराटनगर भन्सारमा रोकिएका जलविद्युतका सामानको जाँचपास सुरु

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २२ मंगलबार १९:४९:००

विराटनगर एकीकृत भन्सार जाँच विन्दु (आइसिपी) मा रोकिएका जलविद्युत् आयोजनाका सामानहरू भित्रिन थालेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले रोकिएका सामानहरू छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार कार्यालयमै गएर पहल गरेपछि सामानहरू भित्रिन सुरु भएका हुन्।

इप्पानका महासचिव बलराम खतिवडाले आयोजनाका सामानहरू भन्सारमा रोकिएपछि सोमबार विराटनगर भन्सार कार्यालयलमा पुगेर सहजीकरणको लागि पहल गरेका थिए। मंगलबारबाट आयोजनाका सामानहरू जाँचपास सुरु भइसकेको खतिवडाले बताए।

विगतमा विद्युत् विकास विभागको सिफारिसमा भन्सार छुट सुविधा पाउँदै आएकोमा फागुन १ गतेपछि भने विभागको पत्र बुझाउँदा पनि भन्सारले सामान जाँचपास गर्न अस्वीकार गरेको थियो।

त्यसरी भन्सारले जाँचपास रोकेपछि एक दर्जन जलविद्युत् आयोजनाले मगाएका पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकलसम्बन्धी उपकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण गरी करिब २०० ट्रक सामान भन्सारमा रोकिएका थिए।

आयोजना प्रवर्द्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउन पाउने व्यवस्था रहेकोमा चालू आर्थिक वर्षको आर्थिक ऐनमा जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था गरेपछि भन्सारमा आएका नयाँ अधिकारीहरू अन्योलमा परेका थिए। 

इप्पानले उक्त अन्योल हटाउन सहजीकरण गरेपछि सामानहरूको जाँचपास सुरु भएको हो। अबदेखि प्रवर्द्धक कम्पनीका साथ साथै आयोजनाको नाम र क्षमता पनि सबै बिल-बिजकमा उल्लेख गरेर सिफारिस गर्ने सहमति गर्दै सामान जाँचपास सुरु गरिएको खतिवडाले बताए। 

उनले विद्युत् विकास विभागलाई पनि सोहीअनुसार सिफारिस बनाइदिन अनुरोध भइसकेको जानकारी दिए। ५०० भन्दा बढी विद्युत् आयोजनाहरू सदस्य रहेको निजी ऊर्जा उत्पादकहरूको साझा संस्था इप्पानले ऊर्जा आयोजनाहरूका समस्या समाधानका लागि सरोकारवाला निकायमा निरन्तर सहजीकरण गर्दै आएको छ। 

ऊर्जा उत्पादकहरूका कुनै पनि समस्याका बारेमा इप्पानलाई जानकारी गराएमा इप्पानले सधैँ सहजीकरण गरिदिने पनि महासचिव खतिवडाले बताए।