१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:४६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती प्रदेशमा सात लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर खोप लगाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामका लागि सुरु गरेको खोप अभियानअन्तर्गत सात लाखभन्दा बढी बाख्रामा खोप लगाइएको छ । 

गत १६ गते बुधबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको पाँचौँ दिन आइतबारसम्म प्रदेशका १३ जिल्लाका सात लाख २७ हजार नाै सय ७६ बाख्रामा पिपिआर रोगविरुद्ध खोप लगाइएको हो।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशका सबै जिल्लास्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै गोठमै  पुगेर खोप लगाइएको छ ।

सूचना अधिकारी अधिकारीले पहिलो दिनको तुलनामा पाँचौँ दिनसम्म आइपुग्दा खोप कार्यक्रममा सहभागी गराइएको बाख्राको संख्यामा उल्लेख्य वृद्धि भएको बताए । पहिलो दिन बुधबार जम्मा ७२ हजार ८६ वटा बाख्रामा खोप लगाइएकोमा पाँचौँ दिन मात्रै एक लाख ७८ हजार आठ सय ९५ बाख्रामा खोप लगाइएको छ ।

खोप अभियानअन्तर्गत अहिलेसम्म सबैभन्दा बढी मकवानपुरमा ९७ हजार नाै सय २७ र सबैभन्दा कम भक्तपुरमा चार हजार ६ सय १५ वटा बाख्रामा खोप लगाइएको छ । अभियानअन्तर्गत काभ्रेमा ८१ हजार पाँच सय ९३, ललितपुरमा १६ हजार तीन सय ४७, काठमाडौंमा २२ हजार एक सय १३, दोलखामा ६९ हजार नाै सय ३७ बाख्रामा खोप लगाइएको छ ।

यस्तै, सिन्धुपाल्चोकमा ६२ हजार सात सय ९९, सिन्धुलीमा ८५ हजार तीन सय ४२, रामेछापमा ५७ हजार तीन सय २७, चितवनमा ५७ हजार एक सय ७७, नुवाकोटमा ६४ हजार दुई सय ४५, रसुवामा १४ हजार चार सय ९९, धादिङमा ९४ हजार ५५ वटा बाख्रामा पिपिआरविरुद्ध खोप लगाइएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।

२२ फागुनसम्म चल्ने खोप अभियानका लागि १५ लाख ९४ हजार डोज खोप प्राप्त भएकोमा १३ लाख ५० हजार डोज खोप खपत गर्ने लक्ष्य रहेको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए । उनले मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर करिब २८ लाख वटा भेडाबाख्रा रहेकोमा अहिले सञ्चालन गर्ने खोपको कभरेज करिब ५८ प्रतिशत रहेको छ ।

प्रवक्ता कँडेलले पिपिआरविरुद्धको खोप भेडाबाख्रामा पहिलोपटक तीन महिनाको उमेर पूरा भएपछि लगाउने र खोप लगाउँदा हरेक तीन–तीन वर्षको फरकमा लगाउनुपर्ने जानकारी दिए । प्रदेश सरकारले गत दुई वर्षदेखि बर्सेनि खोप अभियान चलाइरहेकाले गत वर्ष लगाएका भेडाबाख्रालाई यसपटक लगाउनु नपर्ने भएकाले बागमती प्रदेशका लागि छुट्याइएको १५ लाख खोप पर्याप्त हुने बताए । 

पिपिआर रोगको संक्रमण दर शतप्रतिशत र मृत्युदर ९० प्रतिशतसम्म पुग्ने भएकाले यसलाई पशुहरूमा लाग्ने सबैभन्दा खतरनाक रोग मानिने गरेको प्रवक्ता कँडेलले जानकारी दिए । नेपालमा पहिलोपटक सन् १९९४ मा देखिएको यो रोग हाल नेपालका ७७ वटै जिल्लामा पुष्टि भएको छ । 

रोग लागेका भेडाबाख्रामा ज्वरो आउने, झोक्राउने, घाँस, दानापानी नखाने, नाकबाट पानी बग्ने, नाकको प्वाल बन्द हुने, आँखा रातो, कचेरा निस्कने, निरन्तर आँसु बग्नेलगायतका लक्षण देखिने र रोग लागेको पाँचदेखि १० दिनमा भेडाबाख्राको मृत्यु हुने उनले बताए ।