१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटार पुगेका देउवालाई प्रधानमन्त्रीले भने, ‘अब ढिला भयो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३o:oo

पछिल्ला केही घटनाक्रमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही असन्तुष्ट रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले महसुस गरिरहेका थिए। विशेषतः काम गर्न नसकेका र भ्रष्टाचारको छानबिनमा परेका कांग्रेस मन्त्रीलाई हटाई मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाएको, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसका उम्मेदवार विजयी हुँदा माओवादी उम्मेदवार पराजित भएको तथा हालै सम्पन्न कांग्रेसको महासमिति बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको राजनीतिक प्रतिवेदन र ०८४ को निर्वाचन एक्लै लड्ने निर्णयले प्रचण्ड असहज महसुस गरिरहेका थिए। 

यसका बाबजुद देउवा राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिन प्रधानमन्त्री प्रचण्डलाई जसरी पनि सहमत गराउन सक्छु भन्ने विश्वासमा थिए । तर, सोमबार बिहानसम्म आइपुग्दा देउवाको त्यो विश्वास गलत मात्र साबित भएन, सत्तासहयात्राबाटै कांग्रेस बिदा हुन पुग्यो । 

एकाएक प्रधानमन्त्रीले एमाले, रास्वपा र राजपालाई मिलाएर नयाँ गठबन्धन बनाउन लागेको र आजै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको खबर सुनेपछि देउवा सोमबार बिहानै बालुवाटार छिरे । त्यसो त प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान आठ बजेका लागि सत्तागठबन्धनको बैठक बोलाएका थिए । त्यो बैठक स्थगित भएको खबर आएपछि थप झस्किएका देउवा हतारहतार बालुवाटार पुगेका थिए । 

तर, बालुवाटारमा उनको आगमनले पनि कांग्रेसलाई सत्तामा टिकाइराख्न सकेन । स्रोतका अनुसार बिहान देउवाले प्रधानमन्त्रीसँग लामो कुराकानी गर्न पनि पाएनन् । छोटो भेटमा देउवाले प्रधानमन्त्रीलाई वर्तमान गठबन्धनलाई थप मजबुत बनाएर जान र त्यसका लागि थप छलफल गर्न आफू तयार रहेको बताएका थिए । तर, प्रधानमन्त्रीले देउवालाई भने, ‘अब ढिला भयो ।’

‘प्रधानमन्त्रीसँग भेट त भयो, तर लामो कुरा भएन,’ स्रोतले भन्यो, ‘देउवाले गठबन्धनलाई थप मजबुत बनाएर जाऔँ, त्यसका लागि आवश्यक परे थप छलफल गरौँ भन्नुभएको थियो । तर, प्रधानमन्त्रीले अब ढिला भयो भन्ने जवाफ दिनुभएपछि उहाँ फर्किनुभयो ।’