१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीलाई सास्ती

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:o८:oo

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा शैक्षिक प्रमाणपत्र लिन विद्यार्थी हरेक दिन लाइन लाग्छन् । हातहातमा फारम र बैंक भौचर बोकेर कोही ढोका र कोही झ्यालबाहिर लामबद्ध हुन्छन् । तर, फरक–फरक सेवा लिन धाएका अधिकांश विद्यार्थी त्रिविको ढिलासुस्तीले आजित छन् । 

त्रिविको परीक्षा नियन्त्रक कार्यालयका झ्यालमा हरेक दिनजसो युवाको लामो लाइन देख्न सकिन्छ । काम छाडेर तथा टाढाटाढाबाट विद्यार्थी शैक्षिक प्रमाणपत्र लिन यहाँ आउँछन् । तर, त्रिविको सेवाप्रवाह भने उही पुरानै शैलीको छ । सामान्य सेवा लिन घण्टौँ लाइन र अत्यावश्यक काम गराउन महिनौँसम्म समय कुर्नेपर्ने बाध्यता छ । ‘पहिले–पहिले आउँदा पनि लाइन लाग्नुपर्दथ्यो, हिजोआजको प्रविधिको जमानामा पनि लाइन नै लाग्नुपर्ने अवस्था छ, यो विश्वविद्यालय कहिले सुधार होला,’ बिहीबार त्रिवि परीक्षा नियन्त्रकको कार्यालयमा लाइनमै भेटिएका राजनीतिशास्त्रको स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट झिक्न आएका बाराका कुमार साहले भने, ‘ट्रान्सक्रिप्ट तयार हुन महिना दिन लाग्ने रहेछ ।’

करिब तीन महिनाअघिदेखि ट्रान्सक्रिप्ट तथा अन्य शैक्षिक प्रमाणपत्र अनलाइनबाटै प्राप्त गर्न सकिने सेवा सुरु गरे पनि विद्यार्थी भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यता

साहसँगै लाइन लागेकामध्ये सबैका समस्या साझा छैनन् । कसैको मार्टसिट हराएको छ, कसैको ट्रान्सक्रिप्ट । कोही क्यारेक्टर सर्टिफिकेर्ट लिन पालो कुरिरहेका छन्, कोही परीक्षा फारम शुल्क बुझाउन । त्यस्तै, कतिपयको शैक्षिक प्रमाणपत्रमै नाम र ठेगाना गल्ती भएकाले सच्याउन आएका छन् । तर, त्रिविमा सेवाप्रवाहको गति सुस्त छ । त्रिविमा मार्कसिट निकाल्न दुई दिन लाग्छ । ट्रान्सक्रिप्ट झिक्न एक महिनासम्म कुर्नुपर्छ । सानो त्रुटि सच्याउन पनि घण्टौँ कुर्नुपर्छ । विदेश जाने तथा शैक्षिक प्रमाणपत्र तत्काल चाहिने विद्यार्थी महिनौँसम्म कुर्न बाध्य छन् । 

समयमै शैक्षिक प्रमाणपत्र झिक्न नपाउँदा विद्यार्थी चिन्तित छन् । ‘अन्य विश्वविद्यालयहरूको सेवा यस्तो सुस्त र कमजोर छैन, अधिकांशले कम्तीमा पनि दुई–तीन दिनमा ट्रान्सक्रिप्ट दिन्छन्, तर त्रिविमा पुरानै शैली छ,’ शुक्रबार त्रिविमा ट्रान्सक्रिप्ट झिक्न आएका ललितपुरका हरिहर थापाले भने, ‘कम्प्युटर चलाउन नै नजानेका कर्मचारीले सेवा दिँदा झन् ढिलो हुने गरेको देखिन्छ ।’ परीक्षा नियन्त्रण कार्यालय बल्खुमा दैनिक पाँच सयभन्दा बढी विद्यार्थी ट्रान्सक्रिप्ट लिन आउँछन् । अन्य विभिन्न समस्या लिएर आउने विद्यार्थीको संख्या पनि उत्तिकै छ । त्रिविमा एउटा रोल्न नम्बर हेर्न ५० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, ट्रान्सक्रिप्ट लिँदा पाँच सय ५० देखि सात सय ५० सम्म शुल्क तिर्नुपर्छ । प्रतिमार्कसिट एक सय रुपैयाँ तिर्नुपर्छ । शुल्क तिरे पनि समयमै सेवा छैन । 

करिब तीन महिना अघिदेखि त्रिविले ट्रान्सक्रिप्ट तथा अन्य शैक्षिक प्रमाणपत्र अनलाइनबाटै प्राप्त गर्न सकिने सेवा सुरु गरेको थियो । तर, सर्भरमा छिनछिनमा समस्या आउँदा विद्यार्थी भौतिक रूपमै उपस्थित हुन्छन् । सर्भर चल्यो र अनलाइनबाट शैक्षिक प्रमाणपत्र लिन फारम भरे पनि एक महिनासम्म कुर्नपर्छ । अनलाइन सिस्टम डाउन भएपछि विद्यार्थी भौतिक रूपमै त्रिविमा उपस्थित हुनैपर्छ । सबै शैक्षिक प्रमाणपत्र अनलाइनबाट लिन भने सम्भव छैन ।

मार्कसिट हराए, नाम सच्याउनुपरे र टान्सक्रिप्ट हराए विद्यार्थी भौतिक रूपमै उपस्थित हुनुपर्ने हुन्छ । त्रिविका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशी जनशक्तिको अभावले सेवा ढिला भए पनि सुधारको प्रयास भइरहेको बताउँछन् । ‘हामीकहाँ जनशक्ति पनि अभाव छ र विभिन्न कारणले गर्दा शैक्षिक प्रमाणपत्र लिन केही समय लाग्छ,’ उनले भने, ‘तर, अब सुधार गर्दै छौँ, अहिले अनलाइनबाट पनि सेवा लिन सकिन्छ, तर कतिपय कामका लागि भने यहीँ नै आउनुपर्छ ।’ उनले त्रिविको क्यालेन्डर लागू गर्ने प्रक्रियामा छलफल भइरहेको र अब हुने जुनसुकै परीक्षाको नतिजा तीन महिनाभित्र प्रकाशन गर्ने गरी तयारी भइरहेको दाबी गरे । 

ad
ad