१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
शिखर सम्मेलनबारे जानकारी दिँदै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।
२o८१ जेठ २ बुधबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनीमा शिखर सम्मेलनको तयारी तीव्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:३४:oo

उद्घाटनमा चार हजार र विषयगत छलफलमा तीन सयजना सहभागी हुने

गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा फागुन अन्तिम साता हुन लागेको चौथो अन्तर्राष्ट्रिय लौरियट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा २८ र २९ फागुनमा हुने शिखर सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका विभिन्न राष्ट्रका सरकारका उच्च तहका व्यक्तित्व, नोबेल शान्ति तथा अन्य विधामा पुरस्कार विजेताहरू सहभागी हुनेछन् । 

सम्मेलनमा संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख वा प्रतिनिधि, विश्वव्यापी व्यावसायिक नेताहरू, विश्वव्यापी निर्णय–निर्माता विपन्नताबाट माथि उठेका अनुभवी युवा, युवा नेताहरूको सहभागिता रहने लुम्बिनी प्रदेश सरकारले जनाएको छ । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलनमा बालबालिकाको समग्र हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रवर्द्धन हुने विश्वास लिइएको बताए । उनका अनुसार सम्मेलनमा १० वटा कार्यपत्र प्रस्तुत हुनेछन् । 

लुम्बिनी प्रदेश सरकारले आव ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा बुद्ध जन्मस्थलमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको ‘लौरियट्स एन्ड लिडर्स शिखर सम्मेलन आयोजना गर्न आवश्यक व्यवस्था मिलाउने’ उल्लेख गरेको थियो । केन्द्र सरकारको मन्त्रिपरिषद्बाट स्वीकृतिपछि सम्मेलनको तयारीमा जुटेको प्रदेश सरकारले ६ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । 

२८ फागुनमा हुने उद्घाटन समारोहमा चार हजारजनाको सहभागिता रहने आयोजकले जनाएको छ । स्थानीय विद्यार्थी, अभिभावक, नीति तर्जुमाकार, कार्यान्वयनकर्ता, सहजकर्ता, विकास साझेदारलगायत अन्य सरोकारवालासमेत करिब चार हजारजनाको सहभागिता रहने मुख्यमन्त्री चौधरीले दाबी गरे । विषयगत छलफलमा करिब तीन सयजना विषयविज्ञ अतिथि तथा विशिष्ट अतिथि सहभागी हुने अनुमान गरिएको उनको भनाइ छ । सम्मेलनमा करिब एक सयजना विभिन्न क्षेत्रमा क्रियाशील विदेशी व्यक्तित्वहरूको सहभागिता रहनेछ । 

आयोजकको रूपमा नेपालले शिखर सम्मेलनको उद्घाटन सत्र तथा सहायक कार्यक्रम र यसका विषयवस्तु तथा ढाँचा विकास गर्ने, शिखर सम्मेलनमा सहकार्य गर्न सक्ने सरोकारवालाको परिचालन र निर्धारण गर्नेछ । शिखर सम्मेलनलाई प्रभावकारी एवं सफलतापूर्वक सञ्चालन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । उद्घाटन समारोहपछि विभिन्न शीर्षकमा समूहगत छलफल गरिनेछ । समूहगत छलफलपछि साझा धारणासहित २९ फागुनमा मायादेवी मन्दिर परिसरमा घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

विदेशी पाहुनालाई बर्दियादेखि पाल्पासम्मका पर्यटकीयस्थल भ्रमण गराइने 

शिखर सम्मेलनमा सहभागी हुने विदेशी पाहुनालाई बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारी र पाल्पाको तानसेनमा भ्रमण गराउने तयारीसमेत गरिएको छ । विदेशी पाहुनालाई लुम्बिनीमा मात्रै सीमित नराखी यहाँका महत्वपूर्ण पर्यटकीय स्थलमा समेत भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्न ती ठाउँमा भ्रमण गराउने कार्यक्रम तय गरिएको मुख्यमन्त्री चौधरीले बताए । लुम्बिनीमा धेरै पर्यटकीयस्थल छन् भन्ने तथ्य अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गराउन भ्रमण गराउने कार्यक्रम बनाइएको उनको भनाइ छ ।

शिखर सम्मेलनको सफलताले लुम्बिनी एवं सम्पूर्ण लुम्विनीवासीको शिर उच्च बनाउने र गरिमा बढ्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साथै लुम्बिनी प्रदेशको प्रतिष्ठानसमेत अभिवृद्धि हुने विश्वास गरिएको चौधरीले बताए । अन्तर्राष्ट्रिय रूपमै बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार–प्रसार हुने र अन्तरर्राष्ट्रियस्तरमा लुम्बिनी क्षेत्रको पहिचान अभिवृद्धि भई महत्वपूर्ण पर्यटकीयस्थलको रूपमा विकास गर्न सम्मेलन फलदायी हुने विश्वास गरिएको उनको भनाइ छ । 

सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न तयारीका काम भइरहेको प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए । शान्ति, पर्यटन, आर्थिक विकास तथा बालबालिकाका क्षेत्रमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा प्रदेश सरकारले गरेको छ । 

ad
ad