मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

क्यासिनोभित्र अनलाइन जुवा, क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२o:oo

पक्राउ परेका क्यासिनोका बजार प्रबन्धक ऋषव पावाको सञ्चालकहरूकै निर्देशनमा आफूहरूले अनलाइनमार्फत जुवा खेलाउने गरेको बयान

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा रहेको क्यासिनो प्यालेसमा अनलाइन जुवाका साथै क्रिप्टो कारोबार तथा विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको दाबीसहित प्रहरीले मुद्दा दायर गरेको छ । अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका तीन कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा क्रिप्टो र विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको पुष्टि भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत १८ माघमा सो क्यासिनोमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको थियो । बजार व्यवस्थापक ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंहलाई अनलाइन जुवामा प्रयोग गरिएका सामग्रीसहित पक्राउ गरेको थियो । बयानको क्रममा उनीहरूले सञ्चालककै निर्देशनअनुसार अनलाइन जुवा खेलाउने गरिएको बताएका छन् । सो क्यासिनोका मुख्य सञ्चालकद्वय जनकपुरका विनयबहादुर साह र भारतीय नागरिक तरुण खत्तेरसहित नौजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । अनलाइन जुवाको कसुरमा मुलुकी अपराध संहिता तथा क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबारको कसुरमा नेपाल राष्ट्र बैंक ऐनअनुसार मुद्दा दायर भएको हो । 

क्यासिनोमा आबद्ध अन्य भारतीय सञ्चालकहरू अशोककुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायकविरुद्ध मुद्दा दायर भएको हो । फरार रहेका उनीहरू क्यासिनो प्यालेस सञ्चालन गर्ने कम्पनी एटलान्टिक रिक्रियसन प्रालिका सञ्चालक हुन् । 

पक्राउ परेका बजार प्रबन्धक पावाले सञ्चालकरूकै निर्देशनमा आफूहरूले अनलाइनमार्फत २४सै घन्टा जुवा खेलाउने गरेको बयान दिएका छन् । जब कि लाइभ जुवा खेलाउन मात्र सो क्यासिनोले अनुमति लिएको थियो । नेपालमा अनलाइन जुवा प्रतिबन्ध छ । 

त्यस्तै, उनको मोबाइलमा बाइनान्स एप पनि भेटिएको प्रहरीले जनाएको छ । जसमा ४० लाख १४ हजार रुपैयाँबराबरको कारोबार गरेको उनले स्वीकार गरेका छन् । अन्य मोबाइलमार्फत पनि क्रिप्टोको सो क्यासिनोबाट ठूलो कारोबार भएको हुन सक्ने प्रहरी आशंका छ । 

सो कम्पनीले वैदेशिक मुद्राको कारोबार गर्नसमेत नेपाल राष्ट्र बैंकबाट अनुमति नलिएको अनुसन्धानमा खुलेको छ । उसले सन् २०२० मै वैदेशिक मुद्रा कारोबारको इजाजत आफैँले निवेदन दिएर रद्द गराएको थियो । तर, नियमन नहुँदा क्यासिनोमा वैदेशिक मुद्राको अवैध कारोबार भने निरन्तर गर्दै आएको छ । सो क्यासिनोबाट प्रहरीले एक करोडबराबरको वैदशिक मुद्रासमेत बरामद गरेको छ । यो क्यासिनोका सञ्चालक विनय शाह क्यासिनो प्राइडका पनि सञ्चालक हुन् । काठमाडौंका अन्य क्यासिनोमा पनि क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबार भएको हुन सक्ने आशंका प्रहरी अधिकारीको छ ।