Skip This
आयल निगमले बिहीबार दिनभर मूल्यवृद्धिको हल्ला फैलायो, पेट्रोलपम्पलाई मागेजति तेल पनि दिएन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
अजित अधिकारी काठमाडौं
२o८o फाल्गुण १८ शुक्रबार o८:o४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमले बिहीबार दिनभर मूल्यवृद्धिको हल्ला फैलायो, पेट्रोलपम्पलाई मागेजति तेल पनि दिएन

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार o८:o४:oo

नेपाल आयल निगम लिमिटेडले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय भएको जनाएको छ । अब यही मूल्यमा आगामी १५ दिनसम्म देशभर पेट्रोलियम पदार्थको कारोबार हुनेछ ।

निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७२, डिजेल र मट्टीतेल समान एक सय ६० तथा आन्तरिक हवाई इन्धन एक सय ३६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन १.०३५ डलर प्रतिलिटर र खाना पकाउने एलपी ग्यास एक हजार नौ सय १० रुपैयाँ प्रतिसिलिन्डर तोकिएको छ ।

बिहीबार साँझ विज्ञप्तिमार्फत मूल्यवृद्धि नहुने जानकारी दिए पनि आयल निगम उच्च व्यवस्थापन र डिपो प्रमुखहरूले भने दिनभर पेट्रोलियम व्यवसायीलाई मूल्यवृद्धि हुने संकेत दिएका थिए । बिहीबार कार्यालय समय खुल्नासाथ आयल निगमको केन्द्रीय कार्यालयका उच्च अधिकारीहरूले विभिन्न डिपो प्रमुखलाई फोन गरेर अघिल्लो दिनको भन्दा बढी पेट्रोल–डिजेल वितरण नगर्न निर्देशन दिएका थिए । उक्त निर्देशन पाएका डिपो प्रमुखहरूले दिनभर पेट्रोलियम व्यवसायीले नगदमा किनेर लैजान खोजेको परिमाणबराबरको पेट्रोल–डिजेल दिएनन्, मागेभन्दा करिब आधा परिमाणको मात्र पेट्रोल–डिजेल दिएको व्यवसायीको दाबी छ ।

निगम अधिकारीहरूबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन सक्ने भनेर सर्कुलर भएको विषय क्षणभरमै पम्प व्यवसायीको कानमा पुगेको थियो । त्यसैले बिहीबार सस्तोमा किनेर शुक्रबार बिहानबाट महँगोमा बेच्ने दाउसहित पम्प व्यवसायीहरूले निगमको डिपोमा औसत बिक्रीभन्दा धेरै तेल किन्न पाउनुपर्ने माग राखेका थिए ।

तर, केन्द्रीय कार्यालयबाट ‘धेरै तेल नदिनू’ भन्ने निर्देशन पाएका डिपो प्रमुखहरूले व्यवसायीलाई मागेजति तेल दिएनन् । जसकारण पेट्रोलियम व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए । काठमाडौं उपत्यकासहितका जिल्लामा इन्धन वितरण गर्ने बागमती प्रादेशिक कार्यालय, थानकोटको औसत दैनिक बिक्री पेट्रोल ६ लाख लिटर र डिजेल सात लाख लिटर हो । तर, बिहीबार रातिबाट लागू हुने गरी मूल्यवृद्धि हुने सुइँको पाएका व्यवसायीले थानकोट डिपोमा पेट्रोल ६ लाख १९ हजार लिटर र डिजेल आठ लाख ५० हजार लिटर खरिदका लागि माग गरेका थिए ।

तर, डिपो प्रमुख अशोक साहले अन्य दिनको जस्तै हुने गरी बिहीबार पाँच लाख ९४ हजार पेट्रोल र सात लाख ८० हजार लिटर डिजेल बिक्री गरेका छन् । उनले व्यवसायीको चर्को दबाब खेपेर करिब एक लाख लिटर माग कटौती गरेका थिए ।

निगमको आपूर्ति तथा वितरण विभागका अनुसार बिहीबार सबैभन्दा बढी मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा व्यवसायीले दबाब दिएका थिए । अमलेखगन्ज डिपोले व्यवसायीको दबाब खेप्न नसकेर औसतभन्दा केही बढी तेल वितरण गरे पनि ठूलो मात्रामा ‘डिमान्ड’ कटौती गरेको छ । 

‘बिहीबार अमलेखगन्ज डिपोमा १७ लाख लिटर डिजेल माग भएको थियो, तर १४ लाख लिटर मात्रै  वितरण गरिएको छ,’ केन्द्रीय कार्यालयका एक कर्मचारीले भने, ‘पेट्रोल भने चार लाख ६७ हजार लिटर बिक्री भएको छ । यो करिब व्यवसायीले मागेजति नै हो ।’

बाराको निजगढस्थित एक पम्पले दैनिक तीन–चार हजार लिटर बिक्री गर्ने गरेकोमा बिहीबार अमलेखगन्ज डिपोबाट २० हजार लिटर (एक ट्यांकर) डिजेल माग गरेको थियो । तर, सो पम्पलाई विगतमा जस्तै चार हजार लिटर मात्रै डिजेल दिएर पठाएको निगमले जनाएको छ ।

पम्प व्यवसायीहरूको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जुनसुकै अवस्थामा पनि बजार मागअनुसार व्यवसायीले पेट्रोल–डिजेल खरिद गरेर वितरण गर्न पाउनुपर्ने बताए । ‘हामीले सधैँ बजार मागलाई ध्यान दिएर निगमको डिपोबाट तेल उठाउने हो,’ उनले भने, ‘त्यसैले मागेजति तेल पाउने व्यवस्था हुनुपर्छ ।’ उनले दैनिक तीन–तीन हजार लिटर पेट्रोल–डिजेल उठाउने पम्पलाई समेत बिहीबार कटौती गरी थोरै दिएर निगमका कार्यालयहरूले अन्याय गरेको बताए ।

आयल निगमका कर्मचारीले पनि मूल्यवृद्धि हुने वेला केही पम्पसँग ‘साँठगाँठ’ गरी प्रतिलिटर १–२ रुपैयाँ असुलेर मागेजति तेल दिने गरेका छन् । जसकारण निगमलाई संस्थागत नोक्सानी हुने, तर व्यवसायी र कर्मचारी मोटाउने गरेका छन् ।