१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१६:oo

भरतपुर महानगरपालिकाले राष्ट्रिय गौरवको योजनामा समावेश गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि एक अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका– १५ रामपुरमा निर्माणाधीन रंगशाला विगत तीन वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महानगरपालिकाले बिहीबार एक सार्वजनिक सूचना जारी गरी इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको हो । महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेन्डरको प्रस्ताव ३१औँ दिनमा खोलिनेछ । त्यसको दुई हप्तामा प्राप्त प्रस्तावको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइने उनले बताए । रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइनेछ । टेन्डरसम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न पनि प्रकाशित सूचनामा भनिएको छ । 

रंगशालाको पहिलो चरणमा १० हजार क्षमताको स्ट्यान्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पूरा हुँदा रंगशालाको क्षमता १५ हजार दर्शकको हुनेछ । महानगरपालिकाले विगत पाँच वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया थालेको हो । यसअघि, बागमती प्रदेशले ७० र भरतपुर महानगरपालिकाले ३० प्रतियोगिता लगानी गर्ने सम्झौता गरेका थिए । दुई पक्षबीचको साझेदारीपछि रंगशाला नर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो । 

भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को आकर्षक गन्तव्य रंगशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटनअगावै टेन्डर आह्वान गरिएको बताइन् । लामो समयको अथक मिहिनेत, प्रयास र तत्परताले रंगशाला निर्माण कार्य सुनिश्चित भएकाले नेपाली खेलकुद जगत्का लागि उत्साह थपिएको भन्दै सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी थालिने दाहालले जानकारी दिएकी छिन् । 

उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने बताएकी छिन् । ‘रंगशाला निर्माणको काम विभिन्न कारणले रोकिएको छ, यसमा म निकै दुःखी थिएँ । यसलाई जसरी पनि बनाउनुपर्छ भनी लागेकी छु,’ दाहालले भनिन्, ‘महानगरपालिकाले मात्रै गरेर केही हुने अवस्था थिएन, सबै पक्षलाई मिलाउनुपर्ने झन्झट नै थियो । धेरै ठूला बाधा फुकाएर रंगशाला बन्ने कुरा सुनिश्चित भएको छ । मेरो संकल्प थियो, त्यो पूरा हुँदै छ ।’

साढे दुई वर्षभित्र निर्माण पूरा हुनुपर्ने
गत २३ कात्तिकमा मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर, र काठमाडौंको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । निर्माणका लागि छनोट भएको कम्पनीले साढे दुई वर्षभित्र रंगशाला बनाइसक्नुपर्नेछ । रंगशालाको सबै काम पूरा गर्न साढे तीन अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।

ad
ad