Skip This
हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १७ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १७ बिहीबार ११:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १७ बिहीबार ११:५७:oo

बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोतसाधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।  

यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वानसमेत गरेको थियो । गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । दश वडा रहेको नगरपालिकाभरिबाट तीन सय किसानले प्रस्ताव पेस गरेका थिए । पेस भएका प्रस्तावमध्येबाट चालू आर्थिक वर्षमा ३० जना किसानलाई जनही  दश हजारका दरले प्रोत्सान उपलब्ध गराइने भएको हो ।

‘कृषिमा आधुनिक हातेट्रयाक्टर भित्रिँदा स्थानीय स्रोत–साधनको प्रयोग नै हरायो,’ उनले भने, ‘गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।’ आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा बिदेसिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ । उनले भने, ‘गोरुको प्रयोगले ढिला होला, तर अनुत्पादक हुँदैन, व्यावसायिक किसानलाई भन्दा आफ्नो लागि मात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलब्धिमूलक हुन्छ ।’

नगरपालिकाभित्र झन्डै तीन सयभन्दा बढी हातेट्याक्टरलगायत सामग्री खनजोतका लागि प्रयोगमा छन् । आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ । त्यस्तै, जैमिनी नगरपालिकाले बिउको रूपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ । मासु र दुधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको नगरपालिकाले बिउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको हो ।  

चालू आवमा नगरभरिका २० जना किसानलाई जनही रु. १० हजारका दरले प्रोत्साहन उपलब्ध गराउन लागिएको ढकालले बताए । हलगोरु र राँगा पाल्ने किसानको तथ्यांक तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जैमिनी नगरपालिकाका बेँसी फाँटमा हातेट्र्याक्टरको प्रयोग बढ्दो भए पनि लेकका खेतबारीमा गोरुले जोत्ने प्रचलन कायम छ । पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेको संख्यामा कमी आउँदा गोरु पाउनसमेत कठिन हुने गरेको किसान रुद्रप्रसाद शर्माले बताए ।