मकवानपुरकाे बकैयामा विद्युतको पोल ढलेर लाग्दा घाइते भएका वडासदस्यको बुधबार बिहान मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर- ७ मानदमारका स्थानीय ४० वर्षका वडासदस्यसमेत रहेका रामकुमार तितुङको पोलले लागेर मृत्यु भएको हो ।
तितुङको आफ्नै घरअगाडि हिँडिरहेको अवस्थामा मंगलबार राति एक्कासि बिजुलीको पोल (करेन्ट नभएको) ढलेर लाग्दा उनी घाइते भएका थिए । घाइते वडासदस्य तितुङलाई तत्काल चुरेहिल अस्पताल हेटौँडामा प्राथमिक उपचारका लागि लगिएकाे थियाे ।
उनलाई गम्भीर चाेट लागेकाले थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएको थियो । उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।