
वेस्ट एसियन फुटबल फेडरेसन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल प्रवेशका लागि नेपाल र लेबनानबीच प्रतिस्पर्धा चलिरहेको छ । मध्यान्तरसम्मको खेलमा लेबनान १–० गोलले अगाडि रहेको छ ।
खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत लेबनानले अग्रता बनाएको छ । डीबक्सभन्दा निकै अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोस्टमा प्रवेश गरेपछि लेबनानले खेलमा अग्रता लिएको छ ।
अघिल्लाभन्दा आजको खेलमा नेपाली खेलाडीबीचको तालमेलमा केही कमजोरी देखिएको छ । यस्तै, नेपाली अट्याकरहरू फिनिसिङमा समेत चुकिरहेका छन् । खेलमा नेपालले गोलका थुप्रै अवसरलाई सदुपयोग गर्न सकेन ।
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा जारी खेलमा सावित्रा भण्डारी साम्बा पनि आज चल्न सकेकी छैनन् । उच्च फर्ममा रहेकी सावित्रा मात्र नभई अन्य खेलाडीले पनि बललाई पोस्टको दिशा दिन असमर्थ देखिएका छन् ।
नेपालले १३औँ मिनेटमा पहिलोपटक गोलको राम्रो अवसर सिर्जना गरेको थियो । रेखा पौडेलले बललाई सही दिशा दिन नसक्दा नेपाल अग्रता बनाउनबाट चुक्यो । एक मिनेटपछि नै सावित्राले डी बक्स बाहिरैबाट लामो सट प्रहार गरेकी थिइन् । तर, त्यो सट पनि बाहिरिन पुग्यो ।
२५औँ मिनेटमा सावित्राले दिएको राम्रो पासलाई अनिता बस्नेतले डी बक्सभित्र नियन्त्रणमा लिन सकिनन् । २८औँ मिनेटमा डिबक्सको ठीक बाहिर प्राप्त बललाई रेखा पौडेलले पनि पोस्टको दिशा दिन सकिनन् ।
३७औँ मिनेटमा नेपालले अनिता बस्नेतलाई परिवर्तन गरेको थियो । लगत्तै नेपालले आत्मघाती गोल खान पुग्यो ।