Skip This
सेनेगाली लोकतन्त्रमाथि मडारिएको खतरा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
अदजी बुसो दिइङ
२o८o फाल्गुण १५ मंगलबार o९:५६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सेनेगाली लोकतन्त्रमाथि मडारिएको खतरा

Read Time : > 2 मिनेट
अदजी बुसो दिइङ
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार o९:५६:oo

जटिल अफ्रिकी राजनीतिक परिदृश्यमा सेनेगललाई लामो समयदेखि चम्किलो लोकतन्त्रका रूपमा लिइन्थ्यो । अर्थात्, सेनेगलमा उदार मूल्य–मान्यतालाई स्वीकार गरिन्थ्यो र नागरिकको मतको सम्बोधन हुन्थ्यो । तर, हालैका केही घटनाले सेनेगलमाथि कालो बादल मडारिएको छ र मुलुक अनिश्चतता एवं अशान्तितर्फ गइरहेको छ । यही ३ फेब्रुअरीमा राष्ट्रपतीय चुनावी अभियान सुरु हुनुभन्दा केही घन्टाअघि राष्ट्रपति म्याकी सलले अचानक चुनाव सारे । यही २५ फेब्रुअरीमा हुनुपर्ने चुनाव १५ डिसेम्बर २०२४ मा हुने भनिएको छ । यसले सल सत्ता नौ महिना तन्किने र अराजकता बढ्ने देखिएको छ । 

चुनावी ढिलाइलाई लिएर व्यापक जनप्रदर्शन भएको छ र मुलुकका २० मध्ये १५ विपक्षी उम्मेदवारले सललाई उनको सेवा अवधि सकिने समय २ अप्रिलअगावै चुनाव गराउन दबाब दिएका छन् । सेनेगलको सर्वोच्च अदालतले चुनाव सार्ने निर्णयलाई असंवैधानिक घोषणा गरेपछि राष्ट्रपति सल  ‘चाँडोभन्दा चाँडो चुनाव गराउने’ वाचा गरिरहेका छन् । यो सबले के जनाउँछ ?

चुनावी ढिलाइलाई जायज ठहर्‍याउन सलले बढी समावेशी चुनावको आवश्यकता रहेको जनाएका थिए । वास्तवमा थुप्रै महत्वपूर्ण राजनीतिक व्यक्तिलाई संवैधानिक परिषद्ले मापदण्ड पूरा नगरेको भन्दै चुनाव लड्नबाट रोक लगाएको छ । यिनमा थुनामा रहेका चर्चित विपक्षी नेता औस्मान सोन्को र भ्रष्टाचार आरोपमा जेलजीवन बिताएका पूर्वमन्त्री एवं पूर्वराष्ट्रपति अब्दुलाए वेडका छोरा करिम वेड पनि छन् ।

दुई अर्बभन्दा बढीले मतदान गरेपछिको अवस्थामा सेनेगलमा लोकतन्त्र सुनिश्चित गर्नु विश्वका लागि एक शक्तिशाली सन्देश हुनेछ

अहिले वेड कतारमा छन् । वेडलाई अयोग्य ठहर्‍याउनुका पछाडि उनले फ्रान्स र सेनेगल दुवै देशको नागरिकता लिएको आरोप छ । र, सेनेगलको संविधानले दोहोरो राष्ट्रियता बोक्नेलाई राष्ट्रपति उम्मेदवारका लागि अयोग्य ठहर्‍याउँछ । सोन्कोलाई भने आपराधिक रेकर्डका कारण अयोग्य ठहर्‍याइएको छ ।

वेडले सेनेगलका प्रधानमन्त्री एवं सलले रुचाएका उत्तराधिकारी अमडु बालाई संवैधानिक परिषद्का दुई सदस्यलाई प्रभावित गरेर आफ्नो उम्मेदवारी रद्द गराएको र यसैका कारण चुनाव सारिएको आरोप लगाएका छन् । लगत्तै विभिन्न राजनीतिक विचार बोकेका दलका सांसदले १५ डिसेम्बरसम्ममा चुनाव गराउने ढिलाइलाई अनुमोदन गरेका थिए । तर, गाइ मारियस साग्नालगायत केही विपक्षी सदस्यले संसद्मा प्रस्तावित प्रस्तावलाई चुनौती दिए । यसरी चुनौती दिनेलाई प्रहरीले केही समयका लागि थुनेको थियो । 

चुनाव सार्नुका पछाडि सलको वास्तविक उद्देश्य के हो, त्यो अझै स्पष्ट हुन सकेको छैन । केहीका अनुसार ढिलाइका पछाडि मत सर्वेक्षणमा अमडु बा कमजोर अवस्थामा देखिनु हो भनेका छन् भने केहीले सलको निर्णय प्रक्रियामा आएको व्यक्तिगत मामिला हो भनेका छन् । कतिपयले चाहिँ सल बालाई चुनावी सूचीबाट हटाएर विकल्प खोजिरहेका छन् पनि भनेका छन् । कारण जेसुकै भए पनि सेनेगललाई नजिकबाट ननियालिरहेकालाई हालैको राजनीतिक विकास एक धक्काजस्तो लाग्न सक्छ ।

जुलाई २०२३ मा सलले आफूले राष्ट्रपतिको तेस्रो कार्यकाल नचाहेको बताएका थिए र आफू अप्रिल २०२४ मा पद छोड्ने जनाएका थिए । स्मरण रहोस्, सेनेगलमा संविधानतः कुनै व्यक्ति तेस्रोपटक राष्ट्रपति हुन पाउँदैन । उनी इकोवास क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्था हुनुपर्छ भनेर आवाज मुखर गर्ने व्यक्ति हुन् । उनको यो पैरवी छिमेकी माली, बुर्किनाफासो र नाइजरमा भाएको कुपछि सतहमा आएको थियो ।    

तर, उनको कामले अर्कै यथार्थ झल्काउँछ । सन् २०१९ मा दोस्रो कार्यकालको सरुवातदेखि सेनेगलका नागरिकले उत्पीडनको सामना गरेका छन्, भ्रष्टाचार काण्ड सहेका छन् र जनताको प्रजातान्त्रिक अधिकार क्षय भएको छ । शान्तिपूर्ण विरोधले अत्यधिक र घातक बलको सामना गरेका छन्, मिडियामाथिको सेन्सरसिप र इन्टरनेट बन्द गरेर असहमतिलाई दबाइएको छ र पत्रकार, कार्यकर्ता एवं राजनीतिक विरोधीलाई जेल हालिएको छ ।

फ्रिडम हाउसले सेनेगललाई आंशिक रूपमा स्वतन्त्रको संज्ञा दिएको छ र यसलाई हाउसले अहिलेसम्म कायमै राखेको छ । अन्तर्राष्ट्रिय समुदाय धेरै हदसम्म मौन छ र सललाई उनको सरकारको कार्यका लागि जवाफदेही बनाउन असफल भएको छ । तथापि अन्धकारबीच आशाको किरणका रूपमा सेनेगाली जनताको अदम्य साहस एवं जोसलाई देख्न सकिन्छ । देशका विभिन्न सहर र प्रवासबाट आमनागरिक स्वतन्त्र र निष्पक्ष निर्वाचनको आफ्नो अधिकारको माग गर्दै सडकमा उत्रिएका छन् । लोकतन्त्रका लागि विद्यालय र विश्वविद्यालय संघर्षको मैदान बनेका छन् ।

तर, लोकतन्त्र जोगाउने जिम्मेवारी युवाको काँधमा मात्रै रहन सक्दैन । इकोवास र अफ्रिकी संघजस्ता क्षेत्रीय संगठनले लोकतन्त्र र मानवअधिकार रक्षा गर्ने आफ्नो जनादेशलाई समर्थन गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्छ । सलले हालै वाचा गरेझैँ चुनाव सकेसम्म चाँडो सम्पन्न गराउन यी क्षेत्रीय संस्थाले बोल्नुपर्छ । तर, सेनेगल, पश्चिम अफ्रिका र अन्य मुलुकका मानिसले थप माग गर्नुपर्छ ।

बलियो निरीक्षण एवं सन्तुलनविना राष्ट्रपतिका हातमा शक्तिको केन्द्रीकरण हुँदा व्यवस्था जोखिममा पर्छ र लोकतन्त्रका आधारभूत सिद्धान्त धरापमा पर्छन् । सलको उत्तराधिकारी जो भए पनि उसले शक्ति हडप्ने प्रयास गर्न सक्छ भन्ने डर व्याप्त देखिन्छ । सेनेगलमा यो मामिलामा लियोपोल्ड सेदार सेनघोरदेखि अब्दउ डिउफ र अब्दुलाए वेडसम्मको इतिहास छ । एक वर्षमा जब दुई अबभन्दा बढी मानिसले चुनावमा मतदान गर्नेछन्, त्यस अवस्थामा सेनेगलमा लोकतन्त्र सुनिश्चित गर्नु विश्वका लागि एक शक्तिशाली सन्देश हुनेछ । किनभने यो वर्ष विश्वभर प्रजातन्त्रका लागि गर या मरको वर्ष हो ।

(दिइङ प्रिन्सटन विश्वविद्यालयमा कम्प्युटर विज्ञानकी सहायक प्राध्यापक हुन्) टाइमबाट