१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
बच्चा चोरेर लैजाँदै गरेकी महिलाको सिसिक्यामेरा फुटेजबाट लिइएको तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:oo:oo

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ । उपचारको फलोअपका लागि अस्पताल ल्याइएको बच्चा शुक्रबार बिहान ११ बजेतिर अस्पतालबाटै चोरी भएको हो । 

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले बोकिराखेकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन् । अस्पतालबाट बिहानै चोरी भएको बच्चा राति अबेरसम्म नभेटिएको प्रहरीले जनाएको छ । 

बच्चामा जन्डिसको समस्या देखिएर उनकी आमा सविना र काकीले उपचारका लागि शुक्रबार बिहान अस्पताल ल्याएका थिए । नवजात शिशुमा समस्या देखिएपछि तीन दिन अस्पताल राखेर दुई दिनअघि मात्रै डिस्चार्ज गरिएको थियो । थप उपचारका लागि शुक्रबार अस्पताल ल्याइएको थियो । 

अस्पतालको कम्पाउन्डमा घाम ताप्न आमासँगै रहेका वेला बच्चा चोरी भएको प्रहरीले जनाएको छ । बच्चा र आमासँगै अस्पताल आएकी आफन्त (बच्चाकी काकी) स्वास्थ्य परीक्षणको रिपोर्ट लिन गएको समयमा ती अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको आफन्त मनोज श्रेष्ठले बताएका हुन् । 

बच्चा चोरी गरेर भाग्ने महिलाको प्रहरीले खोजी गरिरहेको जनाएको हो । अस्पतालको सिसिटिभी फुटेज हेरेर अनुसन्धान थालिएको छ । र, अहिलेसम्म बच्चाको वस्तुस्थितिबारे पत्ता नलागेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको हो । ‘प्रसूति अस्पतालबाट बच्चा चोरीको उजुरी आएको छ, यसमा हामीले विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले भने । 

अस्पतालको सिसिटिभी फुटेजमा भने अपरिचित महिलाले आमाबाट बच्चा लिएको देखिएको छ । आमा ती अपरिचित महिलालाई बच्चा समात्न दिएर बच्चाको डाइपर फाल्न गएको अवस्थामा ती महिला त्यहाँबाट निस्किएकी छिन् । मास्क र टोपीले पुरै अनुहार छोपेर अनुहार नचिनिने गरी बच्चा लिएर ४ मिनेटसम्म अस्पतालपरिसरमै रहेर बाहिर निस्किएको फुटेजमा देखिएको हो । 

अस्पतालको गेटतिरको सिसिटिभी क्यामेरा भने बिग्रिएकाले थप जानकारी लिन नसकिएको बताइएको छ । अस्पताल प्रशासनले भने बच्चा खोजीकार्यमा प्रहरी प्रशासनलाई सक्दो सहयोग गरिरहेको जनाएको छ । 
 

ad
ad