१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सावित्राको कीर्तिमानी ५०औँ अन्तर्राष्ट्रिय गोल

वाफ महिला च्याम्पियनसिपमा सावित्राले बिहीबार इराकविरुद्ध पाँच गोल गर्दै व्यक्तिगत ५०औँ अन्तर्राष्ट्रिय गोल मात्र गरिनन्, नेपाललाई सेमिफाइनलमा समेत पुर्‍याइन्

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३४:oo

सावित्रा भण्डारीले नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेकी छिन् । साउदी अरेबियाको रियादमा चलिरहेको वाफ महिला च्याम्पियनसिप २०२४ मा बिहीबार इराकविरुद्ध पाँच गोल गरेसँगै सावित्राले नेपालको अन्तर्राष्ट्रिय फुटबल करिअरमा दुर्लभ कीर्तिमान बनाएकी हुन् । नेपालको फुटबल इतिहासमा ५०अन्तर्राष्ट्रिय गोल गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । पुरुष फुटबलमा हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोल गरेका छन् ।

सावित्राले इराकविरुद्ध ३७ मिनेटभित्र ह्याट्रिक पूरा गरेकी हुन् । सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट सावित्राले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । १० वर्षको यात्रामा उनले नेपाली राष्ट्रिय महिला टोलीबाट पाँच अन्तर्राष्ट्रिय ह्याट्रिक गरेकी छिन् । सावित्राले नेपाली फुटबलमा प्राप्त ऐतिहासिक सफलतापछि धेरै खुसी भएको बताएकी छिन् । ‘म धेरै खुसी छु । सबै साथीको सहयोगले गोल भएको छ । मलाई समर्थन गर्ने सबैजनालाई धेरै धन्यवाद,’ ५० गोल पूरा गरेपछि साउदी अरेबियाबाट सावित्राले भनिन् । अहिले उनी युरोपियन लिगमा आबद्ध छिन् । 

फ्रान्सको फ्रेन्च लिग क्लब अन एभान्ट गुइङगाम्पमा आबद्ध हुने उनी पहिलो नेपाली खेलाडीसमेत हुन् । वाफ महिला च्याम्पियनसिपमा उनले पहिलो खेलमा सिरियाविरुद्ध एक गोल गरेकी थिइन् । फिफा वरीयताविहीन इराकविरुद्ध सावित्राले पाँच गोल पूरा गरेकी थिइन् । सावित्राले खेलको १४, १६, ३६, ४५ र ८०औँ मिनेटमा गोल गर्न सफल भइन् । 

नेपाल सेमिफाइनलमा 
प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । नेपालले शनिबार प्यालेस्टाइनसँग समूह ‘बी’को अन्तिम खेल खेल्नेछ । नेपाल लगातार दुई खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो । यही खेलबाट चन्द्रा भण्डारी र सविना चौधरीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । प्रशिक्षक राजेन्द्र तामाङले चन्द्रालाई रेखा पौडेलको स्थानमा डेब्यु गराउँदा सविनालाई हिराकुमारी भुजेलको स्थानमा मैदान छिराएका हुन् । महिला फुटबलमा नेपाल दशपटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल पुगे पनि उपाधिविहीन हुँदै आएको छ । यसपटक महिला फुटबलमा कमजोर मानिएको मध्यपूर्वी क्षेत्रमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यमा छ । 

पहिलो हाफमै ह्याट्रिक
इराकविरुद्ध सावित्राले खेलको १४औँ मिनेटमा पहिलो गोल गरिन् । दीपा शाहीले मध्यभागबाट काउन्टर अट्याकमा उपलब्ध गराएको बलमा सावित्राले इराकका तीन खेलाडीलाई बिट गर्दै सहजै गोल गरिन् । खेलको १६औँ मिनेटमा सावित्राले दोस्रो गोल गरिन् । इराककी रक्षक दिरिन मुलाबाकरबाट बल खोस्दै उनले पहिलो बारबाट सहज फिनिसिङ गरिन् । खेलको ३७औँ मिनेटमा पूजा रानाले दायाँ भागबाट मिलाएको बललाई उनले हेडिङ गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल भइन् । खेलको ४४औँ मिनेटमा सावित्राले चौथो गोल गरिन् । गोलरक्षक जाहरा अल सादेईको रिबाउन्ड बलमा उनले एक्रोब्याटिक गोल गरिन् । मध्यान्तरपछि प्रिती राईले मिलाएको बललाई सावित्राले बक्सबाहिरबाट व्यक्तिगत पाँचौँ गोल गरेकी हुन् । 

ad
ad