Skip This
नेपाललाई साढे ६६ अर्ब रुपैयाँ सहयोग दिने बेलायतको घोषणा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण ९ बुधबार o६:११:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाललाई साढे ६६ अर्ब रुपैयाँ सहयोग दिने बेलायतको घोषणा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार o६:११:oo

प्रधानमन्त्री प्रचण्ड र बेलायतका विकास तथा अफ्रिका मामिला हेर्ने मन्त्री एन्ड्रयु मिचेलबीच बालुवाटारमा भेटवार्ता । सहयोग रकमबाट १३ हजार पाँच सय रोजगारी सिर्जना हुने तथा थप एक अर्ब डलर लगानी आकर्षित गर्ने विश्वास लिइएको छ । त्यस्तै, २० लाख महिला र बालबालिकालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच स्थापनाका लागि सहयोगीसिद्ध हुने बेलायती दूतावासले जनाएको छ । 

बेलायतले नेपाललाई आगामी ६ वर्षभित्र ६६ अर्ब ६० करोड रुपैयाँ (४० करोड पाउन्ड) अनुदान दिने भएको छ । बेलायतले नयाँ विकास पोर्टफोलियो घोषणा गर्दै सन् २०३० सम्म उक्त सहयोग दिने जनाएको हो ।  

बेलायतका विकास तथा अफ्रिका मामिला हेर्ने मन्त्री एन्ड्रयु मिचेलको दुईदिने (सोमबार र मंगलबार) नेपाल भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र मन्त्री मिचेलको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतामा नेपाल र बेलायतबीच मंगलबार हस्ताक्षर भएको छ । 

‘नयाँ युके डेभलपमेन्ट पोर्टफोलियोले नेपाललाई जलवायु संकटसँग जुध्न, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, आर्थिक रूपान्तरण गर्न र सुशासन तथा समावेशीकरणमा सहयोग पुर्‍याउनेछ,’ बेलायती राजदूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलायतले सन् २०३० सम्म ४० करोड पाउन्ड नेपाललाई सहयोग दिनेछ ।’  

यसबाट १३ हजार पाँच सय रोजगारी सिर्जना हुने तथा थप एक अर्ब डलर लगानी आकर्षित गर्ने विश्वास लिइएको छ । त्यस्तै, २० लाख महिला र बालबालिकालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच स्थापनाका लागि सहयोगीसिद्ध हुने बेलायती दूतावासले जनाएको छ । 

‘नयाँ विकास पोर्टफोलियोले विकासमा निजी क्षेत्रको अत्यावश्यक कोष परिचालन, जलवायु संकटसँग जुध्न र नेपालको आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउनेछ,’ दूतावासले भनेको छ । 

नेपाल भ्रमणका क्रममा अन्तर्राष्ट्रिय विकासमन्त्री मिचेलले नेपालप्रति सद्भाव व्यक्त गरे । ‘हामी नेपालका लागि अझ फराकिलो र समृद्ध भविष्य सुरक्षित गर्ने महत्वाकांक्षा पनि साझा गर्छौँ,’ मिचेलले भने, ‘यो युके–नेपाल मित्रताको आगामी सय वर्षको अवधिमा चुनौती र अवसरको सामना गर्न उपयुक्त साझेदारीको अंश हो ।’ 

उनले नयाँ विकास पोर्टफोलियोले आठवटा कार्यक्रममा ध्यान केन्द्रित गरेको पनि बताए । ‘नेपालले सुरु गरेको हरित उत्थानशील र समावेशी विकासलगायतका अभियानहरूमा सहयोग गर्न पाउँदा युके गौरवान्वित छ,’ उनले भने, ‘मैले देखेको छु, नेपाल र युकेबीचको साझेदारी कसरी विकसित हुँदै आएको छ । मैले कर्णालीका ती दलित समुदायका सदस्यलाई भेटेको छु, जो युकेले सहयोग गरेको वातावरण उत्थानशील सिँचाइको फलस्वरूप अझै राम्रो अन्न उब्जनी गर्न सक्षम भएका छन् । मैले बुटवल अस्पतालमा रोकथाम गर्न सकिने किसिमका मृत्युलाई रोक्नका लागि दत्तचित्त भएर खटिइरहेका स्वास्थ्यकर्मीलाई भेटेको छु ।’

युकेको नयाँ विकासको अवधारणा नेपाली नेतृत्व र प्रणाली, मुद्रा परिचालन, सबैका लागि अवसर तथा नेपाली युवाको स्वदेशमै भविष्य सुनिश्चित गर्ने कार्यप्रति केन्द्रीकृत रहेको उनको जिकिर छ । बेलायतको नयाँ सहायताले १७ लाख जनतालाई लाभ पुग्ने पनि उनको विश्वास छ । 

बेलायती दूतावासका अनुसार मन्त्री मिचेलले बेलायती अन्तर्राष्ट्रिय लगानी (बिआइआई)को दुई करोड २० लाख डलरबराबरमा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको भ्रमण गरेका थिए । मन्त्री मिचेलले हिन्दुकुश हिमालयमा जलवायु परिवर्तनको खतरा र युकेले नेपाललाई जलवायु जोखिम व्यवस्थापनमा कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा पनि जानकारी लिएका छन् । उनले लुम्बिनी प्रादेशिक अस्पतालको वन–स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर पनि भ्रमण गरे । 

लगानी सम्मेलनलाई सहयोग गर्ने प्रतिबद्धता 
बेलायतका मन्त्री मिचेलले आसन्न लगानी सम्मेलनलाई समर्थन र सहयोग गर्ने बताएका छन् । तर, लगानीका लागि नेपालले उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने पनि उनको भनाइ थियो । ‘लगानीकर्ताका लागि उपयुक्त वातावरणले कति महत्व राख्छ भन्ने विषयलाई पनि म जोड दिन चाहन्छु । जस्तै, कानुनमा परिमार्जन तथा फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे–लिस्टमा पर्नबाट बच्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने कुरा सुनिश्चित गर्ने,’ उनले भने  । नेपाललाई हरित कोषका लागि सहयोग गर्ने, राम्रो लगानीका लागि नेपालको लगानी बोर्डलाई सघाउने पनि उनले प्रतिबद्धता जनाए । उनले भने, ‘एसियाली विकास बैंकसँग मिलेर नेपाललाई क्लाइमेट फाइनान्समा पहुँच पुर्‍याउन तथा विश्व बैंक र अरूहरूसँग मिलेर जलवायु परिवर्तनका चुनौती सामना गर्न सहयोग गर्नेछौँ ।’ 

नयाँ पोर्टफोलियोले जलवायु परिवर्तनको संकटलाई सामना गरी आर्थिक रूपान्तरणका लागि मद्दत गर्ने पनि उनको विश्वास छ । ‘हिजोको हिमालयमाथिको हवाई यात्रामा मैले एकातिर हिमालको सुन्दरताको प्रत्यक्ष अवलोकन गरेँ भने अर्कातिर हिमनदीहरूको नाजुकता पनि देखेँ, जुन हजारौँ वर्ष लगाएर बने, तर अहिले अन्यत्रभन्दा तेब्बर गतिको तीव्रतामा पग्लँदै छन्,’ उनले भने, ‘हाम्रो नयाँ विकास पोर्टफोलियोले यस्तै र बृहत् अनुकूलन  परियोजनाका लागि निजी र संयुक्त राष्ट्रसंघ जलवायु लगानीमा पहुँच पुर्‍याउन नेपाललाई थप सहयोग गर्नेछ ।’

बेलायती मन्त्री मिचेलले दुई देशबीच सन्धिको एक सय वर्ष पूरा भएको, तर सम्बन्ध धेरै पुरानो रहेको चर्चा गर्दै गोर्खाहरूको प्रशंसा गरे । ‘आफ्नो असाधारण बहादुरीका कारण सुप्रसिद्धिको असली हकदार रहेका गोर्खालीसँग युद्धमैदानमा गाँसिएको हाम्रो आत्मीयता दुई शताब्दी पुरानो छ,’ बेलायती मन्त्रीले भने, ‘यी प्रशंसायोग्य सिपाहीहरू नेपाल र युकेबीचको गहिरो र स्थायी मित्रताको प्रतीक हुन् । मित्रता परिष्कृत हुँदै आइरहेको छ र हाम्रो भविष्यलाई सँगै आकार दिइरहेको छ ।’