मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ८ मंगलबार ०६:०९:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालबालिकालाई बोल्न दिने कि रोक्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ८ मंगलबार ०६:०९:००

रातको समयमा एउटा संयुक्त परिवारका सबै सदस्य एकसाथ खाना खाइरहेका थिए । उनीहरू खाना खाने समयमा अनेक विषयमा चर्चा गर्थे । यस क्रममा परिवारका एक सदस्यले सहरको एक मन्दिरमा कताबाट पुग्न सकिन्छ भनेर केटाकेटीलाई सोधे । यथार्थमा ती बालबालिका पढ्ने स्कुलको बाटो हुँदै सो मन्दिर पुग्न सकिन्थ्यो । उनीहरू पनि पटक–पटक सो मन्दिर पुगेका थिए । त्यसैले, आज उनी बालबालिकाको परीक्षा लिन चाहन्थे । बालबालिकाले बाटोबारे ध्यान दिएका छन् कि छैनन् भनेर उनी बुझ्न चाहन्थे ।

सबैभन्दा ठूलो बालकले यताउताका कुरा गरेर प्रश्न छल्ने कोसिस गरे । यो सब देखेर सबैले उनलाई त्यसबारे थाहा छैन भन्ने लख काटे । दाजुको अवस्था देखेर बहिनीले भनी– सायद दादालाई मन्दिर जाने बाटो थाहा छैन । त्यो मन्दिर त अस्पतालअगाडिको बाटोबाट गए पुगिन्छ, होइन र ? छोरीको जवाफ सुन्नासाथ आमाले उनलाई हप्काइन् । तिमी चुप लाग नानू, तिमीलाई केही थाहा छैन । के तिमी दादाभन्दा बढी जान्ने भयौ ? दादाले जवाफ दिइहाल्छ नि ! उसले भन्दै छ त ! आमाको आवाज सुनेपछि बालिका रुन्चे मुख लगाएर चुप लागिन् । दिदीको अवस्था देखेपछि सानो भाइले दिदीको पक्ष लिँदै भन्यो– दिदीले ठिकै त भन्दै हुनुहुन्छ नि आमा ! दादालाई त बाटो थाहै रहेनछ । आमाले उसलाई पनि हप्काउँदै भनिन्– तिमी पनि चुप लाग सानू !

सबैको कुराकानी सुनिरहेका हजुरबाले बुहारीलाई सम्बोधन गर्दै भने– बुहारी, तिमी केटाकेटीलाई बोल्न देऊ । उनीहरूलाई नरोक । उनीहरूलाई बोल्न प्रोत्साहन गर । हप्काइदप्काइको प्रभावले बालबालिका बोल्न डराउँछन् । आज उनीहरूले घरमा बोल्न पाएनन् भने यिनले कसरी भोलि बाहिरको समाजमा बोल्न सक्छन् ? कसरी तिनले आजको चुनौतीपूर्ण समाजमा प्रतिस्पर्धा गर्न सक्छन् ? आखिर बोल्दाबोल्दै नै त हो उनीहरूले तर्क गर्न सिक्ने !