१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० फाल्गुण ७ सोमबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिवि उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस

अंकभार तथा मापदण्डका आधारमा चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमला क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० फाल्गुण ७ सोमबार ०६:२६:००

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । सर्टलिस्टमा परेका १४ जना प्रतिस्पर्धीमध्ये समितिले आइतबार अंकभार तथा मापदण्डका आधारमा क्रमशः चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको हो । 

‘हामीले शोधपत्र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट तीनजनाको नाम सिफारिस गरेका हौँ,’ शिक्षा मन्त्रालय सचिव तथा उपकुलपति सिफारिस समितिका सदस्य सुरेश अधिकारीले भने, ‘सिफारिस गर्दा प्राध्यापक, पिएचडी गरेको, अनुसन्धान गरेकोलगायत योग्यता र अनुभव पनि हेरेर सिफारिस गरेका हौँ । हामीले सबैभन्दा बढी नम्बर आउनेको नाम पहिलो, दोस्रो र तेस्रो गरेर सिफारिस गरेका छौँ । तर, तीनमध्ये प्रधानमन्त्रीले जसलाई पनि गर्न सक्नुहुन्छ ।’ 

तीनजनाको नाम सिफारिस भएसँगै अब उपकुलपति टुंगो लगाउने बाटो सोझिएको छ । यसै साताभित्र प्रधानमन्त्रीले उपकुलपति तोक्ने अधिकारीले बताए । समितिले तीनजनालाई दिएको अंकभार गोप्य राखेको छ । 

उपकुलपति छनोटका लागि शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिवि सभाका सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो । समितिले तीव्र गतिमा काम गरेका कारण छोटो समयमै छनोट प्रक्रिया अघि बढेको सचिव अधिकारीले बताए । 

उपकुलपतिका लागि त्रिविले दरखास्त आह्वान गरेपछि ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४२ जनाको आवेदन रुजु भएको थियो भने एकजनाको मापदण्ड नै नपुगेर रिजेक्ट भएको थियोे । छनोट प्रक्रिया सुरु भएपछि समितिले ४२ जनामध्येबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरेको थियो । गत सोमबारदेखि उनीहरूसँग प्रस्तुतीकरण र अन्तर्वार्ता थालिएको थियो । त्यसकै आधारमा समितिले आइतबार उत्कृष्ट तीनजनाको नाम सिफारिस गरेको हो । 

सिफारिस तीनजनामध्येबाट अब प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति नियुक्त गर्नेछन् । समितिले तीनजनाको नामलिस्ट र विवरण आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ ।

यसअघि कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा ‘सर्टलिस्टमा’ परेका थिए ।