१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : चाल्सामा आयोजित बाल इजलास ।
२o८१ जेठ ४ शुक्रबार १५:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अछामका दुर्गम गाउँमा ‘बाल इजलास’ सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:१४:oo

बाल विकास, बाल समृद्धि र बाल सरोकारको अवस्था परीक्षण गर्न अछाममा बाल इजलास सुरु गरिएको छ। यो इजलास १९ वडामा अभियानकै रूपमा सञ्चालन गर्न लागिएको हो।

जिल्लाको कमलबजार नगरपालिका– ४ चाल्साबाट सुरु भएको बाल इजलास कमलबजारका अन्य तीनवटा वडासहित पञ्चदेवल विनायक नगरपालिकाका– ६, साँफेबगर नगरपालिकाको एउटा वडा र मेल्लेख गाउँपालिकाका आठ वडामा सञ्चालन गरिनेछ।

वडा कार्यालयहरूको आयोजनामा भइरहेको बाल इजलासमा बालबालिकाका समस्या उठान गरेर त्यसको समाधानका लागि स्थानीय सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने गरिएको छ।

बाल इजलासमा विशेषगरी हिंसामा परेका, अभिभावक गुमाएका, पढ्न नपाएका, अपांगता भएका, कुलतमा फसेका, बालविवाह गरेर समस्यामा परेका तथा विपन्न परिवारका बालबालिकाका समस्या उठान गर्ने गरिएको छ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले गाउँमै पुगेर इजलासको उद्घाटन गर्दै अब यो अभियानले विकटका बालबालिकाका समस्या पनि समाधान हुने विश्वास गरे।

अहिले विभिन्न कारणले बालबालिका गलत क्रियाकलापमा फसिरहेकाले उनीहरूका समस्या बुझ्न आफूहरूसमेत बाल इजलाससँग हातेमालो गर्न गाउँ पुगेको बताए।

यो इजलासमा जोखिममा रहेका बालबालिका र उनीहरूका अभिभावकहरूकै उपस्थितिमा समस्याको उठान गरेर त्यसको समाधानका उपाय खोज्ने गरिएको कमलबजार– ४ चाल्साका वडाध्यक्ष मीनबहादुर साउदले बताए।

उनले बालविवाह र बाल हिंसा बढी समस्याका रूपमा रहेको र बालबालिकाका क्षेत्रमा छुट्याइने बजेटसमेत सही सदुपयोग नहुँदा समस्या भइरहेकाले अब यसबारे गम्भीर भएर लाग्ने बताए। 

त्यस्ता समस्याको पहिचान गर्न बालअधिकार समिति र रूपान्तरण कक्षाका बालबालिकालाई परिचालन गर्ने तयारी रहेको उनले बताए।

वडाध्यक्ष साउदको वडासहित अछाम जिल्लामा कमलबजार, पञ्चदेवल विनायक र साँफेबगर नगरपालिका तथा मेल्लेख गाउँपालिकाका १९ वडामा २१ वटा रूपान्तरण कक्षा सञ्चालन भइरहेका छन्।

कक्षामा विभिन्न कारणले जोखिममा परेका १० देखि १८ वर्ष उमेर समूहका पाँच सय २५ बालबालिकाले नियमित रूपमा जीवन उपयोगी सीपलगायत आत्मरक्षा र अन्य सकारात्मक विषयमा शिक्षा लिने गरेको आस्था नेपालका कार्यक्रम संयोजक गणेशप्रसाद बोहराले बताए।

उनका अनुसार एउटा समूहमा २५ जना बालबालिकाले हरेक हप्ता शिक्षा लिने गरेका छन्। त्यसका लागि एउटा समूहमा दुईजना प्रशिक्षक गरी १९ वडाका २१ कक्षामा ४२ जना प्रशिक्षक परिचालन गरिएको बोहराले बताए।

रूपान्तरण कक्षामा सहभागीहरूले गाउँमा जोखिममा परेका बालबालिकाका लागि आफैँ पालिकास्तरमा कोषसमेत स्थापना गरेका छन्।

जसमा समस्यामा परेका बालबालिकाले गरेको मागको आधारमा स्थानीय सरकार र वर्ल्ड भिजन इन्टरनेसनल तथा आस्था नेपालले रकम जम्मा गरिदिने गरका छन्।

जुन रकम जोखिममा परेका बालबालिकाका लागि बाल स्पोन्सरसिप र बाल संरक्षण परियोजनामार्फत खर्च गर्ने गरिएको परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले बताए।

ऋषिदहदेखि बयलासम्मका दुर्गम वडालाई लक्षित गरेर सुरु गरिएको बाल इजलास गाउँमै पुगेर समुदायको बीचमै सञ्चालन गर्ने गरिएको छ।

त्यहाँ उठेका समस्याहरू र केही सकारात्मक विषयहरू रेडियो सोसाइटी एफएम र रेडियो गाउँघरमार्फत प्रसारण गरेर समुदायस्तरका बालबालिकालाई थप जागरुक बनाउने योजना छ।

त्यसका लागि पालिकास्तरका बालअधिकार समिति, बालमैत्री स्थानीय शासन वडा समिति र रूपान्तरण कक्षाका बालबालिकासँगको समन्वयमा बाल इजलासमा गुनासो सुन्ने र त्यसको समाधान खोज्ने गरिएको छ। 
 

ad
ad