एसिसी महिला प्रिमियर कप २०२४ को फाइनल प्रवेशका लागि भइरहेको खेलमा मलेसियाले तेस्रो विकेट गुमाएको छ ।
नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ८.४ ओभरमा ३६ रनको अवस्थामा तेस्रो झड्का व्यहोरेको हो ।
सीता रानामगरले आफ्नो पहिलो स्पेलको दोस्रो ओभरको चौथो बलमा माथिल्लो क्रमकी अनुभवी ब्याटर मास इलिजालाई १३ रनको अवस्थामा आउट गरेकी हुन् । उनले २१ बल खेलेकी थिइन् ।
त्यसअघि मलेसियाले आठ रनको अवस्थामा आइपुग्दा दुवै ओपनर गुमाइसकेको थियो । कप्तानसमेत रहेकी विनिफ्रेड डुरैसिंगमलाई कविता कुँवरले बोल्ड गरेकी थिइन् । आठ बल खेलेकी विनिफ्रेडले जम्मा दुई रन मात्र बनाउन सकिन् ।
त्यसअघि दोस्रो ओभरमै मलेसियाले ओपनर आइना हामिजहलाई गुमाएको थियो । टिमको स्कोर दुई मात्र हुँदा नेपाली अलराउन्डर रुविना क्षेत्रीले आइनालाई एलबिडब्लू धरापमा पारेकी थिइन् ।